बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एमाले महाधिवेशनः यी हुन् कोशीबाट पराजित चर्चित अनुहारहरू

बिहीबार, ०३ पुस २०८२, २१ : ५३
बिहीबार, ०३ पुस २०८२

सारांश

  • एमालेको ११औँ महाधिवेशनमा कोशी प्रदेशका नेताहरू पराजित भए, जसमा केपी ओली समूह र पोखरेल समूहका नेताहरू थिए।
  • विराटनगरका विनोद ढकाल, लालबाबु पण्डित, रेवती रमण भण्डारी र विदुरकुमार लिङ्थेप लगायतका नेताहरू पनि निर्वाचनमा पराजित भए।
  • भीम आचार्य र उनकी श्रीमती निरादेवी खनाल पनि निर्वाचनमा पराजित भए, जसले यसपटक आचार्य परिवारका लागि नतिजा सुखद रहेन।

विराटनगर । नेकपा एमालेको ११औँ महाधिवेशनमा कोशी प्रदेशका चर्चामा रहेका अनुहारहरू नै पराजित भएका छन् ।

कतिपय नेताहरू पदाधिकारीमा पराजित भएका छन् भने कतिपय केन्द्रीय सदस्यमा पराजित भएका छन् । पराजित हुनेमा केपी शर्मा ओली समूहबाटै उम्मेदवार बनेको केन्द्रीय उपाध्यक्ष मोरङका गुरुप्रसाद बराल पनि छन् । 

बरालबाहेक पराजय हुनेहरू ईश्वर पोखरेल समूह र स्वतन्त्र उम्मेदवारी दिएकाहरू छन् । सुनसरीका नेता भीम आचार्य यसअघि सचिव थिए, उनी उपाध्यक्ष पदमा पराजित भए । यस्तै उपाध्यक्षका उम्मेदवार संखुवासभाका पर्शुराम मेघी गुरुङ पनि पराजित भए । आचार्य भने दुवै समूहको प्यानलमा नपरेपछि उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए भने गुरुङ पोखरेल प्यानलमा थिए । 

यस्तै कोशी प्रदेश अध्यक्षमा हारेका मोरङ विराटनगरका विनोद ढकालले यसपटक एमालेको केन्द्रीय सचिवमा उम्मेदवारी दिएका थिए । उनी पनि विजयी हुन सकेनन् ।

यस्तै मोरङ विराटनगरकै पूर्वमन्त्री लालबाबु पण्डित पनि सचिव पदमा पराजित रहे । बरालबाहेक अरू पराजित अनुहारहरू ईश्वर पोखरेल प्यानलबाट प्रतिस्पर्धा गरेका भए पनि पण्डित स्वतन्त्र रूपमा लडेका थिए । यस्तै सचिवमै पोखरेल प्यानलबाट प्रतिस्पर्धा गरेको झापाका नेता अग्नि खरेल पनि पराजित भए । 

प्रदेश सरकारका बहालवाला मन्त्री, संसदीय दलका प्रमुख सचेतक र अन्य केही सांसदहरूले समेत हारेका छन् । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी ६२९ मतमा सीमित हुँदै पराजित भए, उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यस्तै एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक संखुवासभाका विदुरकुमार लिङ्थेप पनि फराकिलो अन्तरले पराजित भए, उनले जम्मा ४४३ मत मात्र पाए, उनी पोखरेल प्यानलमा थिए । 

केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिएका पूर्वमन्त्रीसमेत रहेका सोलुखुम्बुका सांसद बुद्धिकुमार राजभण्डारी (५८१ मत) र पूर्वमन्त्री तथा मोरङका सांसद लिलाबल्लभ अधिकारी (५४७ मत) पनि पराजित भएका छन् ।राजभण्डारी र अधिकारी पोखरेल प्यानलमा थिए । 

यसपटकको निर्वाचनमा एमाले नेता भीमप्रसाद आचार्यको परिवारका लागि नतिजा सुखद् रहेन । उपाध्यक्ष पदमा उम्मेदवारी दिएका आचार्य र भूगोल क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी उनकी श्रीमती तथा कोशी प्रदेश सांसद निरादेवी खनाल पनि पराजित भए । निरादेवीलाई पोखरेल पक्षले आफ्नो प्यानलमा राखेको थियो, ७८७ मत प्राप्त गरे पनि जितका लागि पर्याप्त भएन । 

यस्तै केन्द्रीय सदस्यमा मोरङका युवराज बास्कोटा, पूर्वमन्त्रीसमेत रहेका ओखलढुंगाका अम्बिरबाबु गुरुङ, पूर्व राष्ट्रियसभाका सदस्य खेम नेपाली, संविधानसभा सदस्यसमेत रहेका झापाका रविन कोइराला, भोजपुरका शरणकुमार राई, मजदुर नेता सुनसरीका भीम ज्वाला राईले पनि जित निकाल्न सकेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप