शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सडकको आगो अब मतपेटिकाको प्रकाश बनोस्

सोमबार, २९ मङ्सिर २०८२, ११ : ३९
सोमबार, २९ मङ्सिर २०८२

सारांश

  • प्रतिनिधि सभा विघटनपछि देश निर्वाचनतर्फ अघि बढेको छ, जसले नयाँ जनप्रतिनिधि चुन्ने अवसर दिनेछ।
  • निर्वाचन राजनीतिक अस्थिरता अन्त्य गर्दै 'जेनजी' पुस्ताको आवाज संस्थागत गर्ने अवसर हो, जसले जनतालाई सार्वभौम बनाउँछ।
  • राम्रो उम्मेदवार छनोटका लागि इमानदारिता, शिक्षा, कार्यसम्पादन र जवाफदेहिता जस्ता मापदण्ड आवश्यक छन्।

नेपालको राजनीति एकपटक फेरी निर्णायक मोड आइपुगेको छ । प्रतिनिधि सभा विघटनपछि देश नयाँ निर्वाचनको दिशामा अघि बढिरहेको छ । घोषित मितिमा निर्वाचन सम्पन्न भएको अवस्थामा ०८२ साल फागुन २१ गते हामी सबैले नयाँ जनप्रतिनिधि चुन्नेछौँ । 

यो निर्वाचन केवल नियमित प्रक्रिया वा कर्मकाण्ड मात्र होइन । राजनीतिक अस्थिरता, बेथिति, लुटतन्त्र र जबाफदेहिता अभावको संस्कृति अन्त्य गर्नका लागि सडकमा उत्रिएको ‘जेनजी’ पुस्ताको आवाजलाई संस्थागत गर्ने  ऐतिहासिक अवसर पनि हो ।

लोकतन्त्रमा जनता नै सार्वभौम हुन्छन् । उनीहरू नै निर्णायक हुन्छन् । आजको दिनमा सार्वभौमिकता प्रयोग गर्ने सबै भन्दा शक्तिशाली माध्यम निर्वाचन नै हो । पछिल्ला वर्षहरूमा सत्तारुढ राजनीतिक दल तथा तीनका नेताहरूको खिचातानीले देशको विकास र सुशासन ओझेलमा परेको कुरा हामी सबैले महसुस गरेका छौँ । 

व्यवस्था र सत्ता सञ्चालनको बेथितिलाई रोक्ने तरिका निर्वाचन हो । सतर्कता लोकतन्त्रको आधारभूत मूल्य  हो । त्यसको अभावमा लोकतन्त्र प्रभावकारी हुँदैन । एउटा जीवन्त लोकतन्त्रका लागी जनताले एकपटक मत दिए पछि पाँच वर्ष चुपचाप बस्नु हुँदैन ।

हालको विशिष्ट अवस्थामा आगामी फागुन २१ हुने निर्वाचनमा हाम्रो भोटले निर्वाचन क्षेत्रको मात्र नभएर सिङ्गो देशको भविष्यको रेखा कोर्नेछ । हाम्रो भोटले छान्ने प्रतिनिधिले तपाईंको आवाजलाई संघीय संसद्सम्म पुर्‍याउन सक्छ । यदि हामीले लोभ लालच, क्षणिक फाइदा वा भावनात्मक बहकाउमा परेर मत दियौँ भने पुनः आगामी पाँच वर्षसम्म पछुताउनुपर्ने अवस्था आउन सक्छ । 

त्यसैले विशेषगरी यसपटकको निर्वाचनमा प्रत्येक मतदाताले आफ्नो विवेकको प्रयोग गरी मतदान गर्नु अपरिहार्य छ ।

  • सही उम्मेदवार छनोटको आधार

राम्रो उम्मेदवार छनोटले लोकतन्त्रको जग बलियो बनाउँछ । यसका लागि उम्मेदवारहरूलाई उनीहरूको पार्टीको झण्डा वा नाराको आधारमा मात्र मूल्याङ्कन गरेर हुँदैन । विविध प्रश्नहरूको आधारमा उम्मेदवारको छनोट गर्नु उपयुक्त हुनसक्छ । 

पहिलो मापदण्ड हो इमानदारिता र नैतिकवान् । उम्मेदवारको सार्वजनिक छवि स्वच्छ छ कि छैन ? उनी भ्रष्टाचार वा अनियमिततामा संलग्न त छैनन् ? यो प्रश्नले नैतिकवान् र इमानदार एवम् असल प्रतिनिधि चिन्न सघाउँछ । 

दोस्रो आधार हो शिक्षा र दृष्टिकोण । उम्मेदवारसँग देशका समस्याहरू समाधान गर्ने दीर्घकालीन सोच छ वा छैन ? स्थानीय र राष्ट्रिय मुद्दाहरूमा गहिरो जानकार छन् कि छैनन् ? यी प्रश्नले सक्षम उम्मेदवार छान्न सघाउँछ ।

अर्को कसी कार्यसम्पादनको इतिहास हो । हाम्रा सामु भोट माग्न आइपुग्ने उम्मेदवार पहिले पनि कुनै सार्वजनिक पदमा थिए वा थिएनन् ? थिए भने उनको कामको नतिजा कस्तो थियो ? के उनले जनतासँग गरेका वाचा पूरा गरेका थिए ?  यसले उनीहरूको सामाजिक सक्रियता र समर्पणबारे थाहा दिन्छ । 

त्यस्तै अर्को महत्त्वपूर्ण परीक्षा हो जबाफदेहिता । के उम्मेदवारले आफूलाई जनताप्रति पूर्ण रूपमा जबाफदेही राख्न तयार छ ? ‘एकपटक चुनाव जितेपछि पाँच वर्षसम्म शासक’ बन्ने पुरातन सोच त्यागेर सार्वजनिक नीति र कामकारबाहीमा निरन्तर पारदर्शिता कायम गर्ने वाचा गरेका छन् कि छैनन् ? र, अर्को हो विकासका कामप्रतिको प्राथमिकता । के उम्मेदवारले सडक, पानी, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्छन् वा केवल ठुला, प्रचारमुखी योजनाको कुरा गर्छन् ?

  • सडकबाट मतपेटिकासम्मको यात्रा

हालै देशमा देखिएको जेनजी आन्दोलन वा युवा विद्रोहले स्पष्ट सन्देश दिएको छ । नयाँ पुस्ता अब पुरानो राजनीतिक सिन्डिकेट र भ्रष्टाचार सहन तयार छैन । रोजगारी, सुशासन, सामाजिक न्याय, जलवायु परिवर्तनका मुद्दाहरू तथा देशमै गरिखाने वातावरणको माग गर्दै यो पुस्ता सडकमा उत्रियो । राजनीतिक परिवर्तनका लागि दबाब सिर्जना गर्‍यो । 

यस क्रममा ७६ जनाको बलिदान भएको छ । त्यसैले यस बलिदानलाई कदापि बिर्सन मिल्दैन । यो महान् बलिदान खेर नजाओस् भन्ने सुनिश्चित गर्नै पर्नेछ । त्यसका लागि विद्वान् विचारक प्रदीप गिरीले भनेझैँ यो आन्दोलनले ‘ताप दियो, राप दियो तर प्रकाश दिन सकेन’ भन्ने अवस्था नआओस् भनेर सजग हुन आवश्यक छ । 

सडकको यो विशाल आक्रोशलाई दिगो र संस्थागत सुधारका रूपमा बदल्न नसकेमा यो केवल क्षणिक उत्तेजनामा सीमित हुन सक्छ । विशेष गरी सामाजिक सञ्जाललाई ‘सिभिक स्पेस’ का रूपमा प्रयोग गर्दै यो पुस्ताले पारदर्शिता र डिजिटल जबाफदेहीताका लागि खबरदारी गरेको छ ।

फागुन २१ को निर्वाचन यो आन्दोलनलाई वैधानिक रूपमा अगाडि बढाउने मौका हो । जेनजी पुस्ताका नयाँ मतदाताहरूले मतपेटिकाको आन्दोलनमार्फत आफ्ना मागलाई संस्थागत गर्न सक्छन् । यसको अर्थ हो अब केवल विरोध गरेर मात्र हुँदैन, आफ्नो मतलाई परिवर्तनको हतियार बनाउनुपर्छ । 

सडकको ताप र रापलाई मतदानको विवेकमार्फत सुशासनको प्रकाशमा रूपान्तरण गर्ने दायित्व युवाहरूमै छ । युवाहरूले यो निर्वाचनलाई पुरानो नेतृत्वलाई बिदा गर्ने र नयाँ, सक्षम, दूरदर्शी नेतृत्वलाई स्वागत गर्ने अवसरका रूपमा लिनुपर्छ । आगामी प्रतिनिधि सभा निर्वाचनले हाम्रा सामु मुलुकको भविष्यको दिशा तय गर्ने अधिकार दिएको छ । 

हामीले यसलाई सामान्य निर्वाचनका रूपमा मात्र नहेरी राष्ट्र निर्माणको महत्त्वपूर्ण दायित्वका रूपमा लिनुपर्छ । तपाईंको विवेकपूर्ण एक भोटले अस्थिरताको चक्रलाई तोडेर सुशासन, स्थिरता र समृद्धिको नयाँ युग सुरु गर्न सक्छ ।

पुनश्च याद गर्नुहोस्, फागुन २१ मा तपाईंले पार्टीलाई होइन तपाईंको भविष्यको प्रतिनिधित्व गर्ने इमानदार, दूरदर्शी र सक्षम व्यक्तिलाई भोट दिनुहुनेछ । उठौँ, सोचौँ, र विवेकपूर्ण मतदान गरौँ । यसैमा देशको भलो छ । अँध्यारोमा फस्न खोजेको मुलुक र राजनीति दुवैले लय पकड्ने आधार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जित प्रकाश वड
रञ्जित प्रकाश वड
लेखकबाट थप