बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एनपीएल

दुई पटक टोलीलाई एनपीएल फाइनलमा पुर्‍याउने सुदूरपश्चिमका शेर

शुक्रबार, २६ मङ्सिर २०८२, ११ : १४
शुक्रबार, २६ मङ्सिर २०८२

सारांश

  • शेर मल्ल नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा रहेका छन्, उनले फाइनलसम्म लुम्बिनी लायन्सलाई पुर्याए।
  • शेरले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै टिमका लागि महत्त्वपूर्ण योगदान दिए, जसमा अन्तिम ओभरमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।
  • शेरको क्रिकेट यात्रा संघर्षपूर्ण रह्यो र उनले घरेलु क्रिकेटमा 'म्याच विनर' को पहिचान बनाएका छन्, उनको लक्ष्य नेपाली राष्ट्रिय टोलीबाट विश्वकप खेल्नु हो।

धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा लुम्बिनी लायन्सलाई फाइनलसम्म पुर्‍याउन निर्वाह गरेको भूमिकाले क्रिक्रेटर शेर मल्ल फेरि एकपटक चर्चामा छन् । उनले एनपीएलको जारी सिजनमा आफूलाई अब्बल प्रमाणित गरेका छन् ।

लगातार दुई सिजन आफ्नो टोलीलाई फाइनलमा पुर्‍याउन नायक बनेका शेरको चर्चा अहिले चुलिएको छ । दोस्रो सिजनमा प्रतियोगिताका ९ खेलमा १४ विकेट लिएर तेस्रो सफल बलर बनेका उनले आफ्नो जादुयी स्पिनले विपक्षी ब्याट्सम्यानहरूलाई निरन्तर झुलाए ।

बलिङमा मात्र होइन, आवश्यक पर्दा ब्याटबाट पनि उनले आफूलाई एक भरपर्दो खेलाडीको रूपमा स्थापित गरे ।

शेरको क्षमताको वास्तविक परिचय गत वर्षको एनपीएलको दोस्रो क्वालिफायर खेलले दिएको थियो । त्यतिबेला उनी जनकपुर बोल्ट्सबाट खेलेका थिए । काठमाडौँको त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबिचको त्यो तनावपूर्ण खेल धेरैको मानसपटलमा अझै ताजा छ । फाइनलमा पुग्न जित्नैपर्ने दबाबमा रहेको जनकपुरलाई अन्तिम ३.५ ओभरमा २३ रन चाहिएको थियो । मैदानमा दर्शकको कोलाहल र हजारौँ समर्थकको ढुकढुकी बढिरहेको बेला शेर क्रिजमा उत्रिए । उनी मैदान पस्दा जति शान्त र एकाग्र देखिन्थे, उनको मनभित्र त्यति नै ठुलो आँधी चलिरहेको थियो ।

589901763_17868255168493941_5083113894949051279_n

भारतको पञ्जाबमा रहेका उनका बुवा मन्दिरमा छोराको सफलताको प्रार्थना गर्दै थिए भने आमाले अघिल्लो साँझमात्रै ह्वाट्सएपमा सम्झाएकी थिइन्, ‘बाबु, टिकेर खेल्नु, हतार नगर्नु ।’

आमाबुवाको आशिर्वाद र आफ्नो आत्मविश्वासको शक्ति बोकेर उनले १० बलमा अविजित १६ रनको तुफानी पारी खेले । जब टोलीलाई ११ बलमा १२ रन आवश्यक थियो, उनले बलरको टाउको माथिबाट प्रहार गरेको छक्काले त्रिवि मैदान गुञ्जायमान भयो । त्यो एक छक्का विजयी प्रहारमात्र थिएन, उनको साहस, क्षमता र दबाबमा खेल्न सक्ने खुबीको बलियो उदाहरण थियो ।

अन्ततः ६ बल बाँकी छँदै जनकपुरले २ विकेटले खेल जित्यो र फाइनलमा स्थान बनायो । त्यो क्षण शेरको करियरकै एक महत्त्वपूर्ण कोसेढुङ्गा बन्यो, जसले उनलाई घरेलु क्रिकेटमा एक ‘म्याच विनर’ को पहिचान दिलायो ।

सुदूरपश्चिमको डोटीस्थित केआई सिंह गाउँपालिकामा जन्मिएका शेरको क्रिकेट यात्रा सङ्घर्षले भरिएको छ । बुवाको रोजगारीका कारण पाँच वर्षको कलिलो उमेरमा उनी परिवारसँगै भारतको पञ्जाब पुगे । उनको बाल्यकाल पञ्जाबका गल्लीहरूमा क्रिकेट खेल्दै बित्यो । बिस्तारै क्रिकेट उनको रगतमा बस्न थाल्यो र विद्यालयको टिममा परेपछि नियमित अभ्यास सुरु गरे । यो कुरा उनले घरमा गोप्य राखेका थिए । उनी शनिबार लगाउने सेतो खेल पोसाक झोलामा लुकाएर लैजान्थे र विद्यालयबाटै अभ्यास गर्थे ।

591157487_17868028161493941_862786832486291215_n

६ महिनापछि एक दिन आमाले उनको झोलामा लेदरको बल र अतिरिक्त पोसाक फेला पारिन् । रहस्य खुलेपछि बुवा विद्यालय पुग्दा कोचले बुवालाई भने, ‘शेर असाध्यै राम्रो खेलाडी हो, ऊ भविष्यमा ठुलो क्रिकेटर बन्न सक्छ ।’

त्यो दिनपछि उनको जीवनले नयाँ मोड लियो । परिवारले उनलाई खुलेर खेल्ने अनुमति दियो । परिवारको साथ पाएपछि उनी तीन वर्ष चन्डीगढको होस्टलमा बसेर भारतीय क्रिकेटर प्रशान्त चोपडाका बुवा तथा प्रशिक्षक आकाश चोपडासँग व्यावसायिक तालिम लिए । भारतमा जति नै राम्रो अवसर पाए पनि उनको मन सधैँ नेपालमै थियो । सानैदेखि उनले एउटै अठोट लिएका थिए– ‘म नेपालका लागि खेल्नेछु ।’

नेपाल फर्केपछि उनले धनगढी र महेन्द्रनगरका घरेलु प्रतियोगिताहरूमा आफ्नो प्रतिभा देखाउन थाले । सुरुवातमा सुदूरपश्चिमको टोलीबाट प्रधानमन्त्री कप खेल्दै आएका शेरले २०८० को संस्करणमा ९ खेलमा २४ विकेट लिएर सनसनी मच्चाएका थिए । बलिङ अलराउन्डर शेर अफस्पिनका साथै क्यारम बल, गुगली र लेग स्पिनमा पनि उत्तिकै माहिर छन् भने देब्रे हाते ब्याटिङ उनको अर्को विशेषता हो, जसले उनलाई एक पूर्ण प्याकेज बनाउँछ ।

587409524_17868977436493941_2245868192432157220_n

२०७८ मा एसीसी यू–१९ एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेका उनले नेपाल ‘ए’ टोलीबाट क्यानडाविरुद्ध डेब्यु गर्दै २ विकेट लिएका थिए । हालै लुम्बिनीमा सम्पन्न प्रधानमन्त्री कपमा उनले सुदूरपश्चिमको कप्तानीसमेत सम्हाल्ने अवसर पाए, जसले उनको नेतृत्व क्षमतालाई पनि उजागर गर्‍यो । उनले धनगढी प्रिमियर, अर्जुन ट्रफी र एनपीएल जस्ता धनगढीमा भएका राष्ट्रिय स्तरका प्रतियोगिता खेले । घरेलुमा उनले यस्ता धेरै प्रतियोगिता खेलेका छन् ।

चर्चा र सफलताको यो यात्रा पछाडि शेरको काँधमा ठुलो पारिवारिक जिम्मेवारी पनि छ । उनका बुवा प्यारालाइसिसका कारण बिरामी छन्, जसको उपचारमा २५ लाखभन्दा बढी खर्च भइसकेको छ । आमाले पञ्जाबको एक अस्पतालमा नर्सको काम गरेर परिवारको गर्जो टारिरहेकी छन् । अहिले भने क्रिकेटले शेरलाई नाममात्र होइन, दाम पनि दिन थालेको छ, जसले परिवारलाई ठुलो राहत मिलेको छ ।

587017781_17867570280493941_496541847299746182_n

‘पहिला क्रिकेट खेल्दा पैसाको निकै समस्या हुन्थ्यो, तर अहिले खेलेपछि घरखर्च चलाउन र बुवाको उपचारमा सहयोग गर्न सहज भएको छ,’ शेरले भने । एनपीएलमार्फत उनले राम्रो आम्दानी गरेका छन् ।

‘पैसाभन्दा ठुलो कुरा सम्मान हो । मलाई यो यात्रामा साथ दिनुहुने सबैप्रति आभारी छु,’ उनले भने ।

भारतीय क्रिकेटर विराट कोहलीका फ्यान शेर नेपालमा आरिफ शेखको खेल र उनको धैर्यताबाट प्रभावित छन् । गत वर्ष शेरको प्रदर्शनको कदर गर्दै गृहपालिका केआई सिंह गाउँपालिकाले उनलाई १ लाख ३१ हजार २५० रुपैयाँसहित सम्मान गरेको थियो ।

अहिले उनको एउटै लक्ष्य छ– नेपाली राष्ट्रिय टोलीको जर्सीमा विश्वकप खेल्ने । ‘मेरो सपना विश्वकप खेल्ने र देशका लागि जित्ने हो । राष्ट्रिय टोलीमा मौका पाएँ भने म आफूलाई शतप्रतिशत प्रमाणित गरेर देखाउनेछु,’ उनले भने ।

सुदूरपश्चिममा क्रिकेटको माहौल बनाउन योगदान दिइरहेका शेर मल्ल आज हजारौँ युवा खेलाडीका लागि प्रेरणाका स्रोत बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप