बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनको सम्झौताप्रति मिराज ढुङ्गानाको असन्तुष्टि

बुधबार, २४ मङ्सिर २०८२, २३ : ११
बुधबार, २४ मङ्सिर २०८२

सारांश

  • जेनजी समूह र सरकारबीचको सम्झौताप्रति अभियन्ता मिराज ढुङ्गानाले असन्तुष्टि जनाएका छन्।
  • ढुङ्गानाले सम्झौताले आन्दोलनका मागहरूलाई उचित रूपमा सम्बोधन नगरेको आरोप लगाएका छन्।
  • उनले सम्झौतालाई 'आन्दोलन तुहाउने षड्यन्त्र' भन्दै यसको विरोध गरेका छन्।

काठमाडौँ। सरकार र जेनजी समूहबिच बुधबार सम्पन्न १० बुँदे सम्झौताप्रति असन्तोष व्यक्त गर्दै जेनजी आन्दोलनका अभियन्ता मिराज ढुङ्गगनाले सहमतिले आन्दोलनका मूल आवाज र मागहरूको उचित प्रतिनिधित्व गर्न नसकेको आरोप लगाएका छन् ।

अभियन्ता ढुङ्गानाले बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उक्त सम्झौताले जनआन्दोलनको ‘वास्तविक मर्म, भावना र निर्णायक निष्कर्षहरू समेट्न नसकेको’ दाबी गर्दै यसलाई अस्वीकार्य भएको बताएका हुन् । 

विज्ञप्तिमा भनिएको छ, ‘सम्झौता पत्रमा आन्दोलनका केही मागहरू सम्बोधन भए पनि प्रमुख मागहरू स्पष्ट, ठोस र कार्यान्वयनयोग्य रूपमा समेटिएका छैनन् र चुनावअघि तिनको कार्यान्वयनबारे कुनै सुनिश्चितता दिएको छैन।’

ढुङ्गानाले सरकारको हालको सम्झौता प्रक्रियाले देशको स्थायित्व, सुशासन र परिवर्तनको मूलभूत आवाजलाई बेवास्ता गरेको आरोप लगाए ।  ‘व्यापक सर्वपक्षीय जनआवाजलाई बेवास्ता गर्दै केही स्वार्थ समूहसँग गरिएको राजनीतिक सम्झौताले भविष्यमा अझ गम्भीर अविश्वास र अस्थिरता निम्त्याउन सक्छ’, विज्ञप्तिमा उल्लेख छ ।

जारी विज्ञप्तिमा जनताको भावना, बलिदान र परिवर्तन चाहने मनोभावनालाई उपेक्षा गर्दै गरिने कुनै पनि सहमति स्वीकार्य नहुने चेतावनी दिइएको छ। 

ढुङ्गानाले उक्त सम्झौतालाई ‘आन्दोलन तुहाउने षड्यन्त्र र भ्रमपूर्ण’ भएको आरोप लगाउँदै आफूहरू यसका घोर विरोधी रहेको घोषणा गरेका छन् ।

miraj dhungana

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप