बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

यी हुन् पोखरेल समूहबाट केन्द्रीय सदस्यमा बाजी मार्नेहरू

बिहीबार, ०३ पुस २०८२, २० : ४६
बिहीबार, ०३ पुस २०८२

विराटनगर । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व परिवर्तनको नारासहित प्रतिस्पर्धामा उत्रिएको ईश्वर पोखरेल समूह नतिजाका हिसाबले निकै कमजोर सावित भएको छ । 

३०१ सदस्यीय केन्द्रीय कमिटीमा सो समूहबाट एक दर्जनभन्दा कम नेताहरू मात्र अटाउन सफल भएका छन् ।सार्वजनिक अन्तिम मतपरिणामअनुसार, पोखरेल समूहबाट पदाधिकारीमा केवल दुई जना उम्मेदवारले जित हासिल गरे ।

अध्यक्षमा केपी शर्मा ओलीसँग ईश्वर पोखरेल भारी मतान्तरले पराजित हुँदा, उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्र विजयी भए । विष्टले ओली समूहका गुरुराज बराल र भट्टराईले ओलीका विश्वासपात्र विष्णु रिमाललाई पराजित गरेका हुन् ।

एमालेको विधानअनुसार पदाधिकारीका उम्मेदवारहरू स्वतः खुल्ला केन्द्रीय सदस्यको उम्मेदवार मानिन्छन् । पदाधिकारीमा निर्वाचित हुँदा केन्द्रीय सदस्यको मत गणना हुँदैन, तर पराजित भएमा उनीहरूले पाएको मत केन्द्रीय सदस्यका लागि गणना हुन्छ ।

पोखरेल समूहबाट पदाधिकारीमा प्रतिस्पर्धा गरेका १९ जनामध्ये विष्ट र भट्टराईले पदाधिकारी जिते भने ९ जना नेताहरू पदाधिकारीमा हारे पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । अध्यक्षमा पराजित ईश्वर पोखरेल १०८८ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भए ।

त्यस्तै, उपाध्यक्षमा पराजित बिन्दा पाण्डे (११२१ मत) पनि केन्द्रीय सदस्य बनिन् । उपमहासचिवमा पराजित आनन्द पोखरेल (९९७ मत) र सचिवमा पराजितहरू क्रमशः अग्नि खरेल (११३५), कर्ण थापा (१०२६), कृष्णगोपाल श्रेष्ठ (९९४), गोकुल बाँस्कोटा (११९५), ठाकुर गैरे (१२८४) र रचना खड्का (११२४) केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

पोखरेल समूहलाई सबैभन्दा ठुलो धक्का महासचिव पदमा लागेको छ । महासचिवमा शंकर पोखरेलसँग पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भए । महासचिवमा ९९९ मत ल्याएका पाण्डेले केन्द्रीय सदस्यका लागि गणना हुँदा ९६१ मत मात्र प्राप्त गरे, जुन जितका लागि आवश्यक ९९४ मतभन्दा कम थियो ।

सुरेन्द्र पाण्डेसहित पदाधिकारीमा उम्मेदवारी दिएका अन्य ६ जना नेताहरू पनि केन्द्रीय समितिबाट बाहिरिएका छन् । उपाध्यक्षका उम्मेदवारहरू अरुण नेपाल, टंक कार्की र परशुमेघी गुरुङ, उपमहासचिवका उम्मेदवार बैजनाथ चौधरी तथा सचिवका उम्मेदवारहरू पुरुषोत्तम पौडेल, विनोद ढकाल र इन्द्रलाल सापकोटा पदाधिकारी र केन्द्रीय सदस्य दुवै पदमा पराजित भए ।

केन्द्रीय समितिको भूगोलतर्फको प्रतिस्पर्धामा पोखरेल समूहका कुनै पनि उम्मेदवार विजयी हुन सकेनन् । खुलातर्फ भने ओली पक्षको सूचीमा समेत नाम रहेका कारण पोखरेल समूहका कतिपय उम्मेदवारहरूले मत पाएको देखिन्छ । 

यद्यपि सङ्गठित रूपमा यो समूहको उपस्थिति केन्द्रीय समितिमा कमजोर देखिएको छ । एमालेका पोखरेल पक्षीय नेताहरूका अनुसार आफ्नो पक्षबाट कोशी प्रदेशबाट केन्द्रीय समितिमा जित्नेहरू छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप