कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १३ लाखको बिक्री
सारांश
- बागलुङको ढोरपाटनस्थित किमबोट गाउँमा लोकनाथ कँडेलले ३५ वर्षदेखि सुन्तला खेती गर्दै आएका छन्।
- उनले १४ रोपनीमा लगाएको सुन्तलाबाट लाखौँ आम्दानी गर्दै छोराछोरीलाई शिक्षा दिए, र अहिले छोराहरु विदेशमा छन्।
- कँडेलले गत वर्ष १३ लाखको सुन्तला बेचेको र यस वर्ष १५ लाखभन्दा बढीको कारोबार गरिसकेको बताए।
बागलुङ । बागलुङको ढोरपाटनस्थित किमबोट गाउँ यतिबेला पहेँलपुर सुन्तलाले सजिएको छ। गाउँका धेरै मानिस सेवा–सुविधा खोज्दै सहर पसे पनि लोकनाथ कँडेलको मन भने अझै गाउँकै सुन्तला बगानमा अडिएको छ। १३ वर्षअघि बागलुङ बजार बसाइँ सरेका उहाँ हप्ताको एकपटक किमबोट नपुगी रहनै सक्दैनन्। उनको यो निरन्तरको गाउँ यात्राको मुख्य आकर्षण नै ३५ वर्षदेखि पसिना बगाएको सुन्तला खेती हो।
वि.सं. २०४७ मा सामान्य लगानीबाट सुरु गरेको यो व्यवसाय अहिले लोकनाथका लागि लाखौँ आम्दानीको स्रोत बनेको छ। १४ रोपनी क्षेत्रफलमा फैलिएको बगानमा अहिले ३२० बोट सुन्तला छन्, जसमध्ये २५० बोटले मज्जाले फल दिइरहेका छन्। कुनै समय कोदो र मकै फल्ने बारीमा अहिले लटरम्म सुन्तला फलेका छन्। त्यही सुन्तला बेचेर लोकनाथले छोराछोरीलाई शिक्षा दिए र आज उनका छोराहरू जापान, अमेरिका र पोर्चुगलजस्ता देशमा पुगिसकेका छन्।
लोकनाथका अनुसार सुरुका दिनमा डोकोमा बोकेर बागलुङ बजारसम्म सुन्तला पुर्याउनुपर्ने बाध्यता थियो। तर अहिले अवस्था फेरिएको छ। धादिङ र चितवनदेखिका व्यापारीहरू सिधै बगानमै पुग्छन्। गत वर्ष १३ लाखको सुन्तला बेचेका उनले यस वर्ष १५ लाखभन्दा बढीको कारोबार गरिसकेका छन्। जिल्लामै सबैभन्दा धेरै सुन्तला फलाउने किसानको पहिचान बनाएका उनले अझै दुई लाख बराबरको सुन्तला त परिवारका लागि मात्रै राखेका छन्।
सहरको सुविधाभन्दा गाउँको माटो र सुन्तलाको सुगन्धले उनलाई बढी तान्छ। गाउँमा छिमेकीहरू रित्तिँदै गए पनि र आफू बिरामी पर्दा उपचार सहज होला भनेर बजार झरे पनि उनको आत्मा भने किमबोटकै सुन्तला बोटमा घुमिरहन्छ। राज्यले किसानका उत्पादनलाई उचित मूल्य र बजारको ग्यारेन्टी गरिदिने हो भने सुन्तला खेतीबाटै गाउँको मुहार फेर्न सकिने उनको विश्वास छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण