खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी
सारांश
- चुरेफेदको मेनहर्वा बस्तीका बासिन्दा लामो समयदेखि खानेपानीको समस्यामा छन्।
- बस्तीमा डिप बोरिङ सुकेपछि स्थानीयले घण्टौँ टाढाबाट पानी बोक्न बाध्य छन्।
- विज्ञहरूले खानेपानी समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउनुपर्ने बताएका छन्।
सिरहा । लहान नगरपालिका–१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि खानेपानीको सङ्कट झेल्दै आएका छन् । चुरेफेदको विकट क्षेत्र मानिने यस बस्तीमा भूमिगत पानीका स्रोत सुक्दै जाँदा स्थानीयलाई दैनिक जीवनयापनमै कठिनाइ भइरहेको छ ।
करिब ३५ दलित घरपरिवार रहेको यस बस्तीका बासिन्दा वार्षिक झण्डै छ महिना टाढाटाढाबाट घण्टौँ लगाएर पानी बोक्न बाध्य छन् । स्थानीयका अनुसार बस्तीको खानेपानी समस्यालाई मध्यनजर गर्दै गाडिएको डिप बोरिङबाट करिब चार वर्षसम्म पानी आएको थियो । तर अघिल्लो वर्षदेखि उक्त बोरिङ पूर्ण रूपमा सुकिसकेको छ ।
बस्तीका मोहन सदायले डिप बोरिङ सुक्दा आफूहरूको जीवन नै अस्तव्यस्त भएको बताए । उनले भने, “अघिल्लो वर्षदेखि डिप बोरिङबाट पानी आउन छोड्यो । अहिले घण्टौँ लगाएर बानो गाउँको खोलामा खनिएको कुवाबाट पानी बोकेर खानुपरेको छ । मानिस र वस्तुभाउ दुवैले त्यही पानी प्रयोग गर्दै आएका छौँ ।”
विनिता सदायले विगत चार–पाँच वर्षदेखि चापाकलसमेत सुक्दा खानेपानीको समस्या झनै जटिल बन्दै गएको गुनासो गरिन् । “पानी नभएकै कारण सरसफाइमा पनि समस्या छ । नुहाउन, कपडा धुन र खान सबैका लागि एउटै कुवाको पानी प्रयोग गर्नुपरेको छ,” उनले भनिन् ।
आर्थिक रूपमा कमजोर र सुकुम्वासीले भरिएको यस दलित बस्तीमा आव २०७९/८० मा ‘विपन्न परिवारका लागि सुरक्षित आवास कार्यक्रम’ अन्तर्गत घर निर्माण गरिएको थियो । लहान नगरपालिकाबाट रु ४५ लाख ५१ हजार र हिल्टी फाउण्डेसनको सहयोगमा ‘ह्याबिट्याट फर ह्युमानिटी’ नेपालमार्फत रु ४४ लाखको लागतमा २२ वटा जस्तापाताका घर निर्माण गरिएका थिए ।
“घर त बन्यो, तर खानेपानीको व्यवस्था भएन”, ७० वर्षीया जलेश्वरी सदायले दुःखेसो पोखिन् । वडाध्यक्ष तेजनारायण चौधरीले मेनहर्वावासीको खानेपानी समस्या समाधानका लागि नगरपालिकामा पहल भइरहेको जानकारी दिए । जलवायु परिवर्तनको असरका कारण चुरे क्षेत्रका कुँवा, इनार र खोलाहरू सुक्दै गएकाले यो समस्या स्थानीय तह मात्र नभएर राष्ट्रिय चुनौती बन्दै गएको उनको भनाइ छ ।
पछिल्लो समय चुरे क्षेत्रमा पानीको सतह गहिरिँदै जाँदा ठुला डिप बोरिङसमेत असफल भइरहेकाले यसको विकल्पबारे योजना बनाउनुपर्ने विज्ञहरू बताउँछन् ।
वातावरणविद् दिनेश यादव भन्छन्, “डिप बोरिङ खानेपानी समस्याको दीर्घकालीन समाधान होइन भन्ने कुरा विभिन्न ठाउँका अभ्यासले प्रमाणित गरिसकेको छ । त्यसैले चुरे संरक्षणसँगै वन व्यवस्थापन, जलाधार संरक्षण र नदी कटान नियन्त्रणका लागि तीनै तहका सरकारले एकीकृत योजना बनाएर कार्यान्वयन गर्नुको विकल्प छैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण