शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चितवनमा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा

आइतबार, २८ मङ्सिर २०८२, १३ : ४४
आइतबार, २८ मङ्सिर २०८२

सारांश

  • चितवन जिल्लाका अस्पतालमा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण घट्दै गएको छ।
  • गत वर्षको मङ्सिरको तुलनामा यो वर्ष डेंगु सङ्क्रमण निकै कम देखिएको छ।
  • जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म १७४ जनामा डेंगुको सङ्क्रमण देखिएको छ।

चितवन । जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा रहेको छ । गत वर्षको तुलनामा मङ्सिरमा दुवै रोगको सङ्क्रमण घटेको पाइएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा मङ्सिरमा ११३ जनामा डेंङ्गी देखिएकामा यस वर्ष १२ जनामा यो रोगको सङ्क्रमण भेटिएको छ । कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार यस आवमा पाँच हजार ९२३ जनाको नमुना परीक्षण गरिएकामा अहिलेसम्म १७४ जनामा डेंगुको सङ्क्रमण देखिएको हो ।

गत आवकोे मङ्सिरसम्ममा एक हजार ४६३ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । गत आवभर १७ हजार ३५३ जनाको परीक्षण गर्दा एक जनाको मृत्यु भएको थियो ।

जिल्लामा गत वर्ष साउनमा १६०, भदौमा ३४९, असोजमा ४८७, कात्तिकमा ३३४ र मङ्सिरमा ११३ जनामा डेंगुको सङ्क्रमण देखिएको उनले जानकारी दिए । उनका अनुसार यसवर्ष साउनमा ४२ जना, भदौमा ४४ जना, असोजमा २९ जना, कात्तिकमा ४७ जना र मङ्सिरमा १२ जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।

गत वर्षको तुलनामा यो वर्ष चितवनमा डेंगुको सङ्क्रमण कम पाइएको उनले बताए । उनले भने, “पुस लागेसँगै यो रोगको सङ्क्रमण घट्दै जान्छ ।”

यो रोग बढीमात्रामा सहरी क्षेत्रमा देखिएको उनले जानकारी दिए । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । डेंगु प्रजाति कुन हो र कसरी यसको विकास भएको छ भन्ने अध्ययन गर्न आवश्यक रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप