एमाले महाधिवेशनः लेखराज भट्टलाई सचिवमा नदोहोरिन दबाब
धनगढी । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा नेतृत्व चयनको विषय पेचिलो बन्दै गएको छ । विशेषगरी पूर्वमाओवादी खेमाबाट एमालेमा समाहित भएको समूहले सचिव लेखराज भट्टलाई पुरानै पदमा नदोहोरिन चर्को दबाब दिएको छ ।
स्रोतका अनुसार सो समूहका ४२ जना केन्द्रीय सदस्यको विशेष बैठकले भट्टलाई आगामी कार्यकालका लागि साविकको पदबाट माथिल्लो तह वा उपाध्यक्षमा दाबी गर्नुपर्ने निष्कर्ष निकालेको छ । उनीहरूले भट्टलाई सचिव पदमै चित्त नबुझाउन दबाब बढाएका हुन् । स्रोतका अनुसार, ४२ जना केन्द्रीय सदस्यले भट्टलाई सचिवभन्दा माथिल्लो पदमा प्रतिस्पर्धा गर्न सुझाएका हुन् ।
यद्यपि अध्यक्ष केपी शर्मा ओलीको टिममा भट्टलाई सचिव पदकै उम्मेदवारका रूपमा राखिएको छ । भट्टले सचिवमै दोहो¥याउन खोजिएकोमा असहमति जनाइसकेका छन् ।
पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूले पार्टीभित्र आफ्नो समूहका अन्य सहकर्मीहरूको पनि उचित व्यवस्थापनको विषय प्राथमिकताका साथ उठाउन भट्टलाई आग्रह गरेका छन् । महाधिवेशनमा यो समूहले आफूलाई ‘निर्णायक शक्ति’का रूपमा उभ्याएको छ । यो समूहमा ४२ केन्द्रीय सदस्य र उनीहरूको प्रभावमा रहेका करिब ३५० मतदाता (महाधिवेशन प्रतिनिधि) निर्वाचनको नतिजा उलटफेर गर्न सक्षम रहेको दाबी गरिएको छ ।
‘हामीसँग ४२ जना केन्द्रीय सदस्य र करिब साढे तीन सय मतदाता छन् । यो संख्या महाधिवेशनमा निर्णायक हो,’ छलफलमा सहभागी एक नेताले भने, ‘त्यसैले लेखराज कमरेडले अब सचिवमा होइन, उपाध्यक्षमा उम्मेदवारी दिनुपर्छ भन्ने हाम्रो स्पष्ट सुझाव छ ।’
उक्त समूहभित्र १–२ जना बाहेक अधिकांश सदस्य भट्टले माथिल्लो पदका लागि नै लड्नुपर्ने पक्षमा छन् । उनीहरूले भट्टलाई आफ्नो समूहको भावना अनुसार अघि बढ्न र पार्टी नेतृत्वसँग सोही अनुसारको पहल गर्न म्यान्डेट दिएका छन् ।
महाधिवेशनको बन्दसत्र चलिरहँदा आएको यो आन्तरिक दबाबले लेखराज भट्टलाई ‘निर्णायक मोड’मा उभ्याएको छ । अब उनले समूहको भावना अनुसार उपाध्यक्षमा उम्मेदवारी दिन्छन् वा सर्वसम्मतिको नाममा पुरानै पदमा रहन्छन्, त्यो भने हेर्न बाँकी छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण