एनपीएलमा उत्कृष्ट प्रदर्शनपछि राष्ट्रिय जर्सीमा अवसर
सारांश
- विनोद भण्डारी राष्ट्रिय टोलीमा फर्किने सम्भावना बढेको छ, उनी क्यानले सार्वजनिक गरेको प्रारम्भिक टोलीमा परेका छन्।
- घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि भण्डारीको पुनरागमन भएको हो, जसलाई उनको परिश्रमको फल मानिएको छ।
- भण्डारीले नेपालका लागि अन्तिम पटक २०२४ मा खेलेका थिए, र उनको अनुभव विश्वकपका लागि महत्त्वपूर्ण हुने अपेक्षा छ।
काठमाडौँ । नेपाली क्रिकेटमा एउटा अनुभवी खेलाडीमध्ये एक नाम हो, विनोद भण्डारी, झन्डै डेढ दशकदेखि नेपाली क्रिकेटको उतारचढावलाई नजिकबाट नियालेका विनोद फेरि एकपटक चर्चामा छन् । उनी चर्चामा रहनुको मुख्य कारण हो– राष्ट्रिय टोलीमा उनको पुनरागमनको बलियो सम्भावना ।
नेपाल क्रिकेट संघ (क्यान) ले भर्खरै सार्वजनिक गरेको २४ जनाको प्रारम्भिक टोलीमा विनोद अटाएका छन्, जसले चर्चा पनि बुटुलेको छ । नेपाली टोलीमा ‘कमब्याक किङ’को उपमा पाएका विनोदको पुनरागमन केवल एउटा संयोग नभई उनको परिश्रम र घरेलु क्रिकेटमा देखाएको निरन्तरताको उपज हो ।
पछिल्लो समय उनले राष्ट्रिय टोली छनोट प्रक्रियामाथि एउटा गम्भीर प्रश्न उठाएका थिए । नेपाल प्रिमियर लिग (एनपीएल) र अन्य घरेलु प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दा पनि टोलीमा नपर्दा उनले कटाक्ष गर्दै भनेका थिए, ‘नेपाल प्रिमियर लिग (एनपीएल) र डोमेस्टिक लिगहरू राष्ट्रिय टोलीको छनोटको आधार हो भनेर कसले भन्छ ?’ दोस्रो संस्करणको एनपीएल दौरानले उनले दिएको यो अभिव्यक्तिले क्रिकेट क्षेत्र तरंगित बनेको थियो ।

लगातार दुई सिजन एनपीएल र प्रधानमन्त्री कपमा ब्याटिङ तथा विकेटकिपिङ दुवैमा अब्बल देखिएपछि अन्ततः छनोटकर्ताहरू उनलाई समेट्न बाध्य भए, यसलाई विनोदको एक सशक्त पुनरागमनका रूपमा हेरिएको छ ।
विनोदले नेपालका लागि अन्तिम पटक १३ मार्च २०२४ मा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध हङकङमा भएको त्रिदेशीय सिरिजमा खेलेका थिए । त्यसपछि उनलाई न त राष्ट्रिय टोलीमा देखियो, न त बन्द प्रशिक्षणका लागि बोलाइएको प्रारम्भिक टोलीमै उनको नाम समावेश गरियो ।
करिब दुई वर्षको अन्तरालपछि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्कनु उनका लागि मात्र नभई नेपाली क्रिकेटका लागि पनि एउटा महत्त्वपूर्ण मोड हो । विशेषगरी विश्वकप छनोट जस्तो ठुलो प्रतियोगिताका लागि तयार पारिएको टोलीमा विनोदको अनुभव र कौशल निकै फलदायी हुने अपेक्षा गरिएको छ । विकेटकिपिङ र ब्याटिङ दुवैमा सुधारिएका विनोद अहिले आफ्नो करिअरको नयाँ मोडमा उभिएका छन् ।
सुदूरपश्चिमको कञ्चनपुरबाट सुरु भएको उनको यात्रा आज नेपाली क्रिकेटको एउटा महत्त्वपूर्ण हिस्सा बनेको छ । घरेलु क्रिकेटमा त उनको दबदबा लोभलाग्दो छ । त्रिभुवन आर्मी क्लबको कप्तानी गर्दै उनले टोलीलाई धेरै सफलता दिलाएका छन् भने घरेलु प्रतियोगितामा शतक प्रहार गर्ने सीमित खेलाडीको सूचीमा उनी पर्छन् । सन् २००९ मा राष्ट्रिय टोलीमा डेब्यु गरेदेखि नै उनले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

विनोदको अन्तर्राष्ट्रिय उदयको कथा निकै रोचक र प्रेरणादायी छ । सन् २००९ मा संयुक्त अरब इमिरेट्समा भएको एसीसी टी–२० कपमा कुवेतविरुद्धको खेलले उनलाई रातारात स्टार बनायो । नेपाललाई जितका लागि अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा विनोदले छक्का प्रहार गर्दै टोलीलाई सनसनीपूर्ण जित दिलाएका थिए । त्यही एउटा छक्काले उनलाई नेपाली क्रिकेटमा ‘पावर हिटर’ को पहिचान दियो । उनी आफैँले पनि विभिन्न सञ्चारमाध्यमहरूसँगको कुराकानीमा त्यो पललाई आफ्नो जीवनको सबैभन्दा ठुलो र अविस्मरणीय उपलब्धि मान्ने गरेका छन् ।
अन्तर्राष्ट्रिय मञ्चमा उनको १५ वर्ष लामो यात्रा निकै संघर्षपूर्ण र उपलब्धमूलक छ । सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा नेपालले ऐतिहासिक सहभागिता जनाउँदा उनी टोलीका मेरुदण्ड थिए ।
हङकङ, बंगलादेश र अफगानिस्तान विरुद्धका खेलहरूमा उनले विकेट पछाडिबाट देखाएको सक्रियता र ब्याटिङको आत्मविश्वासले नेपालको विश्वकप यात्रालाई स्मरणीय बनाएको थियो । उनले हालसम्म ४१ टी–२० अन्तर्राष्ट्रिय र १७ एकदिवसीय खेल खेलिसकेका छन् । एकदिवसीय क्रिकेटमा अमेरिका विरुद्धको अर्धशतक र टी–२० मा विभिन्न देशविरुद्ध खेलेका आक्रामक पारिहरूले उनको क्षमतालाई प्रमाणित गर्छन् । विकेटकिपरका रूपमा त उनी नेपालका सफल खेलाडीमध्ये एक हुन्, जसको नाममा सबैभन्दा धेरै स्टम्पिङ र क्याचको रेकर्ड सुरक्षित छ ।
विनोदको क्षमता एनपीएलमा पनि उत्तिकै प्रस्ट देखियो । सुदूरपश्चिम रोयल्सलाई लगातार दुई सिजन फाइनलसम्म पुर्याउन उनको खेल कौशलले ठुलो काम गर्यो । मैदानमा उनले प्रदर्शन यो पटक पनि लोभलाग्दो देखियो ।
एनपीएलको क्वालिफायर पुगेपछि उनले सञ्चारकर्मीहरूसँग भनेका थिए, ‘मैले राष्ट्रिय टोलीमा कसरी पर्ने भन्ने कुरा सोच्न छाडिसकेको छु । मेरो लक्ष्य त केवल आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने र आउने युवा खेलाडीहरूलाई घरेलु प्रतियोगिता नै राष्ट्रिय टोलीको ढोका हो भन्ने सन्देश दिनु हो ।’
उनको यो भनाइले नेपाली टोलीमा पर्ने सपना देख्ने अन्य खेलाडीको पनि धारणा बन्यो ।
हुन त विनोदको करिअर सधैँ सहज रहेन । सफलतासँगै उनले चर्को आलोचनाको पनि सामना गर्नुपर्यो । कहिले खराब फर्मका कारण टोलीबाट बाहिरिनु त कहिले ब्याटिङको शैलीलाई लिएर प्रश्न उठ्नु उनका लागि सामान्यजस्तै भयो । तर उनी हरेक पटक अझ बलियो भएर मैदान फर्किए ।

यही जुझारू स्वभावका कारण उनलाई धेरैले ‘कमब्याक किङ’को उपनाम दिएका छन् । राष्ट्रिय टोलीबाट बाहिर रहेको समयमा पनि उनले नेपाली टोलीको खेललाई नजिकबाट नियालेका थिए, जसले उनलाई टोलीको कमजोरी र सुधार गर्नुपर्ने पक्षहरूबारे राम्रो ज्ञान दिएको छ ।
वर्तमान नेपाली टोलीमा विनोदको पुनरागमनले नयाँ ऊर्जा थप्ने निश्चित छ । कप्तान रोहित पौडेल र सन्दीप लामिछाने जस्ता वर्तमान स्टारहरूले पनि विनोदलाई आफ्नो मेन्टर मान्छन् र उनीसँगको अनुभवबाट धेरै कुरा सिकेको स्विकार्छन् ।
३४ वर्षको उमेरमा पनि उनको फिटनेस र खेलप्रतिको भोक कुनै युवा खेलाडीको भन्दा कम छैन । १५ वर्षको लामो यात्रा, घरेलु क्रिकेटको कप्तानी, एनपीएलको सफलता र खेलप्रतिको अटल समर्पणले उनलाई फेरि राष्ट्रिय जर्सीमा फर्कने बाटो प्रशस्त गरिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026