मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बोन्डाई बिच सामूहिक गोलीकाण्डका संदिग्ध भारतीय मूलका, पारिवारिक सम्बन्ध न्यून

मङ्गलबार, ०१ पुस २०८२, २१ : ४९
मङ्गलबार, ०१ पुस २०८२

काठमाडाैँ । सिड्नीको बोन्डाई बिचमा भएको सामूहिक गोलीकाण्डका दुई संदिग्धमध्ये एक दक्षिण भारतका थिए तर उनको त्यहाँको परिवारसँग ‘सीमित सम्पर्क’ रहेको प्रहरी स्रोतले बताएको छ।

प्रहरीका अनुसार आइतबार सिड्नीमा घटनास्थलमै मारिएका ५० वर्षीय साजिद अक्रमको घर सुरुमा भारतको हैदरावाद सहरमा थियो। भारतको तेलङ्गना राज्यका एक प्रहरी अधिकारीका अनुसार सन् १९९८ मा अस्ट्रेलिया बसाइँ सरेपछि उनले केवल ६ पटक मात्रै भारतको यात्रा गरेका थिए र उनको परिवारलाई उनको कट्टरपन्थी सोच वा गतिविधिबारे कुनै जानकारी थिएन।

साजिद र उनका २४ वर्षीय छोरा नाविदले आइतबार यहुदी पर्व हनुक्का मनाइरहेको कार्यक्रममा १५ जनाको हत्या गरेको र दर्जनौँलाई घाइते बनाएका थिए। साजिद अक्रमको परिवार रहेको हैदरावाद दक्षिण भारतको तेलङ्गना राज्यको राजधानी हो।

तेलङ्गनाका प्रहरी अधिकारीले बीबीसी तेलुगुलाई भने अनुसार साजिद अक्रमले अस्ट्रेलिया बसाइँ सरेपछि ६ पटक भारत भ्रमणमा आएका थिए, मुख्यतया सम्पत्ति सम्बन्धी मामिला र बुढा आमाबाबुलाई भेट्ने जस्ता पारिवारिक कारणहरूले गर्दा।

अधिकारीले थपे, ‘उनको बुबाको मृत्यु हुँदा समेत उनी भारत आएका थिएनन्।’ अधिकारीले साजिद अक्रम र उनका छोरा नाविदको कट्टरपन्थीकरण निम्त्याउने कारकहरू भारत वा तेलङ्गनाको कुनै स्थानीय प्रभावसँग जोडिएको नदेखिने जिकिर गरे।

अधिकारीका अनुसार साजिद अक्रमको भारतमा कुनै आपराधिक रेकर्ड थिएन। उनले डिग्री पूरा गरेका थिए र रोजगारीको खोजीमा अस्ट्रेलिया गएर युरोपेली मूलकी महिला सँग विवाह गरेका थिए। साजिद अक्रम भारतीय पासपोर्ट धारक थिए, तर उनका सन्तान अस्ट्रेलियामा जन्मेका र अस्ट्रेलियाली नागरिक थिए।

प्रहरीले बाबु–छोरा आक्रमणको केही हप्ताअघि फिलिपिन्स किन गएका थिए भन्नेबारे अनुसन्धान गरिरहेको छ। फिलिपिन्सको अध्यागमन ब्युरोले उनीहरू नोभेम्बर १ मा पुगेर नोभेम्बर २८ मा फर्किएको पुष्टि गरेको छ।

अधिकारीहरूका अनुसार साजिदले भारतीय पासपोर्ट प्रयोग गरेका थिए भने उनका छोराले अस्ट्रेलियाली परिचयपत्र प्रयोग गरेका थिए। एबीसीले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै उनीहरू ‘सैन्य शैलीको तालिम’ लिन फिलिपिन्स गएको बताएको छ, तर अधिकारीहरूले ती रिपोर्टहरूको पुष्टि गर्न सकेका छैनन्।

फिलिपिन्सकी विदेश मामिला मन्त्री मारिया टेरेसा लाजारो र उनकी अस्ट्रेलियाली समकक्षी पेनी वङले बोन्डाई बिच गोलीकाण्डको अनुसन्धानसँग सम्बन्धित कुनै पनि विकासबारे ‘एक–अर्कालाई नजिकबाट जानकारी दिइरहने’ सहमति गरेका छन्।

एबीसीका अनुसार नाविद अक्रममाथि पहिले सिड्नीस्थित एक आईएस आतङ्कवादी सेलसँगको सम्बन्धका लागि अनुसन्धान गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप