भुइँ मान्छेको यात्रा
सारांश
- लेखकले २२ वर्ष पुरानो सडक यात्राको अनुभव सुनाउँदै, बसको यात्रामा भोग्नुपरेका कठिनाइहरूलाई वर्णन गरेका छन्।
- कर्णाली प्रदेशको यात्रामा टिकटको अभाव, सिटको समस्या, र दुर्गन्धको सामना गर्नुपरेको कुरा उल्लेख छ।
- यात्राको क्रममा विगतका सम्झनाहरू, दसैँको छुट्टीको अनुभव, र पुरानो साथीसँगको चिनजानलाई समेटिएको छ।
सधैँ हिँडिरहेको बाटोमा नयाँ अपेक्षा कमै हुन्छन्। दृश्य र भोगाइमा कुनै चमत्कारको आशा हुँदैन। तथापि अवाञ्छित घटना नहोस् भन्ने चाहना भने भइ नै रहन्छ। यो अनुभूति सबैलाई हुन्छ होला। भुइँ मान्छेले उडानलाई अवसर वा बाध्यता सम्झनुपर्छ। आर्थिक महँगी एउटा पाटो हुन्छ; त्यसैगरी जीहजुरीको अर्को चटारो हुन्छ।
यी दुवै कुरालाई तिलाञ्जलि दिँदै सडक यात्रा तय गरियो। उसो त विगत २२ वर्षदेखि हिँडिरहेको बाटो हो। बाटो र यात्रु उही हुँदा पनि भोगाइ यात्रापिच्छे फरक हुन्छन्। कोहलपुर बसपार्कमा झोला बोकेर प्रवेश गर्नासाथ लिलामीमा राखिएको खसीलाई झैँ तानातान सुरु भयो। त्यहाँबाट सहजै थाहा हुन्छ— कर्णाली प्रदेश प्रवेश गर्ने बसको स्थिति।
रङ्ग खुइलिएका, सिट च्यातिएका, चस्मा लगाएर हेर्नुपर्ने नम्बर प्लेट भएका र पछाडिको भाग कुच्चिएको देख्दा नै जुम्ला, दैलेख, रुकुम र जाजरकोट जाने बस हो भनेर पत्ता लागिहाल्छ। तर गाडी नेपालगन्जबाटै भरिएर आइपुग्ने हुनाले यहाँ तानातान, मोलमोलाइ र हानाहान हुने गर्छ। जसोतसो टिकट लिइयो।
टिकटमा तोकिएको समय नाघेको एक घण्टापछि बस आइपुग्यो। बसको भित्री गल्ली आलुका बोराले भरिएको थियो। सिटभरि मान्छे कोचिएका थिए। भित्र–बाहिर गर्न त के, उभिन सकिने समेत स्थिति थिएन। हातपाउ टेकेर भए पनि अन्तिम सिटसम्म पुगियो।
एउटा गीत एक मिनेट बज्न नपाउँदै 'अर्को गीत बजाऊ' भन्ने फर्माइस हुन्थ्यो। बल्लतल्ल केही देउडा र गढवाली गीत टिक्न पाउँथे।
बसको माथिल्लो खोपा (र्याक) मा बोराका झोला र पुराना कम्मल थिए। यात्रुको पसिनाले बसभित्र उकुसमुकुस थियो। बस नचल्दासम्म हावा फैलिने सम्भावना थिएन। बोरामाथि अटेसम्म यात्रु भरेर बस चल्यो। यात्रा सुरु भएकोमा भन्दा पनि बसभित्र हावा छिरेकोमा ज्यादा आनन्द आयो। रात्रिकालीन यात्रा हुनाले आँखाहरू बाहिरी वातावरणमा भुल्ने कुरा भएन।
एउटा गीत एक मिनेट बज्न नपाउँदै 'अर्को गीत बजाऊ' भन्ने फर्माइस हुन्थ्यो। बल्लतल्ल केही देउडा र गढवाली गीत टिक्न पाउँथे। हिन्दी गीतले पनि थोरै मौका पाउँथे। फर्माइस सुनेर म भने विगतको सम्झनामा पुगेँ।
दसैँको छुट्टी थियो। हामी एक–एक वर्ष बिराएर दसैँको टीका थाप्न घर आउँथ्यौँ। स्कुलबाट घर पुग्न सात दिन र फर्कन पनि सातै दिन लाग्थ्यो। १५ दिनको बिदा बाटैमा ठिक्क हुन्थ्यो। एक–दुई दिन जसरी पनि ढिलो हुन्थ्यो र अध्यक्ष एवं हेडसरको खप्की खाइन्थ्यो। त्यही पिरले 'दसैँ नआए हुन्थ्यो' जस्तो लाग्थ्यो।
यो कुराको मर्म बुवाले थाहा पाउनुभएरै होला, दसैँको टीकाकै दिन उहाँको स्वर्गवास भयो। दसैँमा सबैको निधार खाली हुन गयो। हामी दसैँमा घर आउँदै थियौँ। त्यसबेला सुर्खेतको पोख्रेसम्म बस पुग्थ्यो। हामी अरू विद्यालयका शिक्षकसहित १०–१२ जना थियौँ। रुकुम, जाजरकोट र डोल्पाको सीमामा पर्ने त्रिवेणी बजारमा भेटिएका थियौँ। विद्यालय छोडेको दिनदेखि बाटोमा पैदल हिँड्ने मान्छेको भिड देखिन्थ्यो। शिक्षक–कर्मचारी तल्लो क्षेत्रतिर र स्थानीय मानिसहरू माथितिर— सबै आफ्नो घर पुग्न हतारमा थिए।
अन्यत्र दाल–भात ३० रुपैयाँ छाक थियो। तर रुकुम र जाजरकोटको सीमामा पर्ने चिहानबगरको एउटा होटेलमा भने जम्मा १२ रुपैयाँमै भरपेट दाल–भात पाइन्थ्यो। त्यो पनि छुट्दैनथ्यो। त्यहाँ दिनभर खाना पाक्थ्यो। त्यसको पनि आफ्नै एउटा कथा छ। स्यानीपिप्लीको बिहानको खानापछि कैनकाँडाको लेक उकालो छ। उकालो चढ्दै जाँदा बिस्तारै साँझ पर्यो। हामी त्यही गति र लयमा थियौँ।
डाँडामा रहेका होटेलहरूमा आपसमा छरिएर बास बसियो। बिहान झिसमिसैमा उठेर ओरालो लाग्यौँ। सालघारीको वनमा एक–एक जना गरेर मात्र हिँड्न मिल्ने गोरेटो बाटो थियो। माटो पूरै रातो थियो। बिहान गर्चेबाट उठेर उकालिएकाहरू सधैँ भेटिन्थे हाम्रो ओरालोमा। तर यसपटक हामी ओर्लन सकिरहेका थिएनौँ। तलबाट आउनेको लर्को लामो थियो।
संगीतको रुचि त्यो बेलादेखि अहिले पनि उस्तै छ। दिनचर्या र जीवनस्तर उस्तै छ। यत्ति हो— २०–२२ वर्षमा बस अलिक माथि पुगेका छन्।
सबैले बोराको झोलामा सिलाएर बोराकै फित्ता लगाएर भारी बोकेका थिए। प्रायः सबैको पोसाक उस्तै–उस्तै थियो। सबैका काँधमा 'नेसनल चाइनिज टेपरेकर्डर' थिए। सबैले बजाएकै थिए। तर अचम्म— सबैको क्यासेटमा बज्ने गीत भिन्न–भिन्न थियो। टाढाबाट सुन्दा मौरी भन्किएजस्तो आवाज आउँथ्यो सालघारीमा। नजिक आउँदा पनि कुन गीत बजेको छ भनेर छुट्याउन गाह्रो थियो। बजारमा आएका सबै गीत बजेको हुनुपर्छ। अहिलेको झैँ तस्बिर खिच्ने मोबाइल भएको भए उहाँहरूलाई स्मृतिमा राख्न कति सजिलो हुन्थ्यो होला!
संगीतको रुचि त्यो बेलादेखि अहिले पनि उस्तै छ। दिनचर्या र जीवनस्तर उस्तै छ। यत्ति हो— २०–२२ वर्षमा बस अलिक माथि पुगेका छन्। पुराना होटेल सुके, नयाँ खुले। बाटो फेरियो तर यात्रु उनै छन्। बाटोमा भेटिने होटेलमा खाजा–नास्ता खाऊँ भन्यो कि रक्सी र माछा–मासु मात्र भेटिन्छ— बोइलर कुखुराको मासु र भेरीको माछा। मध्यरातमा एउटा होटेलअघि बस रोकियो।
सबैजना खाना खान झर्ने 'फरमानी' आदेश आयो। झरेकामध्ये धेरैले खानाअघि नास्ता मगाए। गढवाली टोपी, मोजाबिनाका प्लास्टिकका जुत्ता, काँधमा कलेटी परेका कमिज र इस्टकोटमा सजिएकाहरूले टेबुल भरिए। कसैले उभिएर नै छिटो–छिटो सिनित्त पारे। बाहिर उभिएर हेर्ने हामी दुई–चार जना मात्र थियौँ।
अबको यात्रा झन् कस्तो होला? धन्न, चालकले रक्सी पिएको देखिएन र मन ढुक्क भयो। करिब एक घण्टा लाग्यो बस छुट्न। ‘सबै आएको हो?’ सहचालकको चेतावनीमूलक प्रश्नपछि बस पुनः गुड्न थाल्यो।
अब भने बसभित्र 'दुर्गन्धको युद्ध' सुरु भयो। कसैले वान्ता गर्न थाले। म भने अन्तिम सिटमा थिएँ। झ्यालबाट हावा आएर थोरै राहत मिलेको थियो। अब वान्ताका छिटा पनि आउन सक्ने सम्भावना भएकाले झ्याल बन्द गर्नुपर्ने बाध्यता भयो। कसै–कसैले कालापहाडदेखि लगाएका जुत्ता खोलिदिँदा मोजाको दुर्गन्धले रक्सीको गन्धलाई जित्दो रहेछ। मलाई असह्य भयो। बोरामाथि हात–खुट्टा टेक्दै ढोकानेर आएँ। सहचालक सिँढीमा बसेका थिए।
सोधे, ‘के भयो सर?’
‘म गन्धले आत्तिएँ, बरु यहीँ उभिन्छु है। थाकेँ भने यतै सिँढीमा बस्छु,’ मैले छिटो उत्तर दिएँ।
‘यस्तै हो सर, तपाईं पहिलो चोटि हो र?’ उनले सोधे।
‘होइन, बाइस वर्षदेखि हिँड्दै छु।’
‘अनि त बानी लाग्नुपर्ने त सर!’
अरू कुराभन्दा अन्तिमको ‘सर’ शब्दले मलाई घोचिरह्यो। बोल्न मन लागेन। पछाडिभन्दा ढोकामा राहत भयो। उभिनुको दुःख त छँदैछ। जसोतसो दुई बजे जाजरकोट खलङ्गा पुगियो। आलु–प्याज यहीँ झार्नुपर्ने रहेछ। सहचालकले पचासौँ पटक बिलमा भएको नम्बरमा फोन गरे। फोन उठेन। बिस्तारै सबै यात्रु बाहिर निस्किए। धेरैले चुरोट सल्काए। केही बेरमा सहचालकको मोबाइलमा फोन आयो। फोन आलु साहुको रहेछ। बस थोरै अघि बढ्यो र पसलअघि पुगेर रोकियो। डिक्कीमा पनि आलुका बोरा भरिएका रहेछन्। एक घण्टामा आलु–प्याज उतारेपछि बल्ल ओरालो लाग्यो बस।
एकतिर ताछेको भित्तो र अर्कोतिर नदी लिएर बाटो अघि बढेको थियो। पैदल धेरै पटक हिँडेको बाटो हुनाले कहाँ पुगियो भनेर अड्कल हुन्थ्यो।
‘अब झ्याल–ढोका पूरै बन्द है!’ गुरुजीले आदेश दिए। अबको पालो धुलोको थियो। गन्तव्यसम्मको अबको यात्रा धुलोसँगै हो।
मुखमा रुमालको मास्क लगाएर म ढोकामै उभिएँ। घरीघरी ढाड र खुट्टा दुख्दा सिँढीमै बसिदिन्थेँ। दुखाइको निर्ममता आफ्नै प्रकारको हुन्छ। रातको यात्रा थियो, परेली जोडिने सम्भावना रहेन। रिम्ना बजार पुगेपछि अगाडिको सिट खाली भयो। म क्याबिनमा छिरेँ। अगाडि साँघुरो बाटो देखिन्थ्यो। ढुङ्गा र खाल्डा देख्दा मन झसङ्ग हुन्थ्यो।
एकतिर ताछेको भित्तो र अर्कोतिर नदी लिएर बाटो अघि बढेको थियो। पैदल धेरै पटक हिँडेको बाटो हुनाले कहाँ पुगियो भनेर अड्कल हुन्थ्यो। माथि वनमा आगो लागेको रहेछ। कलाकारले बनाएको अमूर्त चित्रजस्तो देखिन्थ्यो रातमा। सायद यस्ता यात्राहरू पनि जीवनका लागि आगो नै हुन्।
दसवर्षे जनयुद्धको उर्वर भूमिको मुटुबाट हिँडेको बाटो हो यो। प्रहरी चेकपोस्ट आउँदा कुनै बेला प्रहरीको जाँचमा झोलाको चेन बिग्रेर बोरामा लुगा बोकेर हिँडेको पल याद आउँथ्यो। आजभोलि सिङ्गै बस पनि चेकजाँच हुँदैन, नम्बर टिपाउँदैमा पुग्छ।
जसोतसो बस रुकुमको आठबिसकोट नगरपालिका पुगेर हामीलाई बिदा दियो। राडीज्युला बजारमा '८/२० कोट' भनेर लेखिएका बोर्डहरू देख्दा लामो नाम पनि अरुचि हुने रहेछ कि झैँ लाग्यो। त्यसपछि झोलुङ्गे पुल तर्ने र जिप चढ्ने यात्रा सुरु हुन्छ। अपरिचित यात्रु, परिचित मार्ग अनि नौलो अनुभूतिसँग दगुर्नु थियो। जिपमा पनि उही ठेलमठेल, उही दुर्गन्ध, उही धुलो र उही आदेश–फरमान। झड्का खाँदै जिप 'काए' हुँदै 'मैदे' पुग्यो। त्यहाँ प्रहरी चौकी रहेछ। चौकी भएको घर देखेर पुरानो कुरा फेरि याद बनेर आयो।
एक दिन चिसापानीमा खाना खाएर गोकर्णराज पौडेल र म डोल्पातिर हिँड्दै थियौँ। हामी आफ्नै गतिमा गफ गर्दै हिँडिरहेका थियौँ। हामीलाई भेट्टाउन एकजना भाइ आए। हामीले नै बोल्न सुरु गर्यौँ। उनले घर गोतामकोट भएको बताए। नाम अहिले याद छैन।
नेपालगन्जको होटेलमा काम गर्थेँ, घरमा आमा बिरामी छिन् भन्ने खबर पाएर आएको भन्थे। हामी स्थानीय भाइसँग कुराकानी गर्दै अघि बढ्यौँ। राडीज्युलामा 'खाजा खाऊँ' भन्दा 'पैसा छैन म त खान्न' भने। हामीलाई खल्लो लाग्यो। 'खाऊ–खाऊ पैसा पर्दैन' भनेर उमालेको रारा चाउचाउ बाँडेर खायौँ। उनले हामीलाई छोडेनन्।
दिनभर रमाइला गफ गर्दै मैदे पुगेर बास बस्यौँ। असारको महिना थियो। प्रहरी चौकी भएको घरमै होटेल थियो। दुईतिर दुईवटा मदुसमाथि हामीलाई सुत्न भनियो र भुइँमा ती भाइ सुते। ढोकामा चुकुल–छेस्किनी केही थिएन। भित्रबाट एउटा ढुङ्गाले ढोका अड्याउने प्रबन्ध रहेछ। उपलब्ध खाना खाएपछि हामी निदायौँ।
बिहान उज्यालो नहुँदै म ब्युँझिएँ। सिरानमा भएको सानो लाइट बालेर घडी हेरेँ— पाँच बज्न लागेको थियो। लाइट घुमाएर कोठामा हेर्दा हिजो सँगै सुतेका ती भाइ थिएनन्। गोकर्ण सरको झोला र झोला माथि राखेको पाइन्ट–सर्ट पनि थिएन। सरलाई उठाएर सोधेँ। दुवै झस्कियौँ। ओहो, त्यही केटोले पो चोरेछ! उठेर खोजखवर गरियो तर पत्ता लागेन। पैसा, कपडा र झोलामा भएका कागजपत्र सबै चोरी भयो। हिजो दिउँसोदेखि 'चोर' पालेर राखिएको रहेछ।
त्यो घरसँगको तीतो स्मृति मैले आजपर्यन्त बिर्सन सकेको छैन। त्यहीँ अहिले प्रहरी चौकी रहेछ। जिपको नम्बर टिपियो र हामी डोरियौँ। साना–साना खोलामा जिप पानीमै हेलिन्छ। चौखा पुगियो, जहाँ अर्को प्रहरी चौकी छ। कुनै बेला चौखाका होटेलमा बास पाउन मुस्किल हुन्थ्यो। त्यो बेलाका उपियाँले आजभोलि कसको रगत पिउँदा हुन्!
जिप रोकियो। गर्मी नै थियो। चालकले सहचालकलाई भने, ‘जा जा फुच्चे, एउटा कोक र मेघाश्री ल्या।’ जिप बिस्तारै हिँड्यो।
हामी उपियाँको आतङ्कले मध्यरातमै बिस्तारा छोडेर हिँडेका थियौँ कुनै बेला। बाटो छेउका घट्ट देख्दा अर्को कुरा याद आउँछ। सडक बन्नुअघि घट्ट छेउमा केरा, दूध, दही र मकैका रोटी बेच्न राखिएका हुन्थे। दुई रुपैयाँ कोसा केरा र १० रुपैयाँ मानोको दूध वा दही खाएपछि पेट टन्न हुन्थ्यो।
जिप रोकियो। गर्मी नै थियो। चालकले सहचालकलाई भने, ‘जा जा फुच्चे, एउटा कोक र मेघाश्री ल्या।’ जिप बिस्तारै हिँड्यो। मुखमा भएको गुट्खाको अघिल्लो खेप कोकले कुल्ला गरेर थुके र नयाँ गुट्खा फेरि भरे। मानौँ गुट्खा जिपलाई डिजेल झैँ अनिवार्य छ। यात्राभरि गुट्खा नखाने कुनै चालक भेटिएन। तल्लुबगर पुगेपछि जाजरकोट छोडेर रुकुम पस्नुपर्यो। झोलुङ्गे पुलमा ट्याक्टरमा आएको सामान ओसार्ने काममा गाउँलेहरू जुटेका रहेछन्। भिडले गर्दा केही बेर रोकियौँ।
हामीमध्ये सबैलाई जिपमा पुगेर सजिलो सिट छोप्न हतार थियो। सिमेन्ट, सरिया, बिस्कुट, चाउचाउ र चामलका बोरा पारि तार्ने भिडले हामीलाई रोक्यो। मैले यसै मेसोमा मोबाइलमा एक–दुई तस्बिर खिचेँ। मनमा भने पूरै परिवेश बस्यो।
जनयुद्ध झेलेर सुस्ताएको यो भूगोलको रूपरङ्ग फेरिन नसकेको र दिनचर्या हिजोभन्दा आज झन् जटिल भएको देख्दा मन त्यसै अमिलियो। भद्दा गरिबी बेचेर राजधानीमा सेमिनार गर्दै लाखौँ सकिन्छ तर दूरदराजका यी बस्ती उस्तै छन्। मान्छेहरूका चिरिएका पैताला उस्तै छन्। भाषणमा जति फलाके पनि छाक टार्न धौधौ हुने स्थितिमा तात्त्विक भिन्नता आएको छैन।
जति अगाडि बढ्यो, त्यति कठिन जीवन छ। रूख–बिरुवाको हरियोबाहेक घर छेउछाउ हरिया तरकारी देख्न पाइन्न। एकातिर भेरी र अर्कोतिर ताछेर बनेको सडकको उकालोमा 'फोर ह्विलर' जिप चढ्न पनि गाह्रो हुने रहेछ। माथिबाट झर्ने ढुङ्गाले पाइलैपिच्छे खतराको घण्टी बजाइरहन्छ।
लामो ढुङ्गाको सुक्खा खोलोले वर्षायामको यात्रामा गुल्ट्याएर पनि ज्यान जोगाएको घटना सम्झिन्छु। ज्यामिरेको भिर काट्दा अर्को डरलाग्दो पल आँखाअघि आउँछ। त्रिवेणीको भिरमा धेरै पटक चिप्लेर लडेको याद आउँछ। 'टोपी खस्ने छिमीको उकालो' धेरै पटक हिँडियो। त्यो सम्झिँदा यो यात्रा सहज हो। स्मृति सँगाल्न बाँच्ने हो कि बाँचेर स्मृति सँगालिएका हुन्? वा दुवै उस्तै–उस्तै हुन् कि!
‘कान्छी बजारको नाम कसरी जुरेको?’ जिज्ञासा भयो। जिपमा छलफल चल्यो। पुलको मुखमा तीनजना महिलाले होटेल खोलेका थिए रे।
हिजोका कठिन यात्रा सम्झिँदै खदाङ्ग पुगियो। झोलुङ्गे पुलबाटै भेरी तरियो। अर्को प्रहरी चौकी, जहाँ जिप चढ्नुअघि नाम, ठेगाना, फोन नम्बर र बाको नाम टिपाइयो। स्वर्गमा रहनुभएका बा! हजुरको नाम लिँदा अनुहार सम्झन्छु र गम्भीर हुन्छु। फेरि जिप चढियो।
कान्छी बजारसम्मको बीचमा आउने सिरबिन्डेको भिरले मलाई बचाएको हो। द्वन्द्वका ताका प्रहरीलाई एम्बुस थापेर मारेको घटनाको तीतो याद बिर्सन सक्दिनँ। एउटा सल्लोको रूख उस्तै छ, जहाँ त्यो दिन प्रहरीका लुगा हाँगाभरि झुन्ड्याइएको थियो। म जोगिएको र सँगै हिँडेका यात्रुले ज्यान गुमाएको पलले मन त्यही दिनमा पुग्यो।
‘कान्छी बजारको नाम कसरी जुरेको?’ जिज्ञासा भयो। जिपमा छलफल चल्यो। पुलको मुखमा तीनजना महिलाले होटेल खोलेका थिए रे। बुझ्दै जाँदा तीनैजना सौतामाथि आएका कान्छी श्रीमती रहेछन्, जसलाई लोग्नेले छोडेका थिए। कति सत्य हो, त्यसको निरूपणतिर लागिएन। दुई किलोमिटरजति हिँडेर फेरि झोलुङ्गे पुल तर्दै दुनै पुग्ने जिप चढ्न त्रिपुराकोट हुँदै सुपानी पुग्नु थियो।
हतार–हतार असिनपसिन हुँदै पुगियो। साँझ पर्नै लाग्यो। एक पटक पर्स खसेर बेखर्ची भएपछि भोकै दुनै हिँडेर पुग्नुपरेको स्मृति ताजा भयो। उचाइमा बाटो छ, निक्कै तल सङ्लो भेरी बग्छ। मोतिपुर वरपर भिन्न आनन्द आउँछ। कालागौँडामा जिपको नम्बर टिपाएपछि आउने मोडमा सातजनाको ज्यान गएको दुर्घटना स्थल नाघियो।
सुलिगाड आउनुअघि काठको पुलमा गाडी तर्दा आङ सिरिङ्ग हुन्छ। आर्मी क्याम्पमा फेरि नम्बर टिपाउँदै गर्दा ११ वटा मोटरसाइकलमा राष्ट्रिय झण्डा सजिएको देखियो। ती आन्तरिक पर्यटक फोक्सुन्डोतिर लागेका थिए। धुपीचौर हुँदै दुनै पुग्दा तिनै झण्डा र मोटरसाइकल आँखामा नाचिरहे। डोल्पा साँच्चिकै सुन्दर छ।
अहिले २४ घण्टामा भुइँ मान्छे पनि यहाँसम्म आइपुग्यो। जमिन नछोडी आइपुगेको यो अवधि सम्भवतः मेरो पहिलो पटक भएकाले यो यात्रा स्मृतिमा रहिरहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण