खच्चडको भरमा छन् सुदूरपश्चिमका गाउँ
सारांश
- दार्चुलाको अपि हिमाल गाउँपालिकामा सडकको अभावले गर्दा स्थानीयहरूले दैनिक उपभोग्य वस्तु र बिरामी ओसारपसारमा समस्या भोग्नुपरेको छ।
- खच्चड चालकहरूले दैनिक उपभोग्य वस्तु ओसारपसार गरेर जीवन चलाइरहेका छन्, तर उनीहरूले उचित भाडा नपाएको गुनासो गरेका छन्।
- स्थानीय सरकारले सडक निर्माणको प्रयास गरिरहेको छ, तर बजेट अभावका कारण काम ढिलो भइरहेको छ र पर्यटन क्षेत्र ओझेलमा परेको छ।
धनगढी । दार्चुलाको अपि हिमाल गाउँपालिकाको फेदमा पर्ने मकरीगाड बजार पुग्दा यस्तो लाग्छ, यहाँबाट दुईवटा फरक दुनियाँ सुरु हुन्छन् । एउटा दुनियाँ– जहाँसम्म गाडीका पाङ्ग्रा गुड्छन्, हर्न बज्छन् र डिजेलको धुवाँ उड्छ । अर्को दुनियाँ– जहाँबाट माथि उकालो लाग्नका लागि खच्चडका टापहरूको आवाज र घाँटीमा झुण्ड्याइएका घण्टीहरूको टिङ–टिङ नै एक मात्र धुन हो ।
देशमा जतिसुकै परिवर्तन आए पनि सुदूरपश्चिमका बझाङ, बाजुरा र दार्चुलाका विकट गाउँहरूको अवस्था यही हो– सडक टुंगिएसँगै स्थानीयले आफ्नो पैतालाको सहारामा जीवन चलाउन पाइला अगाडि बढाउँछन् ।
नेताहरूले हरेक निर्वाचनमा घर–घरमा सडक पुर्याउने आश्वासन कति बाँडे । तर, ती बाचाहरू वर्षौँदेखि पूरा भएनन् । आज पनि अपि हिमालजस्ता गाउँपालिकाहरूमा नुन, सिटामोल, सिमेन्टजस्ता हरेक सामान कि त आफैँ पिठ्युँमा बोक्नुपरेको छ कि खच्चडकै पिठ्युँमा बोकाएर काम चलाउनुपरेको छ ।
दार्चुलाको अपि हिमाल गाउँपालिका सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । यहाँको मुख्य बजार मकरीगाडसम्म मात्रै गाडी पुग्छन् । मार्माको लटिनाथसँग जोडिएको यो बजारबाट माथि लाग्ने हो भने मान्छेको हुलभन्दा खच्चडका लस्करहरू बढी भेटिन्छन् ।
स्थानीय बिरुबहादुर लोथ्यालले खच्चड नभए यहाँका गाउँमा चुलो नबल्ने बताए । उनका अनुसार दैनिक उपभोग्य वस्तु (नुन, तेल, चामल) देखि लिएर औषधी उपचारका सामग्री र घर बनाउन चाहिने रड, सिमेन्टजस्ता निर्माण सामग्रीहरू पनि खच्चडले नै बोक्छन् ।

मकरीगाड बजारमा बोलेरो जिपको संख्या औँलामा गन्न सकिने हुन्छ, तर खच्चडको संख्या सयौँ गुणा बढी हुन्छ । बिहानैदेखि चाउचाउ चपाउँदै, लट्ठी टेक्दै खच्चड धपाइरहेका चालकहरूको दृश्य यहाँको सामान्य दैनिकी हो । अपि बेस क्याम्पसम्म सामान पुर्याउन यहाँका खच्चड र तिनका चालकहरूले बगाउने पसिनाको कुनै लेखाजोखा छैन ।
सात वर्षदेखि खच्चड धपाइरहेका लक्ष्मण धामीले जति दुःख आफूले गरेको हुन्छ, त्यो अनुसार फल भने नपाइएको बताए ।
‘विदेश गएर अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँठाउँमा खच्चड धपाएर जनताको सेवा गर्न पाउँदा उनलाई खुसी लाग्छ । यो खुसीसँगै पेट पाल्ने चिन्ता पनि जोडिएको छ,’ उनले बताए ।
उनका अनुसार उनले खच्चडमा मकरीगाडदेखि बेस क्याम्पभन्दा माथिसम्म सामान बोक्नुपर्छ ।

‘जति मेहनत गर्छौं, त्यति भाडा पाइँदैन । पालिकाले भाडा निर्धारण गरिदिएको छैन, बाहिर देख्दा रमाइलो देखिए पनि हाम्रो जिन्दगी धेरै दुःखको छ,’ उनले भने ।
उनका अनुसार अहिलेको महँगीमा खच्चड पाल्न निकै मुस्किल छ । ‘अहिले भाडा प्रतिकिलो ६ देखि ९ रुपैयाँ छ । एउटा खच्चडले दिनमा ३०० रुपैयाँभन्दा बढीको दाना खान्छ । खच्चडले धेरै खाए मेरो भागमा कम पर्छ, मैले खाए खच्चड भोकै हुन्छ,’ उनले भने ।
उनको माग छ– स्थानीय सरकारले खच्चड चालकहरूको मर्म बुझेर वैज्ञानिक भाडा दर तोकिदेओस् ।

‘हामीले खच्चड चलाउन बन्द गरिदियौँ भने गाउँका मान्छेको भात खान बन्द हुन्छ । घर बनाउँदा होस् वा याली पैदल मार्ग बनाउँदा, सबै सामान हामी नै बोक्छौँ । खच्चडबिना यहाँको जीवन चल्दैन,’ उनले भने ।
खच्चडवालाहरूको जस्तै गुनासो स्थानीयहरूको पनि छ । सबै काम खच्चडबाटै गर्दा भाडा महँगो भएर सामानको मूल्य चर्को हुँदा आफूहरू मारमा पर्ने गरेको बताउँछन् । सडक नहुँदा स्थानीयहरूलाई अर्को ठुलो समस्या छ । खच्चडले मालसामान त बोक्छन्, तर बिरामी बोक्न सक्दैनन् । सडक नहुनुको सबैभन्दा पीडादायी क्षण तब आउँछ, जब गाउँमा कोही गम्भीर बिरामी पर्छ ।
अपि हिमाल गाउँपालिका–४ की स्थानीय जानकी मन्यालका अनुसार यहाँ यातायातको असुविधाले गर्दा ज्यान जोगाउनै मुस्किल छ । ‘रासनपानी त खच्चडले ल्याउँछ, तर बिरामी पर्दा गाडी छैन,’ उनले भनिन्, ‘गम्भीर बिरामीलाई तुरुन्तै अस्पताल पुर्याउनुपरे हामीसँग डोको, स्ट्रेचर वा पिठ्युँको विकल्प छैन ।’
गाउँलेहरू मिलेर बिरामीलाई काठको दुईवटा डन्डीमा कपडा बाँधेर झुली बनाई बोक्छन् ।
‘त्यसरी बोकेर गाडी हुने ठाउँसम्म पुर्याउँदा पुर्याउँदै कतिको ज्यान बाटोमै गएको छ,’ जानकीले भनिन्, ‘चोटपटक लागेका र गर्भवती महिलालाई त झन् सास्ती हुन्छ । गाडी घरै अगाडि आइदिए कति सजिलो हुन्थ्यो होला !’

सडक नहुँदा स्थानीय उत्पादनले बजार पाउन सकेको छैन भने अथाह सम्भावना बोकेको पर्यटन क्षेत्र पनि ओझेलमा परेको छ । अपि हिमाल–४ का स्थानीय दिवांससिंह रोकाया उकालो–ओराली गर्दै दिन कटाउँछन् । ‘गाउँमा गाडी गुड्ने सडक आए स्वर्ग हुन्थ्यो । यहाँका मान्छेले धेरै हिँड्नुपर्छ, दुःख धेरै छ ।’
उनका अनुसार नेपालको विकास कछुवा गतिमा छ ।
‘हाम्रो ठाउँमा पर्यटक धेरै आउँछन् । अपि हिमाल बेस क्याम्प जाने बाटो यही हो । यदि सडक बन्यो भने यहाँको तरकारी, सागपात, दाल र जडीबुटी ठुला बजारसम्म लगेर बेच्न सजिलो हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले त बारीमा फलेको तरकारी बारीमै कुहिन्छ, बजार लैजान ढुवानी भाडा नै महँगो पर्छ ।’
स्थानीय सरकार पनि यो समस्याबाट बेखबर छैन । उनीहरूसँग पनि सीमित स्रोत र साधन छ । अपि हिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरेका अनुसार मकरीगाडबाट केही माथिसम्म सडक निर्माणको काम भइरहेको छ ।
‘स्थानीय सरकारको बजेटले मात्रै यति विकट भूगोलमा सडक बनाउन सक्ने अवस्था हुँदैन,’ अध्यक्ष ठेकरेले भने, ‘हामीले संघ र प्रदेश सरकारमार्फत सडक निर्माणका लागि निरन्तर पहल गरिरहेका छौँ । अहिले रोड काट्ने काम जारी छ ।’

उनका अनुसार विभिन्न वडामा बन्ने सरकारी भवन र संरचनाका सामानहरू खच्चडबाटै ढुवानी हुन्छन् ।
‘सडक बाटो बने पर्यटन र जनजीवन दुवैमा सहज हुन्थ्यो । हाम्रो तर्फबाट हुने काम हामी गरिरहेका छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण