शेरधन राईको निरन्तर उकालो यात्रा
विराटनगर । नेकपा एमालेको ११औं महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएसँगै शेरधन राईले राष्ट्रिय राजनीतिमा आफ्नो कद थप अग्लो बनाएका छन् । भोजपुरको एउटा सामान्य किसान परिवारमा जन्मिएर कोशी प्रदेशको प्रथम मुख्यमन्त्रीको ऐतिहासिक जिम्मेवारी सम्हालिसकेका राईको राजनीतिक यात्रा संघर्ष, लगनशीलता र उतारचढावले भरिएको छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा राईलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट नेताका रूपमा चित्रण गरिएको थियो । एमालेभित्रको शक्ति समीकरणमा उनलाई कतिपयले भण्डारीको ‘कोटा’बाट हेर्ने प्रयास गरेपनि शेरधन भने पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै अविचलित उभिए ।
अन्ततः अध्यक्ष ओलीकै प्यानलमा समेटिएका राईले सचिव पदमा सहज जित हासिल गरे । यो जितपछि अब उनी कुनै गुटको उपग्रह नभई एमालेको मूल नेतृत्वको खम्बा बनेका छन् ।
२०२७ फागुन ११ गते भोजपुरको दक्षिणी भेग थिदिङ्घा (हाल आमचोक गाउँपालिका–३) मा बुवा जागिरमान र आमा राम्रीमाया राईको कोखबाट जन्मिएका शेरधनको बाल्यकाल सामान्य तवरले बित्यो । २०४२ सालमा स्कुले जीवनबाटै राजनीतिमा पाइला टेकेका उनले २०४६ सालको जनआन्दोलनमा भूमिगत रहँदा ‘निछाक’ उपनामले पार्टी गतिविधि हाँकेका थिए । विद्यार्थी राजनीतिबाट खारिएका राई २०५० सालमा अनेरास्ववियु भोजपुरको अध्यक्ष र २०५४ सालमा एमाले जिल्ला सचिव बन्दै पार्टी संगठनमा बलियो पकड जमाउन सफल भए । लगातार तीन कार्यकाल जिल्ला सचिव र २०६७ मा जिल्ला अध्यक्ष बनेका राईले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।

शेरधन राईको संसदीय यात्रा पनि लोभलाग्दो छ । २०५६ सालको आम निर्वाचनमा भोजपुर क्षेत्र नम्बर २ बाट निर्वाचित हुँदा उनी संसद्कै सबैभन्दा कम उमेरका सांसद (कान्छा सांसद) बनेर चर्चामा आएका थिए । २०६४ को पहिलो संविधानसभामा पराजय व्यहोरे पनि २०७० को दोस्रो संविधानसभामा उनी पुनः निर्वाचित भए । २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा उनले सूचना तथा सञ्चार प्रविधि मन्त्री र सरकारको प्रवक्ताको जिम्मेवारी निर्वाह गरे ।
मुलुक संघीयतामा गएपछि २०७४ को निर्वाचनमा प्रदेशसभा रोजेका राईले एमाले संसदीय दलको नेता हुँदै २०७४ फागुन २ गते कोशी प्रदेशको प्रथम मुख्यमन्त्री बनेर इतिहास रचे । साढे तीन वर्ष सरकारको नेतृत्व गरेपछि २०७८ भदौ १० मा उनले राजीनामा दिएका थिए ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भोजपुरबाट पराजित हुनुपरे पनि शेरधनको पार्टीगत हैसियत भने कमजोर भएन । जनताको मतमा धक्का लागेपनि संगठन र नेतृत्वको विश्वासमा उनी सधैं अब्बल रहिरहे । चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट स्थायी कमिटी सदस्य हुँदै कोशी प्रदेश इन्चार्जको जिम्मेवारी सम्हालेका उनी अहिले ११औं महाधिवेशनबाट केन्द्रीय पदाधिकारी (सचिव) को शक्तिशालीमध्येकै भूमिकामा पुगेका छन् ।
सामान्य पृष्ठभूमिबाट उठेर विद्यार्थी राजनीति, जिल्ला नेतृत्व, सांसद, मन्त्री र मुख्यमन्त्री हुँदै एमालेको केन्द्रीय सचिवसम्मको शेरधन राईको यो छलाङ समकालीन राजनीतिमा ‘मिहिनेत र धैर्यता’को एक सशक्त उदाहरण भउको समकालीन नेताहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण