बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महाधिवेशन गर्न नभ्याइने हल्ला फैलाउन खोजिएको छ : गगन थापा

सोमबार, ०७ पुस २०८२, ०९ : ४९
सोमबार, ०७ पुस २०८२

सारांश

  • कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टी सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।
  • उनले महाधिवेशन सार्ने खेल भइरहेको भन्दै आपत्ति जनाए, र आगामी निर्वाचनअघि नै महाधिवेशन हुनुपर्ने बताए।
  • थापाले नियमित अधिवेशन नभए विशेष महाधिवेशनमार्फत नेतृत्व टुंगो लगाउनुपर्ने चेतावनी दिए।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी १५ औँ महाधिवेशनमा पार्टी सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले आफू सभापतिको उम्मेदवार बन्ने र पार्टीको नेतृत्व सम्हाल्ने दाबी गरेका हुन्। 

महाधिवेशन केवल नेतृत्व परिवर्तनका लागि मात्र नभई कांग्रेसलाई पूर्ण रूपमा नयाँ र गतिशील बनाउने अवसर भएको उनको भनाइ छ। कार्यक्रममा थापाले पार्टीभित्र महाधिवेशन सार्ने खेल भइरहेको भन्दै कडा आपत्ति समेत जनाए। तल्लो तहबाट क्रियाशील सदस्यहरूको नामावली पठाउन भइरहेको ढिलाइप्रति सङ्केत गर्दै उनले नियोजित रूपमा महाधिवेशन टार्न खोजिएको आशङ्का व्यक्त गरे।

महामन्त्रीको हैसियतमा आफूले सभापति शेरबहादुर देउवालाई समयमै महाधिवेशन गर्न स्पष्ट रूपमा भनिरहेको उनले बताए। जुनसुकै मूल्य चुकाउन परे पनि आगामी आम निर्वाचनअघि नै कांग्रेसको महाधिवेशन हुनैपर्ने उनको अडान छ। थापाले नियमित अधिवेशन हुन नसके विशेष महाधिवेशनमार्फत भए पनि नेतृत्वको टुङ्गो लगाउनुपर्ने र महाधिवेशन बिना कांग्रेस चुनावमा जान नहुने चेतावनी दिएका छन्।

उनले भने, ‘अहिले तलबाट क्रियाशील सदस्यको कामहरू हुँदै गर्दा ठाउँ ठाउँबाट क्रियाशील सदस्य पठाइदिनुपर्ने कुराहरू जसरी भइराख्नुपर्ने हो आइरहेको छैन । तर म कसैलाई दोष दिन्न । किनभने अझै गर्न सक्छु भन्ने विश्वास छ । लागिरहेको छौँ । पत्रपत्रिकाहरू हेर्दा अब यो भ्याइँदैन, गर्न सकिँदैन, पहिला राम्रो बाटोमा पानी लगेर खन्याएर अब बाटो हिलो छ, हिँड्न सकिँदैन भनेको जस्तै हो । मजाले बाटो ठिक थियो । समयमै अधिवेशन सम्पन्न गर्न सकिन्थ्यो । तर कता कता कता अलि अलि त्यो स्मेल गरिरहेका छौँ । यो विषयमा पार्टीको लिडरसिपलाई स्पष्ट भनिरहेका छौँ । हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप