बर्दिबासमा सौर्य ऊर्जा आयोजना सुरु
महोत्तरी । बर्दिबास–६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा आयोजना सुरु भएको छ । टेरा सोल इनर्जीले रु एक अर्ब २० करोडको लागतमा आयोजनाको काम बिहीबार सुरु गरेको हो । छ महिनाभित्र विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।
बर्दिबास–६ र ७ का ८० भन्दा बढी किसानको ४० बिघा जग्गा ३० वर्षको भोगाधिकारसहितको भाडामा लिएर निर्माण कम्पनीले काम थालेको छ । छ महिनाभित्र २० मेगावाट विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रिड महाशाखालाई हस्तान्तरण गरिने लक्षसाथ काम थालिएको निर्माण कम्पनीका कार्यकारी निर्देशक पूजा चन्दले बताइन् । आयोजनाको निर्माणकार्यको शुभारम्भ मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले एक समारोहबिच गरेका हुन् ।
थालिएको सौर्य ऊर्जा जडानको काम निर्धारित समयमै सम्पन्न गरेर विद्युत् उत्पादन हुने निर्माण कम्पनीले जनाएको छ । “हामीले काम थाल्यौँ, छ महिनाभित्र विद्युत् उत्पादन गरेर प्राधिकरण ढल्केबर ग्रिड महाशाखालाई दिन्छौँ”, चन्दले भनिन्, “यहाँ उत्पादन हुने सौर्य ऊर्जाको विद्युत् महोत्तरी र धनुषाका १० हजारभन्दा बढी घरपरिवारको उपयोगमा आउने छ ।”
यो आयोजनाको थालनीले चौलिखा वरपरका किसान खुसी छन् । “हाम्रै लागि हाम्रै ठाउँमा यति ठुलो आयोजनाको काम थालिएको छ, हामी खुसी छौँ”, बर्दिबास–७ का ७० वर्षीय किसान जगन्नाथ महतो भन्छन्, “सिँचाइ नभएको वञ्जड जग्गाको राम्रो उपयोग भयो, हामीले जग्गाको भाडा पनि राम्रै पाएका छौँ ।” कम्पनीले प्रतिकट्ठा जग्गाको बर्सेनि चार हजार २५० भाडा दिने र प्रत्येक दुई वर्षमा १० प्रतिशत वृद्धि गर्ने सम्झौता भएको उनको भनाइ छ ।
यस आयोजनअन्तर्गत चारवटा ट्रान्सफर्मर, ६८ वटा इनभटर र तीन लाख ३३ हजार सौर्य (सोलर) प्यानल लाग्ने कम्पनीले जनाएको छ । सौर्य ऊर्जा जडानबाट वातावरणीय प्रतिकूल प्रभाव नपर्ने र यो कम झन्झटिलो हुने विद्युत् क्षेत्रका विज्ञको भनाइ छ ।
“यो हामीकहाँ एकदम कम समयमा सफल हुने आयोजना हो, सौर्य ऊर्जा प्लान्ट जडानमा वातावरणीय प्रतिकूलता नहुने र कम समयमै उत्पादन लिन सकिने हुँदा यो निकै प्रभावकारी रहेको छ”, प्राधिकरण ढल्केबर ग्रिड महाशाखाका प्रमुख तथा ऊर्जाविज्ञ श्रीनारायण मण्डलले भने, “यसले निर्धारित समयमै उत्पादन दिएर हामीलाई दिने विद्युत् महोत्तरी र धनुषाका सर्वसाधारणले उपभोग गर्नेछन् ।”
आयोजनाको शिलान्यास गर्दै मुख्यमन्त्री यादवले मुलुकको परिप्रेक्ष्य विद्युतीय ऊर्जा समृद्धिको मुख्य आधारमध्ये रहेको उल्लेख गरे । आयोजना सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग र समन्वय गरिने उनले प्रतिबद्धता जनाए ।
“यस्ता आयोजनालाई परिआउने सबै सहयोग प्रदेश सरकारले गर्छ”, मुख्यमन्त्री यादवले भने, “हामी यस्ता अन्य आयोजनाको स्वागतका लागि तयार छौँ ।” यो आयोजना निर्माणको थालनीले महोत्तरीको उत्तरी भेगका सयौँले रोजगारीको अवसर पनि पाउने बताउँदै मुख्यमन्त्री यादवले रोजगारीका लागि स्थानीयलाई प्राथमिकता दिन निर्माण कम्पनीसँग अनुरोध गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण