कांग्रेस महाधिवेशन : कर्णालीबाट को–को छन् पदाधिकारीको रेसमा ?
सारांश
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६-२८ गतेसम्म हुने भएको छ।
- कर्णाली प्रदेशबाट पूर्णबहादुर खड्का, हृदयराम थानी, जीवनबहादुर शाही र भूपेन्द्रजंग शाही पदाधिकारीका लागि प्रतिस्पर्धा गर्दैछन्।
- खड्का र शाही संस्थापन पक्षका हुन् भने थानी र शाही इतर पक्षका हुन्, र कर्णालीमा आन्तरिक प्रतिस्पर्धा हुने देखिएको छ।
सुर्खेत । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आगामी पुस २६–२८ गतेसम्म हुँदै छ । महाधिवेशनको मिति तय भएसँगै नेता तथा कार्यकर्ताहरू त्यतातर्फ केन्द्रित भइसकेका छन् ।
विशेषगरी कांग्रेसको नेतृत्वका लागि थुप्रै नेताहरूबिच प्रतिस्पर्धा हुने देखिएको छ । अन्य पदाधिकारीतर्फ पनि आकाङ्क्षीहरू विस्तारै खुल्दै गइरहेका छन् ।
महाधिवेशनमा कर्णाली प्रदेशबाट पनि पदाधिकारीका लागि पूर्णबहादुर खड्का, हृदयराम थानी, जीवनबहादुर शाही र युवा नेता भूपेन्द्रजंग शाहीले तयारी थालेका छन् ।
यी नेताहरूमध्ये अहिलेका कार्यवाहक सभापति खड्का र जीवनबहादुर शाही संस्थापन पक्षका हुन् भने थानी र भूपेन्द्रजंग शाही इतर पक्ष अर्थात् शेखर कोइराला समूहका हुन् ।
केन्द्रमा संस्थापन र इतर पक्ष भनेजस्तै कर्णालीमा संस्थापन पक्षका प्रमुख नेता पूर्णबहादुर खड्का नै हुन् भने इतर पक्षका नेता थानी हुन् । यी दुवै नेता सुर्खेत निवासी हुन् । खड्का र थानी पक्षबिच कर्णालीमा कडा आन्तरिक प्रतिस्पर्धा हुने गरेको छ ।
कुनै बेला थानी पक्षको दबदबा रहेको कर्णालीमा १४औँ महाधिवेशनसम्म आउँदा खड्का पक्षले साख भत्कायो । आसन्न महाधिवेशनमा गुमाएको साख फर्काउने दाउमा छ थानी पक्ष ।
‘यसअघि पूर्ण दाइले सबै कब्जा गर्नुभयो, यो पटक हामी कब्जा गर्छौँ,’ इतर पक्षका एक नेता भन्छन्, ‘हाम्रोमा पार्टीको भन्दा पनि टिमको कुरा हुन्छ, हाम्रो टिमबाट पदाधिकारी लड्न सक्ने नेता भनेका थानी दाइ र भूपेन्द्रजंग नै हो ।’ उनीहरूको विषयमा केन्द्रमा (शेखर समूह) पनि छलफल भइरहेको ती नेताले बताए ।
कर्णालीले केन्द्रीय सभापति पाउने आशा !
हाल कार्यवाहक रहेका पूर्णबहादुर खड्का अहिले सभापति बन्ने लाइनमा छन् । देउवा खेमाबाट उनलाई जबर्जस्त रूपमा सभापति मात्र होइन, भावी प्रधानमन्त्रीकै रूपमा प्रचार गरिएको छ ।
उनी फागुन २१ गते हुने निर्वाचनका लागि सुर्खेत–१ बाट एकल उम्मेदवार सिफारिससमेत भइसकेका छन् । कर्णालीका अधिकांश नेताहरूको आशा छ–यो पटक जसरी हुन्छ, केन्द्रको सभापति खड्का नै हुनेछन् ।
३० को दशकको सुरुवातदेखि नै राजनीतिमा अग्रसर खड्का देउवाका विश्वासपात्रका रूपमा चित्रित छन् । ‘पटक–पटक चुनाव जितेर सानादेखि ठुला सबैजसो मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका र उपसभापतिसमेत भइसकेका खड्का नै अबको निर्विकल्प सभापति हो,’ खड्का पक्षधर कर्णालीका नेता वेदराज सिंह भन्छन् ।
कठिन र अनुकूल दुवै समय ‘देउवालाई काँध थाम्ने’ नेता हुन् खड्का । पार्टीको मूल नेतृत्वबाहेक सबैजसो मुख्य पदमा भूमिका निभाइसकेका छन् उनले । केन्द्रीय सदस्य, सहमहामन्त्री, महामन्त्री बनेर पार्टीमा काम गरिसकेका उनी संसदीय होस् वा पार्टी राजनीतिमा विवादरहित नेता हुन् ।
उनी सकेसम्म देउवाको समर्थनसहित सभापति बन्न चाहेको चर्चा छ । उनका समर्थकहरूले मिसन सभापतिदेखि उनको प्रशंसामा सामाजिक सञ्जालमा भिडियो र तस्बिरहरू राखेर प्रचार बढाइरहेका छन् ।
खड्का पक्षबाट कर्णालीबाट पदाधिकारीमा दाबी गर्ने अर्का नेता हुन्, जीवनबहादुर शाही । उनी १४औँ महाधिवेशनमै सहमहामन्त्री पदमा चुनाव लडेका थिए । यद्यपि उनी बद्री पाण्डेसँग पराजित भए । पिछडिएका क्षेत्रतर्फको सहमहामन्त्रीमा देउवा प्यानलका शाहीले दुई हजार १३३ मत ल्याएका थिए भने पाण्डेले दुई हजार ४११ मत ल्याएका थिए । अहिले उनी पार्टीको केन्द्रीय सदस्य छन् ।
‘कर्णालीबाट पदाधिकारीमा जाने हाइट भएको नेता उहाँ नै हो,’ कांग्रेस जाजरकोटका सभापतिसमेत रहेका सिंह भन्छन्, ‘उहाँबाहेक समावेशी कोटाबाट पदाधिकारी लड्ने हाइटको नेता अरू छैनन् ।’
शाहीनिकट स्रोतका अनुसार परिस्थिति अनुसार सभापति बाहेकका जुनसुकै पदमा पनि लड्ने तयारी उनले गरेका छन् ।‘अहिले नै यही पद भन्ने त छैन, सकेसम्म माथिल्लै पदमा लड्नुहुन्छ, नभए सहमहामन्त्रीसम्म त लड्नुहुन्छ,’ उनीनिकट स्रोतले रातोपाटीलाई भन्यो, ‘पूर्ण दाइ सभापति बन्ने भएपछि टिम मिलाउँदा उहाँ पदाधिकारीमा अटाउने सम्भावना पनि रहन्छ ।’
यद्यपि खड्काले आफू सभापति बन्दा अरू नेतालाई मिलाउने अवस्थामा शाहीले त्याग गर्नुपर्ने अवस्था पनि आउन सक्ने विश्लेषण गरिएको छ । कर्णालीको मुख्यमन्त्री भइसकेका शाही कर्णालीमा खड्कापछिका सर्वस्वीकार्य नेता हुन् ।
भूपेन्द्रको नजर महामन्त्रीमा, थानी पनि स्थान खोज्ने ध्याउन्नमा
संस्थापन इतर अर्थात् शेखर पक्षबाट पूर्वमन्त्री हृदयराम थानीले यो पटक पदाधिकारीमा लड्ने चाहना गरेका छन् । १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थानी पुराना र इमानदार छवि भएका नेता हुन् । बेथितिविरुद्ध खरो रूपमा उत्रने उनी यसअघि सुर्खेत–२ बाट प्रतिनिधि सभा सांसद थिए ।
‘अब अहिले नै यही भन्ने छैन, पदाधिकारीमा जाने अवस्था पनि आयो,’ रातोपाटीसँग थानीले भने, ‘नेताहरूसँग सरसल्लाह गर्नुपर्ला । मलाई पनि पदाधिकारीमा गर्नुपर्यो भन्ने विचारमा म पनि छु ।’
यद्यपि अहिले नै यही पदमा भन्ने निक्र्योल नभइसकेको उनले बताए । थानी प्रतिनिधि छनोटको अवस्थालाई मध्यनजर गरेर पनि पद निक्र्योल गर्ने तयारीमा देखिन्छन् । ‘केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोटको काम भयो भने त्यसपछि सबैसँग सल्लाह गरेर अगाडि बढ्नुपर्ला,’ उनले भने ।
थानी पक्षधर नेता तथा दैलेखका पार्टी सचिव नारायण रेग्मी अहिले कर्णालीमा इतर पक्ष बलियो बन्दै गएको बताउँछन् । रेग्मी भन्छन्, ‘हाम्रोमा टिमले नेता व्यवस्थापन गर्ने हो, टिमले थानी दाइलाई उपयुक्त स्थान दिन्छ नै ।’
थानी पक्ष बलियो बन्दै गएको उदाहरणका रूपमा गत फागुनमा शेखर कोइराला सुर्खेत आउँदा देखिएको शक्ति प्रदर्शनलाई उनले प्रस्तुत गरे । उनले थपे, ‘कर्णाली प्रदेश कार्य समितिबाट कर्णालीका गाउँगाउँमा कार्यकर्ता रुष्ट छन्, शेखर कोइरालाको टिम मजबुत छ । प्रतिनिधि छनोटमा पनि हाम्रो उपस्थिति बलियो हुन्छ ।’
त्यसैलाई मध्यनजर गर्दै ‘थानी दाइ’लाई केन्द्रीय पदाधिकारीमै लडाउने केन्द्रका नेताहरू र कर्णालीको चाहना रहेको उनले बताए ।
शेखर पक्षबाटै महामन्त्रीमा चुनाव लड्ने तयारी गरेका छन्, युवा नेता भूपेन्द्रजंग शाहीले । कालिकोट निवासी उनी देशभर समर्थक भएका युवा नेता हुन् ।
नेविसंघको केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महामन्त्री हुँदै २०७० सालमा संविधान सभा सदस्यको उम्मेदवारी दिएका शाहीले २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए । शाही अघिल्लो १४औँ महाधिवेशनमा कर्णाली प्रदेशको सभापतिको प्रत्यासी बनेका थिए । यद्यपि खड्का समूहका ललितजंग शाहीसँग पराजित बने ।
संगठनको काममा सधैं खटिरहने र केही न केही नौलो कार्य गरिरहने शाही कांग्रेसमा सिर्जनशील र क्रियाशील नेतामा पर्छन् । पार्टीका विभिन्न अभियान, कार्यक्रम, गाउँ अभियान र जिल्ला दौडाहा गरिरहने उनी स्पष्ट वक्ताका रूपमा परिचित छन् भने पार्टीकै गलत निर्णयमा खुलेर विरोध गर्छन् ।
उनी अहिले कालिकोटका गाउँबस्तीहरूमा पुगेर जनतासँग भेटघाट तथा संवाद गरिरहेका छन् । उनी केन्द्रीय राजनीतिमा स्थापित कर्णालीका युवा नेता हुन् । पछिल्लो समय विभिन्न कार्यक्रम र अभियान चलाएर देशभर डुले उनी । २०८० जेठ ११ गतेबाट कांग्रेस रूपान्तरण अभियान सञ्चालन गरेर मेचीदेखि महाकालीसम्म संगठन निर्माणको लागि गाउँ–गाउँ पुगेका थिए ।
२०८० चैत २ गतेबाट संगठन सुदृढ यात्रा ‘सल्यान कपुरकोटदेखि हुम्ला सिमकोट’ सम्म कठिन भूगोलमा कर्णालीका गाउँबस्ती पुगेर कांग्रेसमा नयाँ जागरण, नयाँ ऊर्जा र नयाँ भरोसा जगाउने काम गरेका छन् ।
‘मेरो दाबी महामन्त्रीसम्म रहन्छ, नेताहरूको व्यवस्थापनमा सकस भयो भने सहमहामन्त्रीसम्म त लड्छु नै,’ उनले रातोपाटीसँग भने ।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण