लुम्बिनीमा पदाधिकारीका लागि दौडधुप, कसको के छ दाउ ?
सारांश
- नेकपा एमालेको महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुँदैछ, जसमा नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
- लुम्बिनी प्रदेशबाट १९१ जना राष्ट्रिय प्रतिनिधि छनोट भएका छन्, र प्रदेशका ६ जना पदाधिकारीले कुन पदमा जाने स्पष्ट पारेका छैनन् तर भित्री रूपमा मैदानमा जाने संकेत गरेका छन्।
- अध्यक्षमा ओली र पोखरेल पक्षधर निर्वाचनमा जाँदा लुम्बिनी प्रदेशबाट नयाँ पदाधिकारी पाउने सम्भावना कम छ, बरु हाल रहेका पदाधिकारी घट्न सक्ने आकलन गरिएको छ।
बुटवल । नेकपा (एमाले) को ११औँ महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौँमा हुँदै छ । हालसम्म एमालेको नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि दुवै पक्षबाट अन्य पदमा नेताहरूले आकांक्षीका रूपमा आफूलाई सार्वजनिक गरेका छैनन् ।
तर आन्तरिक रूपमा नेताहरूको दौडधुप धेरै छ । यो महाधिवेशनबाट अघिल्लोभन्दा धेरै पदाधिकारी लुम्बिनी प्रदेशले पाउनेछ वा भएका पदाधिकारी पनि घट्नेछन् ? कार्यकर्ताहरूले चासोका साथ हेरेका छन् ।
लुम्बिनी प्रदेशबाट १९१ जना राष्ट्रिय प्रतिनिधि छनोट भएका छन् । उनीहरूसँग हाल केन्द्रमा रहेका प्रदेशका ६ जना पदाधिकारीले आफू औपचारिक रूपमा कुन पदमा जाने भन्ने स्पष्ट जानकारी गराएका छैनन् । तर भित्री रूपमा मैदानमा जाने संकेत भने प्रतिनिधिसँग गरेका छन् ।
लुम्बिनी प्रदेश एमालेका अध्यक्ष राधाकृष्ण कँडेलले अहिलेसम्म यहाँबाट केन्द्रमा पुगेका पदाधिकारीहरू कुन पदमा उठ्ने भन्ने विषयमा मिडियामा आएको भन्दा बाहेक अन्य ढंगबाट जानकारी नआएको रातोपाटीलाई बताए । उनले भने, ‘१०औँ महाधिवेशनबाट हाल केन्द्रमा पुगेका पदाधिकारीहरूले ठ्याक्कै यही पदमा उठ्ने सहयोग गर्नुपर्यो भनेर आग्रह गरेको अवस्था छैन, तर केही मिडियामा चर्चा सुनिन्छ । त्योभन्दा थप खुलेको अवस्था देखिँदैन ।’
को–को पदाधिकारीहरू कता लाग्न सक्छन् ?
१०औँ महाधिवेशनबाट एमालेमा अहिले उपाध्यक्षद्वय युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल लुम्बिनी प्रदेशका नेता हुन् । यस्तै महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट र छविलाल विश्वकर्मा छन् । टोपबहादुर रायमाझी सचिव नै रहे पनि अहिले निलम्बित रही पुर्पक्षका लागि थुनामा छन् ।
ती पदाधिकारीहरूमध्ये को–को अहिले उम्मेदवार बन्नेछन् भन्नेमा धेरै कार्यकर्ताहरूले चासो दिएका छन् । तर एमाले दुई पक्ष भएर निर्वाचनमा जाने भएपछि लुम्बिनी प्रदेशबाट नयाँ पदाधिकारी पाउने सम्भावना कम छ । बरु हाल रहेका पदाधिकारीहरूमध्ये केही आउट हुनसक्ने आकलन गरिएको छ ।
अध्यक्षमा ओली र पोखरेल पक्षधर बनेर निर्वाचनमा जाँदा हाल प्रदेशबाट केन्द्रमा पुगेका पदाधिकारीहरू दुई खेमामा छन् ।
हालसम्म पोखरेलको पक्षमा लुम्बिनीबाट युवराज ज्ञवाली र गोकर्ण विष्ट देखिन्छन् भने ओली पक्षतिर महासचिव शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र छविलाल विश्वकर्मा देखिएका छन् ।
रायमाझी हाल थुनामा परेका कारण उनी ११औँ महाधिवेशनमा आउट हुनेछन् । यदि दुई धार बनेर निर्वाचनमा जाने अवस्था आए ओली पक्षबाट शंकर पोखरेल नै महासचिवमा दोहोरिएर मैदानमा जाने सम्भावना धेरै छ ।
यदि ओलीले आफ्ना पक्षका नेताहरूलाई व्यवस्थापन गर्न समस्या देखिए शंकरलाई उपाध्यक्ष बनाउन अन्तिम अवस्था रहन सक्ने एक केन्द्रीय सदस्यले बताए । त्यो अवस्था आए लुम्बिनीबाट प्रदीप ज्ञवाली महासचिवको उम्मेदवार बन्न सक्नेछन् । किनकि विष्णु पौडेलले अध्यक्ष र महासचिव नबन्ने र उपाध्यक्ष बस्ने संकेत गरेका छन् ।
लुम्बिनी प्रदेशबाट ओली पक्षमा रहेका हालका पदाधिकारी विश्वकर्माले पदाधिकारीमा निरन्तरता पाउने निश्चितजस्तै छ । तर ओलीका सधैँ बफादार शंकरलाई नै महासचिव दोहोर्याएर अन्य नेताहरू पनि प्रायः पुरानै पदमा दोहोर्याउने सम्भावना उस्तै रहेको बुझिन्छ ।
यता ईश्वर पक्षतिर देखिएका ज्ञवालीले उपाध्यक्षमा दोहोरिएर उम्मेदवार बन्ने तयारी गरिरहेका छन् । यस्तै दुई पटक सचिव भएका गोकर्ण विष्ट पनि महासचिवमा ईश्वर पक्षबाटै जाने आन्तरिक तयारी गरेको उनीनिकट कार्यकर्ताहरू बताउँछन् ।
तर, टिम व्यवस्थापन गर्दा कुन पोस्टमा जान सकिन्छ भन्ने अझै दुई पक्षको स्पष्ट खाका आएको अवस्था छैन । पुराना सचिवमध्ये गोकर्णले अब त्यो पदमा नबस्ने बताइसकेका छन् । यस आधारमा लुम्बिनी प्रदेशमा १०औँ महाधिवेशनबाट आएका पदाधिकारीहरू ‘अपग्रेड’ हुने सम्भावना कम देखिन्छ ।
रुपन्देहीका युवा विश्लेषक देवराज पोखरेल लुम्बिनी प्रदेशबाट ११औँ महाधिवेशनमा पदाधिकारीहरू अपग्रेड हुने सम्भावना कम रहेको बताउँछन् । ‘अहिलेको परिदृश्य हेर्दा १०औँ महाधिवेशनमा भन्दा ११औँ महाधिवेशनमा लुम्बिनीबाट पदाधिकारी धेरै आउने सम्भावना कम छ, बरु घट्न सक्नेछन्,’ उनले बताए ।
को कस्ता पदाधिकारी ?
- छविलाल विश्वकर्मा

रुपन्देहीका छविलाल विश्वकर्मा एमालेका केन्द्रीय सचिव हुन् । विद्यार्थी राजनीति हुँदै एमालेमा रहेका विश्वकर्मा १०औँ महाधिवेशनमा ओली पक्षमा रहेका थिए । अहिले पनि पुरानै पक्षधरतालाई निरन्तरता दिनुभन्दा उनी महासचिव पदमा जान रुचाएका छन् ।
दलित समुदायको प्रतिनिधित्व गर्दै पार्टीमा केन्द्रीय सदस्य तथा पदाधिकारी हुने अवसर पाएका नेता हुन् । २०७९ सालमा उनी रुपन्देही–१ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । यसअघि पनि सोही क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । हाल सचिव पदमा रहेका उनले उपमहासचिव हुने इच्छा राखे पनि टिम मिलाउँदा सम्भावना कम रहेको कार्यकर्ताहरू बताउँछन् । यदि उपमहासचिवको उम्मेदवार बन्न नपाए सचिव पद स्वाभाविक रूपमा पाउने मनसाय उनले कार्यकर्तासँग राखेका कार्यकर्ताहरू बताउने गर्छन् ।
- शंकर पोखरेल

दाङ जिल्लाका शंकर पोखरेल एमालेको ११औँ महाधिवेशनमा महासचिव बन्न चाहन्छन् । उनी केपी ओलीका सधैँ बफादार पात्र मानिन्छन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको वैचारिक तथा राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलता राम्रो मानिन्छ । सञ्चार मन्त्रालयको जिम्मेवारी बहन गरेका पोखरेल लुम्बिनी प्रदेशको प्रथम मुख्यमन्त्रीसमेत बनेका थिए । पोखरेल अहिले ओली टिमभित्र महासचिवको उम्मेदवारका रूपमा बलियो दाबेदार मानिन्छन् ।
- गोकर्ण विष्ट

गुल्मीका गोकर्ण विष्ट ९औँ र १०औँ महाधिवेशनमा गरी दुई पटक सचिव बनेका व्यक्ति हुन् । हाल ईश्वर पक्षधर मानिएका विष्ट अहिले अपग्रेड भएर उम्मेदवार बन्ने तयारी गरिरहेका छन् । सकेसम्म महासचिवको उम्मेदवार बन्ने इच्छा राखेका छन् ।
ईश्वरको टिमबाट महासचिव नपाए विष्ट उपमहासचिव बन्ने एमालेका नेताहरू बताउँछन् । पार्टीभित्र धेरैसँग सम्पर्क रहेका विष्ट मैदानमा गए पनि जित्ने आधार देखिन्छ । त्यसैले उनी सचिवभन्दा माथिल्लो पदमा उठ्न सक्ने उनीनिकट कार्यकर्ताहरू बताउँछन् । उनले गुल्मीमा लगातार संसदीय निर्वाचन जित्दै आएका छन् । महासचिवमा ईश्वर पक्षबाट मैदानमा गए लुम्बिनी प्रदेशवासी शंकर पोखरेल वा प्रदीप ज्ञवालीसँग भिड्न सक्ने अवस्था आउन सक्नेछ ।
- प्रदीप ज्ञवाली
_jJx662mGq2.jpg)
गुल्मीका प्रदीपकुमार ज्ञवाली हाल एमालेका उपमहासचिव हुन् । वैचारिक नेताका रूपमा छवि बनाएका ज्ञवाली ओली पक्षमा खुलेका छन् । उनले उपमहासचिवबाट एक तह अपग्रेड हुँदै महासचिव जाने मनसाय बनाए पनि ओली पक्षको टिममा शंकरको उक्त पदमा दाबी बलियो रहेकोले ज्ञवाली अप्ठ्यारो अवस्थामा छन् ।
आफ्नो इच्छा दबाएर फेरि उपमहासचिव पदमा दोहोरिने सम्भावना पनि रहेको कार्यकर्ताहरूको बुझाइ छ । गुल्मी जिल्ला निर्वाचन क्षेत्र नं २ बाट पटक–पटक संघीय संसद् सदस्यमा निर्वाचित ज्ञवाली धेरैपटक मन्त्रीसमेत बनेका नेता हुन् । उनले एमालेको स्कुल विभागको जिम्मेवारी पनि बहन गरेका छन् ।
अन्य नेताहरू पदाधिकारीमा रुचि
लुम्बिनीबाट पदाधिकारी प्रवेशका लागि अन्य नेताहरूले पनि रुचि देखाएका छन् । नेताहरू सूर्य थापा, खिमलाल भट्टराई, रामकुमारी झाँक्री, ठाकुर गैरे, लीला गिरीसहित नेताहरू दौडधुपमा छन् । झाँक्री हालै एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गरेकी हुन् । उनले पदाधिकारीमा इच्छा राखेकी छन् । उनी ओली पक्षमा स्पष्ट खुलिसकिन्, जसका कारण उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने सवाल छ ।
प्रदेशमा रहेका पदाधिकारीहरूले केन्द्रमा उम्मेदवारी दिने सम्भावना कम छ, किनकि एमालेको विधानमा माथिल्लो तहमा मनोनयन गरेमा तल्लो तहका पद स्वतः खारेज हुने व्यवस्था छ ।
लीला गिरी लुम्बिनीका पूर्वमुख्यमन्त्री हुन् भने ठाकुर गैरे अनेरास्ववियुका नेता हुँदै पाल्पाबाट निर्वाचित सांसदमा चुनिएका थिए । यस्तै सूर्य थापा पनि प्युठानबाट निर्वाचित भएका थिए । रुपन्देहीका खिमलाल भट्टराई पूर्वराष्ट्रिय सभा सांसद हुन् ।
प्रदेशका पदाधिकारीको माथिल्लो सम्भावना
लुम्बिनी प्रदेश कमिटीबाट पाँच जना राष्ट्रिय प्रतिनिधि बन्ने विधानमा उल्लेख भएअनुसार अहिले सबै नाम केन्द्रमा पठाएको छ । जसमा हाल अध्यक्ष राधाकृष्ण कँडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ (रुपन्देही), लक्ष्मण आचार्य (दाङ), लीला राना (बर्दिया) र बिना गुरुङ (दाङ) लाई छनोट गरिएको छ । उनीहरूमध्ये अध्यक्ष कँडेलले केन्द्रमा आफूले उम्मेदवारी नदिने प्रस्ट्याए । उनले प्रदेश अध्यक्ष स्वतः केन्द्रीय सदस्य हुने विधान भएकोले अर्को पदमा उम्मेदवारी नदिने बताएका छन् । उनका अनुसार हाल प्रदेश कमिटीमा रहेका अन्य पदाधिकारीहरूको केन्द्रमा उम्मेदवारी दिने विषय अझै यकिन छैन ।
प्रदेशमा रहेका पदाधिकारीहरूले केन्द्रमा उम्मेदवारी दिने सम्भावना कम छ, किनकि एमालेको विधानमा माथिल्लो तहमा मनोनयन गरेमा तल्लो तहका पद स्वतः खारेज हुने व्यवस्था छ । त्यसैले अन्य साथीहरूले उम्मेदवारी हाल्ने सम्भावना अहिलेसम्म कम रहेको अध्यक्ष कँडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण