बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राष्ट्रिय खेलाडीहरूको क्षमता

एनपीएल : कस्तो रह्यो यी १६ राष्ट्रिय खेलाडीको प्रदर्शन ?

मङ्गलबार, ०१ पुस २०८२, १८ : ००
मङ्गलबार, ०१ पुस २०८२

सारांश

  • रोहित कुमार पौडेलले सर्वाधिक रन बनाउँदै प्लेयर अफ द सिरिजको उपाधि जिते, लुम्बिनीले फाइनलमा सुदूरपश्चिमलाई हरायो।
  • सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडी बने, विराटनगर किंग्स प्लेअफमा पुग्यो।
  • दीपेन्द्र सिंह ऐरी ब्याटिङ, बलिङ र फिल्डिङमा जमे, कुशल भुर्तेलको प्रदर्शनमा सुधार भएन।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा २७९ रन बनाउँदै लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेल प्रतियोगिताकै सर्वाधिक रन बनाउने नेपाली खेलाडी बनेका थिए । संयोगवश, यो सिजन पनि उक्त कीर्तिमान रोहितकै नाममा कायम रह्यो ।

यो सिजन रोहितले २७६ रन बनाउँदै सर्वाधिक रन बनाउने नेपाली खेलाडीको परिचय कायमै राखे । साथै बलिङतर्फ पनि १० विकेट लिँदै उनी प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी (प्लेयर अफ द सिरिज) बन्न सफल भए र कार जिते ।

रोहितसँगै सुदूरपश्चिम रोयल्सका विकेटकिपर ब्याटर विनोद भण्डारी २६४ रन बनाउँदै सर्वाधिक रन बनाउने सूचीमा समग्रमा तेस्रो र नेपाली खेलाडीमध्ये दोस्रो स्थानमा रहे । राष्ट्रिय टोलीबाट लामो समय बाहिर रहेका विनोद र वर्तमान कप्तान रोहितबाहेक यो सिजन अन्य नेपाली ब्याटरहरूमा सोचेअनुरूपको लय देखिएन ।

राष्ट्रिय टोलीबाट हालसम्म डेब्यु नगरेका बसिर अहमदले यो सिजन तल्लो क्रममा ब्याटिङ गर्दै राम्रो लय देखाए । उनले ९ खेलमा १९१ रन बनाए । त्यस्तै एकदिवसीय क्रिकेटमा आफ्नो क्षमता प्रमाणित गरिसकेका आरिफ शेख पनि सर्वाधिक रन बनाउने नेपाली खेलाडीको शीर्ष पाँचमा पर्न सफल भए । उनले ९ खेलमा १८६ रन बनाए । यीबाहेक अन्य नेपाली ब्याटरले यो सिजन सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ पनि राष्ट्रिय टोलीका नियमित सदस्यहरूले सोचेअनुरूप प्रदर्शन गर्न सकेनन् । विश्वकप नजिकिँदै गर्दा टोलीका मुख्य बलर सोमपाल कामी र ललित नारायण राजवंशीको प्रदर्शन फिका रह्यो । अघिल्लो सिजन १७ विकेट लिँदै उत्कृष्ट बलर बनेका ललितले यो सिजन ५ खेलमा मात्र ४ विकेट लिए । यद्यपि नेपाली टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेले भने उत्कृष्ट प्रदर्शन गर्दै १७ विकेट लिन सफल भए । उनी प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहे ।

राष्ट्रिय टोलीको ढोका ढकढक्याइरहेका शेर मल्लले १७ विकेट लिँदै आफूलाई अब्बल सावित गरे । त्यस्तै लामो समयदेखि राष्ट्रिय टोलीबाहिर रहेका अविनाश बोहराले पनि १७ विकेट लिँदै उत्कृष्ट पुनरागमनको संकेत गरे । नेपाली टोलीका अर्का प्रमुख बलर करण केसीले १३ विकेट लिए पनि सिजनको उत्कृष्ट बलरको सूचीमा आफूलाई उभ्याउन सकेनन् ।

नेपाली टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–ट्वान्टी विश्वकपमा सहभागिता जनाउँदै छ । त्यसैले एनपीएलमा नेपाली खेलाडीको प्रदर्शनलाई अर्थपूर्ण रूपमा हेरिएको थियो । अन्तिम पटक विश्वकप छनोट खेल्दाको टोलीका सदस्यहरूले एनपीएलमा औसत प्रदर्शन गर्नु नेपाली क्रिकेटका लागि चिन्ताको विषय बन्न सक्छ ।

राष्ट्रिय टिमका खेलाडीहरूको व्यक्तिगत प्रदर्शन

रोहित कुमार पौडेल

पहिलो सिजनजस्तै दोस्रो सिजनमा पनि रोहित सर्वाधिक रन बनाउने नेपाली खेलाडी बने । अघिल्लो सिजन व्यक्तिगत प्रदर्शन राम्रो भए पनि उनको टिम पुछारमा थियो । तर यो सिजन उनी सर्वाधिक रनसँगै १० विकेट लिँदै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने ।

उत्कृष्ट पुनरागमन गर्दै प्लेअफमा पुगेको लुम्बिनीले फाइनलमा सुदूरपश्चिमलाई हराउँदै उपाधि जित्यो । रोहितले १० खेलमा १७६ रन बनाउनुका साथै १० विकेट लिए । फाइनलमा उनले ह्याट्रिक विकेट लिँदै टिमलाई उपाधि जिताउन निर्णायक भूमिका खेले ।

दीपेन्द्र सिंह ऐरी

एनपीएलको अघिल्लो सिजनका उत्कृष्ट खेलाडी दीपेन्द्रका लागि यो सिजन पनि सुखद रह्यो । लगातार दुई पटक टिमलाई फाइनल पुर्‍याएका दीपेन्द्रले यसपटक पनि उपाधि भने दिलाउन सकेनन् । उनी ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा शानदार देखिए । उनले ९ खेलमा १६२ रन बनाउँदा ९ विकेट पनि लिए । साथै ११ क्याच र २ डाइरेक्ट हिट रनआउट गरेर फिल्डिङमा आफ्नो प्रभाव जमाए ।

सन्दीप लामिछाने

राष्ट्रिय टोलीका मुख्य बलर सन्दीप लामिछानेका लागि एनपीएलको यो सिजन उपलब्धिमूलक रह्यो । उनको कप्तानीमा विराटनगर किंग्सले पहिलो पटक प्लेअफमा स्थान बनायो । सन्दीपले ९ खेलमा १७ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी बन्दै मोटरसाइकल जिते । लुम्बिनीका शेर मल्ल र सुदूरपश्चिमका अविनाश बोहोराको पनि समान १७ विकेट भए पनि इकोनोमीका आधारमा सन्दीप शीर्ष स्थानमा रहे ।

कुशल भुर्तेल

पोखरा एभेन्जर्स र कुशल भुर्तेलका लागि यो सिजन सुखद हुन सकेन । टिम पाँचौं स्थानमा रहँदा कुशलले आफ्नो प्रदर्शनमा सुधार गर्न सकेनन् । उनले ७ खेलमा २ अर्धशतकसहित १५६ रन बनाए । सुरुवाती दुई खेलमा राम्रो लयमा देखिएका उनी त्यसपछिका २ खेलमा ‘डक आउट’ भए । बलिङमा भने उनले ५ विकेट लिए ।

आसिफ शेख

अघिल्लो सिजन कप्तानी गर्दै जनकपुर बोल्ट्सलाई उपाधि दिलाएका आसिफ शेखले यो सिजन राम्रो प्रदर्शन गर्न सकेनन् । जनकपुरले यो सिजन एक मात्र जित निकाल्यो । पहिलो खेलमा अर्धशतक बनाएका आसिफले ७ खेलमा जम्मा १०५ रन बनाए । प्रतियोगितामा उनी ३ खेलमा शून्यमा आउट भएका थिए ।

कुशल मल्ल

अघिल्लो सिजन चितवन राइनोजलाई प्लेअफमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका कुशल मल्लले यसपटक सोचेअनुसार प्रदर्शन गर्न सकेनन् । उनले ७ खेलमा १३५ रन बनाए भने बलिङमा १ विकेट मात्र लिन सके ।

सन्दीप जोरा

लुम्बिनी लायन्सले ठूलो अपेक्षासहित रिटेन गरेका सन्दीप जोराको प्रदर्शन निराशाजनक रह्यो । लुम्बिनीले उपाधि जित्दा पनि जोराको ब्याट चलेन । सुरुवाती तीन खेलमा ओपनरको भूमिका पाएका उनले १० खेलमा जम्मा ११५ रन बनाए । यो सिजन उनको उच्च स्कोर २८ रन मात्र रह्यो ।

लोकेश बम

विराटनगर किंग्सबाट पहिलो खेलमा ७२ रनको अर्धशतकीय पारी खेल्दै लोकेश बमले ठुलो सम्भावना देखाएका थिए । तर त्यसबाहेकका खेलमा उनी चल्न सकेनन् । मार्टिन गप्टिल, फाफ डु प्लेसिसजस्ता स्टार खेलाडीसँग खेल्ने मौका पाएका उनले ९ खेलमा १७० रन बनाए ।

आदिल आलम

अक्सनमा १५ लाखको अधिकतम बोली लागेर लक्की ड्रमार्फत काठमाडौँ गोर्खाजमा अनुबन्ध भएका आदिल आलम यो सिजन चर्चामा थिए । तर हार्ड हिटरका रूपमा चिनिएका उनले ८ खेलमा ९३ रन मात्र बनाउन सके ।

सोमपाल कामी

नेपाली राष्ट्रिय टोलीका भरपर्दा बलर सोमपाल कामीको प्रदर्शन कर्णाली याक्सका लागि औसत रह्यो । यो सिजन कर्णाली लिग चरणबाट बाहिरिने पहिलो टोली बन्यो । सोमपालले ७ खेलमा ९ विकेट लिए भने ब्याटिङबाट ५१ रन बनाए ।

करण केसी

नेपाली टोलीका अर्का बलिङ अलराउन्डर करण केसीको कप्तानीमा काठमान्डु गोर्खाजले प्लेअफसम्मको यात्रा तय गर्‍यो । करणले ८ खेलमा १३ विकेट लिए, जुन टोलीका लागि सर्वाधिक थियो । ब्याटिङमा भने उनले ४९ रन मात्र योगदान गर्न सके ।

शाहब आलम

काठमान्डु गोर्खाजलाई प्लेअफमा पुर्‍याउन शाहब आलमले महत्त्वपूर्ण भूमिका खेले । उनले टोलीका लागि सर्वाधिक १३ विकेट लिए । पोखरा एभेन्जर्सविरुद्धको खेलमा कीर्तिमानी ह्याट्रिकसहित ६ विकेट लिएर उनी एनपीएलको एकै खेलमा ६ विकेट लिने दुर्लभ कीर्तिमान बनाउन सफल भए ।

ललित राजवंशी

गत संस्करणमा १७ विकेट लिएर उत्कृष्ट बलर बनेका ललित राजवंशी यो सिजन चल्न सकेनन् । जनकपुरको खराब प्रदर्शनसँगै ललितले ५ खेलमा ४ विकेट मात्र लिन सके ।

गुल्सन झा

हार्ड हिटर तथा फिनिसर गुल्सन झाले कर्णाली याक्सको खराब नतिजाका बाबजुद सन्तोषजनक प्रदर्शन गरे । उनले ७ खेलमा ११० रन बनाए भने बलिङतर्फ ३ विकेट लिए ।

आरिफ शेख

सुदूरपश्चिम रोयल्सका आरिफ शेखका लागि एनपीएलको यो संस्करण फलदायी रह्यो । टिम फाइनलमा पुग्दा उनले ९ खेलमा १८६ रन बनाए । मध्यक्रमका ब्याटर आरिफ सर्वाधिक रन बनाउने नेपाली खेलाडीको सूचीमा तेस्रो नम्बरमा परे ।

नन्दन यादव

युवा बलर नन्दन यादवका लागि यो सिजन सुखद रहेन । कर्णाली याक्सबाट खेल्दै उनले ७ खेलमा १० विकेट लिए पनि टोलीको नतिजामा खासै प्रभाव पार्न सकेनन् ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप