शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा १८ गुणा बढी आवेदन

बिहीबार, २५ मङ्सिर २०८२, १९ : ४१
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सामूहिक लगानी कोषको लागि १८ गुणा बढी आवेदन परेको छ।
  • कम्पनीले वैदेशिक रोजगारीमा गएका लगानीकर्ताका लागि निष्काशन गरेको आईपीओमा पनि उल्लेख्य आवेदन परेको छ।
  • कम्पनीको वित्तीय अवस्था र नाफामा भएको वृद्धिले लगानीकर्ताको आकर्षण बढाएको छ।

काठमाडौँ । नेपालको सबैभन्दा ठुलो रोजगारदाता र निर्यातकर्ता कम्पनी रिलायन्स स्पिनिङ मिल्सले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को लागि निष्काशन गरेको आईपीओमा ‘ओभर सब्सक्राइभ’ हुँदै १८ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको ५ प्रतिशत अर्थात् ५७ हजार ७ सय ९८ कित्ता म्युचुअल फण्डको लागि छुट्याएको थियो । जसमा ९ लाख २४ हजार ७६८ कित्ताको लागि आवेदन परेको छ, जुन मागको १८ गुणा बढी हो ।

रिलायन्सले निष्काशन गरेको ५७ हजार ७ सय ९८ कित्ता सेयर प्राप्त गर्नका लागि सामूहिक लगानी कोषका ४५ वटा योजनाले आवेदन दिएका थिए ।

तीमध्ये ४१ योजनालाई सेयर वितरण गरिएको छ । ४ करोड ७४ लाख ४० हजार ५९८ रकम आवश्यक भएकोमा ७५ करोड ९० लाख ४९ हजार ५७४ रुपैयाँ जम्मा भएको थियो । आवश्यकभन्दा बढी ७१ करोड १६ लाख ८ हजार ९७६ रुपैयाँ फिर्ता गर्नुपर्ने भएको छ । 

नेपाली पुँजी बजारमा म्युचुअल फण्डलाई दक्ष र अनुभवी विशेषज्ञद्धारा सञ्चालन हुने एक वित्तीय औजार मानिन्छ । 

रिलायन्सको सेयर खरिद गर्न पुँजी बजारबारे जानकार संस्थाहरूमा देखिएको आकर्षणले कम्पनीको मजबुत वित्तीय अवस्था, भविष्यप्रतिको भरोसा र विश्वास पुष्टि गरेको छ ।

वैदेशिक रोजगारीमा गएकाहरूका लागि निष्काशन गरेको आईपीओमा पनि झण्डै गुणा बढी आवेदन परेको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका लगानीकर्ताका लागि सोमबार १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्काशन गरेको थियो । निर्धारित अवधि (बिहीबार) सम्म ३६ हजार ८२ आवेदकले २० लाख १ हजार ४७० कित्ताको आवेदन परेको छ ।

नेपाली पुँजी बजारको इतिहासमा वैदेशिक रोजगारकर्ताहरूको आईपीओमा परेको यो सम्भवतः सबैभन्दा बढी आवेदन हो । रिलायन्सले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत वैदेशिक रोजगारकर्ताका लागि निष्काशन गरेको थियो । 

निर्धारित अवधिभित्र पूर्ण आवेदन नपरेमा पुस ७ सम्म लम्ब्याउन सकिने भए पनि मागभन्दा बढी आवेदन परेपछि निष्काशन अवधि लम्बिने छैन । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा रहेको छ । बुक बिल्डिङ निर्देशिका बमोजिम बोलकबोल प्रणालीमार्फत आवेदन दिन योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । 

सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

सोमबार आईपीओ निष्काशनको आधा घण्टामै १ लाख १८ हजार ३४० कित्ताको लागि आवेदन परेर ‘ओभर सब्सक्राइभ’ भएको थियो । त्यसपछि पनि निर्धारित अवधिभर लगानीकर्ताको उत्साहमा कुनै कमी देखिएन । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिएका छन् ।

रिलायन्स स्पिनिङ मिल्स ३२ वर्ष लामो इतिहास बोकेको प्रतिष्ठित कम्पनी हो । कम्पनीले ४ हजारभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरेको छ, जसमध्ये करिब १३०० महिला छन् । कम्पनीले वार्षिक ५० मिलियन अमेरिकी डलरभन्दा बढीको निर्यात गर्दै आएको छ । रिलायन्सको आईपीओमा लगानीकर्ताको तीव्र आकर्षण देखिनुमा उसको  विश्वासिलो विरासत, बलियो वित्तीय अवस्था र निरन्तर लाभदायी यात्रा प्रमुख कारक रहेका छन् ।

मंसिर पहिलो साता सार्वजनिक गरिएको लेखापरीक्षण प्रतिवेदनअनुसार कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड ९३ लाख ८४ हजार ५४७ रुपैयाँ कूल नाफा गरेको छ, जब कि अघिल्लो आर्थिक वर्षमा यो अङ्क ८६ करोड ५० लाख ६० हजार ३२५ रुपैयाँ मात्र थियो । गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ४७ करोड ५८ लाख ११ हजार ९७९ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा खुद नाफा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ थियो । खुद नाफामा साढे ९ गुणा बढी वृद्धि भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा अघिल्लो वर्षको तुलनामा करिब साढे ९ गुणा वृद्धि भएको छ । २०८०/८१ मा २.९५ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी २०८१/८२ मा २७.८७ रुपैयाँ पुगेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप