संसद् पुनर्स्थापना होइन, चुनावको पक्षमा छन् मधेस केन्द्रित दल
काठमाडौँ । कांग्रेस र एमालेका निवर्तमान सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेको बेला मधेस केन्द्रित दल यसको विपक्षमा देखिएका छन् । उनीहरू जुनसुकै हालतमा निर्वाचन हुनुपर्ने पक्षमा छन् ।
रातोपाटीसँग कुरा गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावको तयारीमा लागेको सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको बताए । ‘सरकारले चुनाव गराउँछ भने हामी भाग लिन तयार छौं । चुनावको घोषणा गरिसकेकाले संसद् पुनर्स्थापनाको कुरा गर्न उठाउनु ठीक होइन,’ उनले भने । जेनजी पुस्ताले गरेको आन्दोलनकै कारण २०८४ को चुनाव २०८२ मा हुन लागेकाले यसको विकल्प नभएको उनको भनाइ छ ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पनि आफ्नो पार्टी संसद् पुनर्स्थापनाको पक्षमा नरहेको बताए । जेनजी आन्दोलनको सम्मान गर्दै आफ्नो पार्टी चुनावका लागि तयार रहेको उनको भनाइ छ । ‘जेनजी आन्दोलनपछि संसद् विघटन भइसकेको छ र चुनावको घोषणा भइसकेको छ, अब पछाडि नफर्की नयाँ जनादेशका लागि अगाडि बढ्नुपर्छ,’ उनले भने ।
विघटित प्रतिनिधिसभामा नरहेको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले संसद् पुनर्स्थापनाको मागले जेनजी आन्दोलनको अपमान गर्ने बताए । ‘ कांग्रेस–एमालेले पुनः लुट मचाउन, भ्रष्टाचार गर्नका लागि संसद् पुनर्स्थापनामा जोड दिएका हुन् । नयाँ जनादेशमा जानुको विकल्प छैन, अब कसैले पनि आन्दोलनको मानमर्दन गर्न पाइँदैन,’ उनले भने, ‘कुनै जेनजी नेताले संसद् पुनर्स्थापनाको कुरा उठाइरहेका छन् भने त्यो असली जेनजी होइन । परिवर्तित अवस्थामा नयाँ ढंगले सोच्नुपर्ने बेला पछाडि फर्किने कुरा कसैले गर्नु हुँदैन ।‘
लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्णले पनि अबको विकल्प चुनाव नै भएको बताए । चुनाव हुन नसक्ने अवस्थामा मात्रै विकल्पको रूपमा संसद् पुनर्स्थापनामा जानुपर्ने उनको तर्क छ । सरकारले चुनावको मिति घोषणा गरिसकेकाले सबै दल त्यसमै केन्द्रित हुनुपर्ने उनले बताए ।
पछिल्लो समय जेनजी आन्दोलनका केही अगुवाले समेत संसद् पुनर्स्थापनाको कुरा उठाउन थालेका छन् । हालै एक टेलिभिजन अन्तर्वार्तामा जेनजी अगुवा सुधन गुरुङले सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न संसद् चाहिने भएकाले सबैको सहमतिमा छोटो समयका लागि संसद् पुनर्स्थापनाको विकल्पमा जान सकिने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण