के ओशोको विचारको अझै सान्दर्भिकता छ ?
सारांश
- ओशोको जन्मदिनमा, उनको योगदान र शिक्षाबारे चर्चा गरिएको छ, जसमा ध्यान र चेतनाको महत्व समावेश छ।
- ओशोको जन्म सन् १९३१ डिसेम्बर ११ मा भारतमा भएको थियो, र उनले ध्यान, प्रेम, र स्वतन्त्रतामा जोड दिए।
- ओशोको शिक्षालाई बुझ्नुपर्ने कुरामा जोड दिँदै, उनले सिकाएका कुराहरूलाई जीवनमा कसरी लागू गर्ने भन्नेबारे बताइएको छ।
आज ओशोको जन्मदिन हो । विश्वभरका ओशो प्रेमीहरूले आजको दिनलाई विभिन्न तरिकाले मनाइरहेका छन् । जन्मदिन मनाइरहँदा ओशो को हुन् र उनको योगदान के छ भन्ने कुरा बुझ्नु नितान्त आवश्यक छ । किन ओशोलाई एकथरीले परमात्माको रूपमा देख्छन् र अनुभव गर्छन्, भने अर्काथरीले नकारात्मक भावले हेर्छन् ? विचार, सोच, भाव र धारणा आ–आफ्नै हुन सक्छन्, तर यथार्थ र सत्य एउटै हुन्छ । आज उनको जन्मदिनको सन्दर्भमा यो लेख यसै विषयमा केन्द्रित छ ।
ओशोको जन्म आजकै दिन अर्थात् सन् १९३१ डिसेम्बर ११ मा भारतको मध्य प्रदेशस्थित कुचवाडाको जैन परिवारमा भएको हो । उनी ११ सन्तानमध्ये सबैभन्दा जेठा थिए । उनका पिता पेसाले व्यापारी थिए । ओशो बाल्यकालदेखि नै अत्यन्त जिज्ञासु, विद्रोही र स्वतन्त्र सोचका थिए । उनी धार्मिक, सामाजिक र दार्शनिक मान्यताहरूप्रति सधैँ प्रश्न उठाइरहन्थे ।
बाल्यकालमा उनको नाम चन्द्रमोहन जैन थियो । पछि उनी ‘भगवान श्री रजनीश’ बने र हाल ‘ओशो’ का रूपमा चिनिन्छन् । ओशोले स्पष्ट पारे अनुसार, उनको नाम ‘ओशो’ विलियम जेम्सको शब्द ‘ओशेनिक’ बाट लिइएको हो, जसको अर्थ हुन्छ– ‘समुद्रमा विलीन हुनु’ । यो शब्दले मानिसको त्यो अनुभूतिलाई व्यक्त गर्छ, जसमा उसले आफूलाई सम्पूर्ण अस्तित्वमा पग्लिएको अनुभव गर्छ । ऐतिहासिक रूपमा पनि ‘ओशो’ शब्दको प्रयोग भएको पाइन्छ, जसको अर्थ हुन्छ– ‘आशीर्वाद प्राप्त व्यक्ति’ ।
आफ्नो जीवनकालमा ओशोलाई एक विवादास्पद गुरु तथा आध्यात्मिक मार्गदर्शकका रूपमा हेरिन्थ्यो । सन् १९६०को दशकमा उनले भारतभरि घुमेर सार्वजनिक वक्ताका रूपमा आफ्ना विचारहरू प्रस्तुत गरे । उनको मत थियो कि समाजवाद, साम्यवाद तथा अराजकतावाद पुँजीवादको परिपक्वतापछि मात्र विकसित हुन सक्छन् ।

ओशोले ध्यान, सजगता, प्रेम, उत्सव, साहस, रचनात्मकता र मानवीय गुणहरूको महत्वमा सधैँ जोड दिए । उनका अनुसार, यी गुणहरूलाई स्थिर विश्वास प्रणाली, धार्मिक परम्परा र सामाजिकीकरणका नियमहरूले दबाइरहेका हुन्छन् । उनका प्रवचनहरू औपचारिक शैक्षिक वातावरणमा नभई, हास्यरस र व्यंग्यसहित प्रस्तुत हुन्थे । उनका विचारहरू स्थिर थिएनन्, समयअनुसार परिमार्जित हुन्थे ।
ओशो विरोधाभास र द्वन्द्वमा रमाउँथे, जसले गर्दा उनको शिक्षालाई संक्षेपमा व्याख्या गर्न कठिन हुन्छ । उनले प्रायः परम्परागत धार्मिक व्यक्तिहरूको छविसँग मेल नखाने व्यवहार गर्थे, जसलाई उनी ‘रूपान्तरणको प्रविधि’ भन्दै ‘मानसिक सीमाभन्दा पर लैजान प्रयोग गरिएको उपाय’ का रूपमा व्याख्या गर्थे । उनले देवीदेवता, पैगम्बर, धर्मग्रन्थ र धार्मिक परम्पराहरूको व्यंग्य गर्थे र धर्मलाई नयाँ दृष्टिकोण दिन्थे ।
ओशोको विचारशक्ति र वक्तृत्वकलाबारे विभिन्न मूल्याङ्कनहरू पाइन्छन् । उनका अनुयायी र आलोचक दुबैबिच उनको बुझाइमा गहिरो भिन्नता छ । भारतका प्रख्यात लेखक, इतिहासकार तथा पूर्व सम्पादक खुशवन्त सिंहले ओशोलाई ‘भारतले जन्माएको सबैभन्दा मौलिक चिन्तक’ भनेका थिए । उनले ओशोलाई ‘स्वतन्त्र विचार राख्ने अज्ञेयवादी’ मानेका थिए, जसले अत्यन्त जटिल अवधारणालाई सरल भाषामा, रमाइला किस्साहरूमार्फत स्पष्ट पार्न सक्थे ।
ओशोको महान् योगदान भनेकै उनले संसारलाई नयाँ तरिकाले हेर्न सिकाउनु हो । उनी कुनै पूर्व निर्धारित विचारधाराबाट होइन, ताजा दृष्टिकोणबाट हेर्ने अभ्यास गराउँथे । उनी कुनै विशेष दर्शन वा धर्मको प्रचार गर्न चाहँदैनथे । के हेर्ने भनेर होइन, कसरी स्पष्ट रूपमा हेर्ने भनेर सिकाउँथे । उनको दृष्टिकोणको स्पष्टता नै सत्यसम्म पुर्याउने माध्यम हो ।
ओशो अन्धविश्वास र अचेत रूपमा पछ्याउने प्रवृत्तिको विरोधी थिए । उनका अधिकांश प्रवचन र पुस्तकहरूले जागरूकतामा जोड दिन्छन् । मानिसले आफ्नो तर्कशक्तिको चरम प्रयोग गर्नुपर्छ भन्ने उनको मान्यता थियो । उनी सन्देह गर्ने मनको सधैँ समर्थन गर्थे । उनी भन्थे, ‘धन्य छन् ती, जो शंका गर्छन्; किनकि उनीहरूले सत्यको राज्य प्राप्त गर्नेछन् ।’ उनका लागि शंका मानव अस्तित्वको सबैभन्दा पवित्र मूल्य हो ।
यसको अर्थ, यदि कोही व्यक्ति सत्य जान्न तयार छ भने, उसले कुराहरूलाई सजिलै स्वीकार्ने होइन, आफैँ खोजेर सत्य पत्ता लगाउने कोसिस गर्नुपर्छ । ओशोको धर्मसम्बन्धी धारणा सम्पूर्ण रूपमा ‘मानव निर्माण’ मा केन्द्रित छ । उनको सम्पूर्ण दर्शन र विचार प्रणालीको केन्द्रबिन्दु मानवीय चेतनाको विकास हो । मानवलाई पूर्ण, अखण्ड र एकीकृत व्यक्तित्वमा रूपान्तरण गर्न सकिन्छ भन्नेमा उनी दृढ थिए । यसका लागि उनी आधारभूत ऊर्जाहरूलाई उच्च ऊर्जामा रूपान्तरण गर्ने पक्षमा छन् । जसरी कोइला लामो समयपछि हिरामा परिणत हुन्छ, त्यसरी नै मानिसभित्रको मौलिक प्रवृत्तिगत ऊर्जा पनि उच्च सम्भावनामा अन्तज्र्ञानी अवस्थासम्म रूपान्तरित गर्न सकिन्छ ।
उनी भन्छन्– ‘अहिलेको मानिस या त प्रवृत्तिगत स्तरमा बाँचेको छ या बौद्धिक चेतनाको स्तरमा । यद्यपि बौद्धिक स्तर प्रवृत्तिगतभन्दा राम्रो हो, तर अझ धेरै उच्च सम्भावनाहरू छन्, जसतर्फ मानिस बढ्नुपर्छ । केवल चेतनाको सबैभन्दा उच्च शिखर, अन्तज्र्ञानको स्तरमा पुगेपछि मात्र मानिसले जीवनका सत्यहरू बुझ्न सक्छ । धार्मिकता, ईश्वरत्व, प्रेम, अस्तित्व आदिको अनुभव केवल यस अन्तज्र्ञानी शिखरबाट हुन सक्छ ।’
यो चेतना, जागरूकता र मानसिक एकता ध्यानबाट मात्र प्राप्त गर्न सकिन्छ । ध्यानमा मानिसले भित्र प्रवेश गरेर आफैँलाई खोज्नुपर्छ । ध्यानका विधिहरू ओशोको सम्पूर्ण विचारधाराको अनिवार्य अंश हुन् । उनी भन्छन्, ‘ध्यान त्यो गर्भ हो, जहाँबाट नयाँ मानिस जन्मन्छ ।’
ओशोका अनुसार ध्यान कुनै विश्वास होइन; यो कुनै आस्था वा संस्कार पनि होइन । यो विज्ञान हो; प्रयोग हो, जुन प्रयोगकर्ताको आन्तरिक दुनियाँमा हुन्छ । विज्ञानले बाहिरी संसार अन्वेषण गर्छ भने ध्यानले भित्री संसार । साधकले सत्यमा पुग्नका लागि आफैँसँग प्रयोग गर्नुपर्छ । ओशोका विचारमा, ध्यान भनेको एउटा अवस्था हो, जसलाई व्यक्तिभित्रका आधारभूत ऊर्जा परिष्कृत गरेर प्राप्त गर्नुपर्छ ।
आत्म–साक्षात्कार त्यो उच्चतम सम्भावना हो, जुन मानिसले हासिल गर्न सक्छ र यसलाई प्राप्त गरेपछि मात्रै मानिस धार्मिकतातर्फ प्रवेश गर्न सक्छ । ओशोको जीवनको सम्पूर्ण लक्ष्य ध्यानको विज्ञानलाई अतीतबाट पुनः प्राप्त गरेर आधुनिक मानवका लागि ताजा र सान्दर्भिक बनाउनु थियो ।

ओशोले भाषाका दुई प्रकारका भिन्नता पनि बताएका छन्– तर्कको भाषा र प्रेमको भाषा । तर्कको भाषा आक्रामक, आत्मकेन्द्रित र परिवर्तन गर्ने चाहनामा आधारित हुन्छ, जबकि प्रेमको भाषा ग्रहणशील हुन्छ र हृदयबाट उत्पन्न हुन्छ । प्रेमको भाषा बौद्धिक भाषाभन्दा फरक हुन्छ । यसमा अहंकारको ठाउँ हुँदैन, त्यो हृदयबाट हृदयमा सञ्चार गर्ने माध्यम हो । यो बहस होइन, संवाद हो; जसमा प्रेम, करुणा र आत्मसमर्पण हुन्छ ।
जब प्रेम शिखरमा पुग्छ, प्रेमी हराउँछ । यो यस कारण हुन्छ कि वास्तविक रूपमा हामी सबै निराकार छौँ । यद्यपि हामी शरीरको रूपमा बाँच्छौँ, तर हामी शरीरभन्दा परको केही हौँ । शरीर त केवल एक आवरण हो । प्रेमसँग त्यो आवरण भेदन गर्ने शक्ति हुन्छ र त्यस्तो अवस्थामा निराकार प्रकट हुन्छ अनि अनन्तताको ढोका खुल्छ ।
ओशोले जीवन र जगतको यति स्पष्ट व्याख्या दिँदादिँदै पनि आज धेरै ओशोका साधकहरू किन भड्किएका छन् ? किन बाटो बिराइरहेका छन् ? ओशो सन्यासीका लागि यो प्रश्न आफैँमा गम्भीर विषय हो । ओशोले भनेका थिए, ‘मलाई मान्ने होइन, बुझ्ने हो । मलाई पछ्याउने होइन, आफैँमा डुब्ने हो ।’ तर, आज धेरै ठाउँमा ठीक यसको उल्टो भइरहेछ । ओशोले स्वतन्त्रता भन्नाले आन्तरिक स्वतन्त्रता, जागरण, साक्षीभाव र अहंकारको अन्त्य भन्ने बुझाएका छन् । तर, धेरैले यसलाई ‘जे पनि गर्न पाइन्छ’ भन्ने अर्थमा लिएका छन् । यही गलत व्याख्याले बाटो बिगारेको छ ।
सन्यास जीवनको आधार ध्यान, मौन र साक्षीभाव हो । तर, आजभोलि धेरै साधकहरू कार्यक्रम, उत्सव, बाजागाजा र बाहिरी व्यक्तित्वमा बढी आकर्षित भइरहेका छन्, जसले भित्री यात्रालाई कमजोर बनाउँछ । ओशोको सन्देश जागरण थियो, तर आज कतै–कतै यो व्यापार र प्रतिष्ठाका रूपमा प्रयोग हुन थालेको छ । जब आध्यात्मिकता व्यापार बन्छ, साधना कमजोर हुन्छ ।
ओशो भन्थे– ‘सत्य अनुभव हो, दर्शन होइन ।’ तर, आज धेरैलाई अनुभव नहुन सक्छ । सुनेको कुरा मात्र दोहोर्याउने तर ध्यानमा नडुब्ने प्रवृत्ति नै मूल कारण हो । यसले अहंकारलाई पुनः बलियो बनाउँछ । ध्यानले अहंकार घटाउँछ, तर जब ‘ओशो सन्यासी’ भन्ने नयाँ पहिचान मिल्छ, तब नयाँ प्रकारको अहंकार जन्मिन सक्छ । अहंकार बढेपछि जागरण घट्छ । मार्गदर्शक कमजोर हुँदा पनि साधकहरू दिशाहीन हुन सक्छन् ।
ओशोले सजिलो मार्ग दिएनन् । उनले भने, ‘तिमी आफैँ सत्य खोज ।’ धेरैलाई सजिलो चाहिन्छ– नियम, आदेश, पूजा र नियन्त्रण । तर, ओशोको मार्गमा स्वतन्त्रता र जिम्मेवारी दुवै छन् । यो कठिन भएर धेरैजना बीचमै विचलित हुन्छन् । मानिसले आफ्नो असजगता, अहंकार र बाहिरी मोहले गर्दा स्वयंले बाटो बिराएका हुन् । ओशो गलत छैनन्, उनको सन्देश पवित्र छ । गलत त हाम्रो असजगता, बाहिरी आकर्षण, नबुझेको स्वतन्त्रता, ध्यानको कमी र अहंकारको पुनरागमन हुन् ।

ओशोको वास्तविक सन्यास–शिक्षा बाहिरी पहिरन होइन, भित्री रूपान्तरण हो । ओशो भन्छन्, ‘सन्यास रङ्ग नभएर अनुभूति हो ।’ कपडा बदल्नु, नाम बदल्नु, माला लगाउनु– यी सबै गौण कुरा हुन् । मुख्य कुरा चेतनाको गुण परिवर्तन हो । ओशोको सन्यासको मूल आधार साक्षीभाव हो । ‘मन आउने–जाने बादल हो, तिमी त आकाश हौ ।’ यो बुझाइ नै सन्यासको आरम्भ हो । ओशोले कुनै पनि अनुयायीलाई ‘मान्न’ होइन, स्वयंलाई खोज्न, प्रश्न गर्न र अनुभव गर्न सिकाउँछन् । सन्यासी हुनु भनेको अनुशासनमा बाँधिनु होइन, आन्तरिक स्वतन्त्रता र जिम्मेवारीमा बाँच्नु हो ।
ओशोका अनुसार सन्यास दुःखको बाटो होइन । यो ध्यान, नाच, संगीत, मौन र प्रेम सबैको समन्वय हो । आनन्दपूर्वक र चेतनापूर्वक बाँच्नु नै ओशो–सन्यास हो । ओशो भन्छन्, ‘ध्यान त भित्री संसार हो र प्रेम बाहिरी जीवनमा फूलेको फूल हो ।’ सन्यासमा भित्री अनुशासन र बाहिरी अभिव्यक्ति दुवै अपरिहार्य छन् । ओशोले संस्थालाई होइन, जीवनलाई धर्म माने । वास्तविक सन्यास भनेको गुरुमा निर्भरता होइन, आफ्नो प्रकाशमा हिँड्ने साहस हो ।
न भूतको याद, न भविष्यको चिन्ता; जागृत भएर वर्तमानमा बाँच्ने कला हो– ओशो सन्यास । ओशोको वास्तविक सन्यास जागरण, स्वतन्त्रता, प्रेम, ध्यान र उत्सवको संयोजन हो । यो बाहिरी आरोपण होइन, भित्री क्रान्ति हो ।
अतः आजको दिनलाई हामी प्रत्येक ओशो सन्यासीले आफ्नै नव–सन्यासको पवित्र क्षण मानौँ । साधनाको बाटोलाई निरन्तरता दिँदै, जीवनमा उठ्ने सबै विकारलाई मौन प्रेमको प्रकाशले पगाल्दै जाऔँ । एकत्वको भावमा सत्यतर्फ हिँडिरहने सङ्कल्प नै आजको दिनको अर्थ र महत्व हो ।
ओशो, आज पनि हाम्रो मनमा जिउँदै छन् । उनलाई सतत् नमन !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण