वैकल्पिक राजनीतिक शक्ति : मिलेर जित्ने वा एक्ला एक्लै सकिने ?
सारांश
- नेपालको राजनीतिक परिवेशमा नयाँ नेतृत्वको आवश्यकता महसुस हुँदैछ, जुन दशकौँको असफलताको परिणाम हो।
- कुलमान घिसिङ, बालेन साह, हर्क साम्पाङ र रवि लामिछाने जस्ता नेताहरूको काम, साहस र इमानदारीले जनआकर्षण बढाएको छ।
- वैकल्पिक नेतृत्वले एकता कायम गर्दै जनआकांक्षालाई संस्थागत गर्नुपर्ने चुनौती छ, अन्यथा अवसर गुम्ने खतरा छ।
आज नेपालको राजनीतिक परिवेश निर्णायक मोडमा उभिएको छ । पछिल्लो समय देखिएको परम्परागत राजनीतिक दल, नेतृत्व र शासन संस्कारप्रति जनआक्रोश कुनै एक घटना वा समयको उपज होइन । यो दशकौँको निरन्तर असफलता, भ्रष्टाचार, अकर्मण्यता र जनअपेक्षाको अवमूल्यनको परिणाम हो । यही कारण आज देशलाई नयाँ अनुहारभन्दा पनि विश्वसनीय, कार्यमुखी र परिणाम दिन सक्ने वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता गम्भीर रूपमा महसुस हुन थालेको छ ।
यो आवश्यकता कुनै नाराका लागि होइन । सत्ता परिवर्तनको औपचारिकताका लागि पनि होइन । बरु राज्य सञ्चालनको सोच, प्राथमिकता र संस्कार नै बदल्ने ऐतिहासिक माग हो । यही पृष्ठभूमिमा कुलमान घिसिङ, बालेन साह, हर्क साम्पाङ, रवि लामिछाने (रास्वपा) तथा जेनजी लगायत केही नयाँ राजनीतिक धाराका नेतृत्वप्रति जनआकर्षण तीव्र रूपमा बढ्दै गएको देखिन्छ । यस्तो आकर्षण कुनै संगठित राजनीतिक अभियानको परिणाम होइन । काम, साहस र इमानदारीले जन्माएको जनआशा हो ।
- संगठनभन्दा अघि जनविश्वास
आजको वैकल्पिक राजनीति संगठनभन्दा बढी विश्वासमा टिकेको छ । कुलमान घिसिङले लोडसेडिङ अन्त्य गरेर देखाएको प्रशासकीय दृढता, बालेन साहले काठमाडौँ महानगरमा देखाएको निर्णय क्षमता, हर्क साम्पाङले धरानमा देखाएको जनसहभागितामूलक विकासको अभ्यास तथा रवि लामिछानेले पुराना दलविरुद्ध उठाएको वैकल्पिक राजनीतिक स्वर—यी सबैले एउटै सन्देश दिएका छन् । अर्थात् परम्परागत शैलीभन्दा फरक तरिकाले पनि राजनीति गर्न सकिन्छ ।
यो सन्दर्भमा एउटा यथार्थलाई बेवास्ता गर्न मिल्दैन । जनताको समर्थन व्यापक भए पनि त्यो पूर्ण रूपमा संगठित भने छैन । धेरै नागरिक परिवर्तन चाहन्छन् । भोट दिन तयार छन् । तर अनिवार्य रूपमा कुनै एक दलको संरचनामा बाँधिन भने चाहँदैनन् । आजको जनमत भावना, भरोसा र अपेक्षामा आधारित छ । यही यथार्थलाई नबुझी पुरानो सांगठनिक सोचमा अघि बढ्नु वैकल्पिक राजनीतिक शक्तिका लागि आत्मघाती साबित हुन पनि सक्छ ।
- अवसर गुम्ने खतरा
जनताले सामूहिक रूपमा परम्परागत शक्तिप्रति अस्वीकृति जनाउने यस्ता क्षणहरू राजनीतिक इतिहासमा बारम्बार आउँदैनन् । आज सबै तह र तप्काका नागरिक—युवा, मध्यम वर्ग, श्रमिक, उद्यमी र बिदेसिएका परिवार—राज्य सञ्चालनप्रति गहिरो असन्तुष्टि व्यक्त गरिरहेका छन् । यस्तो अवस्थामा वैकल्पिक नेतृत्वले समयमै सही निर्णय गर्न सकेन भने यो ऊर्जा परिवर्तनमा रूपान्तरण हुनै नपाई पुनः निराशामा परिणत हुन पनि सक्छ ।
त्यसैले आजको चुनौती केवल चुनाव जित्ने वा केही सिट सुरक्षित गर्ने मात्र होइन । चुनौती हो—जनआकांक्षालाई संस्थागत, साझा र दिगो राजनीतिक शक्तिमा रूपान्तरण गर्ने । यसका लागि सबैभन्दा ठुलो अवरोध बाहिरी शक्ति होइन । वैकल्पिक भनिएका नेतृत्वहरू भित्रै रहेको अहङ्कार, प्रतिस्पर्धा र व्यक्तिगत महत्त्वाकाङ्क्षा हो ।
- त्याग र समर्पणको परीक्षा
ठुला राजनीतिक परिवर्तनहरू त्याग र समर्पणबिना सम्भव हुँदैनन् भन्ने इतिहासले प्रस्ट देखाएको छ । आज कुलमान घिसिङ, बालेन साह, हर्क साम्पाङ, रवि लामिछाने र अन्य वैकल्पिक धाराका नेताहरूबाट पनि जनताले यही अपेक्षा गरेका छन् । नेतृत्वको प्रश्न आज गौण छ। प्रमुख प्रश्न साझा उद्देश्य र साझा यात्राप्रति प्रतिबद्धता नै हो ।आपसी विलय, साझा मोर्चा वा न्यूनतम सहकार्य—जुनसुकै मोडेल किन नहोस्—आजको आवश्यकता स्पष्ट छ : एकअर्कालाई स्वीकार गर्ने राजनीतिक परिपक्वता चाहिएको छ । यो प्रक्रिया पक्कै पनि सजिलो छैन । त्यसका लागी व्यक्तिगत पहिचान, प्रभाव र महत्त्वाकाङ्क्षालाई केही समयका लागि पछि सार्नु पर्ने हुन्छ । राष्ट्र र लोकतन्त्रको हितमा त्यस्तो त्याग अपरिहार्य बन्दै गएको छ ।
- एकता र विखण्डनका सम्भावित परिणाम
यदि कुलमान घिसिङ, बालेन साह र हर्क साम्पाङबिच स्पष्ट एकता र साझा राजनीतिक यात्राको सहमति बन्यो भने त्यसको प्रभाव राष्ट्रिय स्तरमै देखिनेछ । यस्तो शक्तिले परम्परागत दल र राजनीतिक संस्कारमाथि गहिरो चुनौती खडा गर्नेछ र जनसमर्थन अत्यन्त व्यापक बन्न सक्छ ।
पूर्ण एकता सम्भव हुन नसकेको खण्डमा पनि आंशिक सहकार्य—साझा एजेन्डा, चुनावी तालमेल वा न्यूनतम समझदारी—मात्रै गर्न सक्दा पनि वैकल्पिक राजनीतिक शक्ति प्रभावशाली बन्न सक्छ । तर सबै वैकल्पिक नेतृत्वहरू छुट्टाछुट्टै बाटोमा अघि बढे भने आउन सक्ने परिणाम स्पष्टै छ । पक्कै पनि केही सिट त जितिएला, केही दलले थ्रेसहोल्ड पनि पार गर्लान् तर अन्ततः परम्परागत दलहरू नै पुनः सत्ताको केन्द्रमा फर्किने सम्भावना प्रबल रहन्छ । उनीहरूको लामो राजनीतिक अभ्यास र सुदृढ संगठन यसका मुख्य आधार हुन् ।
- निराशाको पुनरावृत्ति कि नयाँ अध्याय?
यदि वैकल्पिक शक्ति विखण्डित रह्यो भने यसको मूल्य केवल चुनावी हारमा सीमित हुँदैन । यसले जनताको परिवर्तनप्रतिको विश्वासलाई गहिरो चोट पुर्याउँछ । यस्तो निराशा लोकतान्त्रिक सहभागिताबाट विमुखता, राजनीतिक उदासीनता वा अस्थिरतामा रूपान्तरण हुन सक्छ, जुन दीर्घकालीन रूपमा देशका लागि घातक हुन्छ । त्यसैले आजको निर्णय सामान्य राजनीतिक रणनीति मात्र होइन । इतिहासप्रतिको जिम्मेवारी हो । आज नेतृत्व ठुलो हुनुको अर्थ पद वा हैसियत होइन । त्याग, समर्पण र साझा प्रतिबद्धता हो ।
त्यसैले, देशले वैकल्पिक राजनीतिक शक्तिलाई अन्तिम अवसरका रूपमा हेरिरहेको छ । कुलमान घिसिङ, बालेन साह, हर्क साम्पाङ, रवि लामिछाने र अन्य नयाँ धाराका नेताका काँधमा तीन करोड नेपालीको अपेक्षा र देशको भविष्य जोडिएको छ। यस्तो अवसर सधैँ आउँदैन। यसलाई संस्थागत परिवर्तनको ढोका बनाउने कि गुमेको इतिहास बनाउने—यो निर्णय आजै लिनुपर्नेछ। इतिहास मौन छ । तर निष्क्रिय पक्कै छैन । त्यसले नियालेर हेर्दैछ। नेतृत्व इतिहास बन्नेछ कि इतिहासमा हराउनेछ भन्ने चाहिँ आजका वैकल्पिक शक्तिले जवाफ दिनुपर्ने प्रश्न हो । आशा गरौँ पक्कै इतिहासको परीक्षामा यसपटक उनीहरू असफल सिद्ध हुने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण