बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बेथिति

सामाजिक सञ्जालको असुरक्षित प्रयोगले सुदूरपश्चिममा साइबर अपराध बढ्दै, के भन्छ प्रहरी ?

आइतबार, २८ मङ्सिर २०८२, १२ : ३८
आइतबार, २८ मङ्सिर २०८२

सारांश

  • इन्टरनेट प्रविधिको प्रयोग बढ्दै जाँदा साइबर अपराधका घटनाहरू पनि बढिरहेका छन्।
  • सुदूरपश्चिम प्रदेशमा साइबर अपराधका उजुरी बढे पनि मुद्दा दर्ताको संख्या भने घटेको छ।
  • प्रहरीका अनुसार, साइबर अपराध नियन्त्रणका लागि अभिभावकको निगरानी, सचेतना र बहुपक्षीय सहकार्य आवश्यक छ।

धनगढी । हातहातमा पुगेको इन्टरनेट प्रविधिले ल्याएको सहजतासँगै चुनौती पनि थपिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताको असावधानी, आवश्यक सुरक्षा सतर्कताको कमीजस्ता कारणले साइबर अपराध बढ्न थालेको छ ।

सुदुरपश्चिम प्रदेशमा हरेक वर्ष साइबर अपराध बढेको प्रहरी तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार, साइबर अपराधका लागि सबैभन्दा बढी फेसबुक र म्यासेन्जरको दुरुपयोग भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार, आर्थिक वर्ष २०८०/०८१ मा ३६४ वटा साइबर अपराधसम्बन्धी उजुरी दर्ता भएका थिए, जसमध्ये १६ वटामात्र मुद्दामा परिणत भए । आर्थिक वर्ष २०८१/०८२ मा उजुरीको संख्या बढेर ३९७ पुग्यो, तर मुद्दा दर्ताको संख्या भने १२ मा झर्‍यो । चालु आर्थिक वर्ष मंसिरसम्मको छोटो अवधिमै १३५ वटा उजुरी परिसकेका छन् भने ६ वटा मुद्दा दर्ता भएका छन् । यो तथ्याङ्कले उजुरी गर्नेको संख्या बढे पनि कानुनी कारबाहीको दायरामा आउनेको संख्या अत्यन्तै न्यून रहेको देखाउँछ ।

सुदूरपश्चिममा यो समस्याको केन्द्रविन्दु बनेको कैलाली जिल्लाको अवस्था झनै चिन्ताजनक छ । जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा सामाजिक सञ्जालबाट पीडित भएको भन्दै जम्मा १३ वटा उजुरी परेको थियो । त्यसपछिका वर्षहरूमा यो संख्यामा निरन्तर वृद्धि हुँदै आएको छ । आर्थिक वर्ष २०८१/०८२ मा फेसबुक, टिकटक, ई–सेवा र अन्य बैंकिङ एपमार्फत भएका अपराधका २३७ उजुरी दर्ता भए । चालु आर्थिक वर्षको हालसम्म मात्रै १२१ उजुरी दर्ता भइसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश सिंह विष्टका अनुसार साइबर अपराध बढ्नु कुनै एउटा कारणमा मात्र सीमित छैन । ‘सहरीकरण, आधुनिकीकरण र सामाजिक सञ्जालको बढ्दो प्रयोगले यसलाई मलजल गरेको छ । सामाजिक सञ्जालको प्रभाव सकारात्मकभन्दा नकारात्मक रूपमा बढी परिरहेको छ,’ उनले भने ।

साइबर अपराधको पीडित र पीडक दुवैमा युवा पुस्ता, विशेषगरी किशोरकिशोरीहरूको संख्या अधिक छ । विशेषगरी १४ वर्षदेखि २६ वर्षसम्मको उमेर समूह यसमा बढी संलग्न देखिन्छ । यो उमेर समूह प्रविधिसँग नजिक भए पनि त्यसका खतराहरूबारे अनभिज्ञ हुँदा सजिलै सिकार बन्ने गरेको छ ।

विष्टका अनुसार, सामाजिक सञ्जाल प्रयोगको नियम थाहा नहुनु, शिक्षा र चेतनाको कमी हुनु र कुन कुरा पोस्ट गर्दा कानुनी रूपमा अपराध हुन्छ भन्ने ज्ञानको अभावले युवा पुस्ता सजिलै यो दलदलमा फसिरहेको छ ।

‘अर्काे गम्भीर पक्ष हो–अभिभावकत्वको कमी,’ उनले भने, ‘अभिभावकको उचित निगरानीको अभावमा बालबच्चाहरू के गर्दैछन्, कुन भुमरीमा जाँदैछन् भन्ने कुरा समयमै थाहा हुँदैन । यसले गर्दा उनीहरू गलत संगत र कुलतमा फस्ने जोखिम बढेको छ ।’

साइबर अपराधको पीडित र पीडक दुवैमा युवा पुस्ता, विशेषगरी किशोरकिशोरीहरूको संख्या अधिक छ । विशेषगरी १४ वर्षदेखि २६ वर्षसम्मको उमेर समूह यसमा बढी संलग्न देखिन्छ । यो उमेर समूह प्रविधिसँग नजिक भए पनि त्यसका खतराहरूबारे अनभिज्ञ हुँदा सजिलै सिकार बन्ने गरेको छ । उनीहरू साथीभाइको देखासिकी, प्रेम सम्बन्धमा आउने उतारचढाव र बदलाको भावनाका कारण अन्जानमै अपराध कर्ममा जोडिन पुग्छन् ।

साइबर अपराधले अनलाइन संसारलाई मात्रै प्रभाव गरेको छैन, यसको असर समाज र परिवारसम्मै पुगेको छ । ‘यो अपराधले पूरै समाजलाई जकडेको छ । लागुऔषध दुर्व्यसनीदेखि लिएर उमेर नपुग्दै भागेर बिहे गर्ने घटनासम्मको जड यही सामाजिक सञ्जाल बनिरहेको छ,’ प्रहरी निरीक्षक विष्टले भने ।

नक्कली प्रेम सम्बन्धमा फसेर आर्थिक र यौनिक शोषणमा पर्ने, व्यक्तिगत तस्बिर र भिडियो सार्वजनिक गरिदिने धम्की दिएर ब्ल्याकमेल गर्ने र सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने जस्ता घटनाले कैयौँको जीवन तहसनहस बनाएको छ । यसले पीडितमा गहिरो मानसिक असर पार्ने, डिप्रेसनमा लैजाने र कतिपय अवस्थामा आत्महत्याजस्तो अप्रिय घटना निम्त्याउनेसम्म गरेको छ । यो एक किसिमको एडिक्सन जस्तै भइसकेको र युवाहरू आफ्नो पढाइ र भविष्यप्रति उदासीन भएर यही भर्चुअल संसारमा डुबिरहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उजुरीको संख्या अत्यधिक भए पनि मुद्दा दर्ता कम हुनुका पछाडि सामाजिक र प्रक्रियागत कारणहरू छन् । ‘कतिपय अवस्थामा दुवै पक्षलाई राखेर छलफल गराउँदा गल्ती गर्ने पक्षले आफ्नो गल्ती स्विकारेपछि मिलापत्रमा टुङ्गिन्छ,’ विष्टले भने ।

प्रहरीका अनुसार अनुसन्धान प्रक्रिया आफैँमा चुनौतीपूर्ण छ । फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालका मुख्य कार्यालय नेपालमा नहुँदा अपराधीको पहिचानका लागि आवश्यक पर्ने प्राविधिक विवरण र डाटाहरू प्राप्त गर्न महिनौँ लाग्छ, जसकारण अनुसन्धानलाई फितलो बनाएको छ ।

साइबर अपराधको यो बढ्दो चुनौतीलाई रोक्न प्रहरी एक्लैको प्रयास पर्याप्त छैन । यद्यपि, नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत विद्यालय र समुदायस्तरमा सचेतना अभियान चलाइरहेको छ । दिगो समाधानका लागि बहुपक्षीय सहकार्य अपरिहार्य रहेको प्रहरीको भनाइ छ ।

‘यसलाई निर्मूल गर्न परिवारको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ, प्रहरी निरीक्षक विष्टले भने, ‘अभिभावकहरूले आफ्ना छोराछोरीको अनलाइन गतिविधिमा निगरानी बढाउने र उनीहरूसँग खुला संवाद गर्ने हो भने धेरै हदसम्म समस्या समाधान हुन्छ ।’

यसका साथै, विद्यालयको पाठ्यक्रममा साइबर सुरक्षालाई अनिवार्य विषयका रूपमा समावेश गर्ने र सामाजिक संघसंस्थाहरूले पनि सचेतना अभियानमा हातेमालो गर्नु आजको आवश्यकता रहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप