शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
वैदेशिक व्यापार

वैदेशिक व्यापार बढ्यो, घाटा उस्तै

पाँच महिनामा साढे ६ खर्ब नाघ्यो नेपालको व्यापार घाटा
सोमबार, ०७ पुस २०८२, १८ : ४१
सोमबार, ०७ पुस २०८२

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन–मङ्सिर) मा नेपालको कुल वैदेशिक व्यापार २०.०७ प्रतिशतले बढेर ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । 

विभागका अनुसार पेट्रोलियम पदार्थ र मेसिनरी वस्तुको उच्च आयातका कारण व्यापार घाटामा १० प्रतिशतभन्दा बढीको वृद्धि भई साढे ६ खर्ब नाघेको छ, यद्यपि आयात–निर्यातको अनुपातमा भने केही सुधार देखिएको छ । 

यस्तै उक्त अवधिमा १ खर्ब ९७ अर्ब ५९ करोड ९८ लाख ११ हजार रुपैयाँ भन्सार विन्दुमा राजस्व संकलन भएको छ । 

कति बढ्यो आयात-निर्यात ? 

यस अवधिमा निर्यातमा ५८ प्रतिशतको वृद्धि छ भने आयातमा पनि १५.८३ प्रतिशतको वृद्धि भएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा नेपालले १ खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको मात्र निर्यात भएको थियो । यो अघिल्लो वर्षको तुलनामा ५८.१७ प्रतिशतको वृद्धि हो ।

यस्तै चालु आर्थिक वर्षको ५ महिनामा ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्ष ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यो अघिल्लो वर्षको तुलनामा १५.८३ प्रतिशतले बढी हो । निर्यातमा उल्लेख्य वृद्धि भएपनि उच्च आयातका कारण मुलुकको व्यापार घाटा भने कायमै छ । 

अघिल्लो वर्ष ८.९८ रहेको आयात–निर्यात अनुपात घटेर यस वर्ष ६.५८ मा झरेको छ । निर्यातको हिस्सा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.०२ प्रतिशतबाट बढेर १३.२० प्रतिशत पुगेको छ ।

सबैभन्दा धेरै आयात के-के भए ? 

कुल आयात हुने वस्तुमध्ये सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थको छ । पाँच महिनामा १ खर्ब २१ अर्ब ३६ करोड ८६ लाख ९३ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । दोस्रोमा ६३ अर्ब ५० करोड ९९ लाख रुपैयाँको फलाम तथा फलामजन्य वस्तु आयात भएको छ । 

यसैगरी सबैभन्दा धेरै आयात हुनेमध्ये शीर्ष तेस्रोमा ६३ अर्ब १४ करोड ५८ लाख ९८ हजार रुपैयाँको खाने तेल तथा घ्यू आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । यस्तै २६ अर्ब ७८ करोड ५८ लाख १६ हजार रुपैयाँको तरकारी तथा फलफूल २२ अर्ब ७२  करोड ३० लाख १३ हजार रुपैयाँको खाद्यान्न आयात भएको छ । 

यस्तै ५३ अर्ब ९३ करोड ३७ लाख रुपैयाँको इलेक्ट्रिकल सामग्री, ५२ अर्ब २४ करोड १ लाख रुपैयाँ बराबरको बैलिङ मेसिन, ४७ अर्ब १९ करोड ३४ लाख रुपैयाँ बराबरको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ । 

त्यसैगरी २७ अर्ब ३५ करोड ४५ लाख ५८ हजार रुपैयाँको प्लास्टिकजन्य सामग्री १८ अर्ब २० करोड ८० लाख १६ हजार रुपैयाँको फर्माटिकल प्रोडक्ट, ३२ अर्ब १५  करोड ११ लाख ६९ हजार रुपैयाँको रासायनिक मल आयात भएको छ । 

निर्यातमा ठुलो हिस्सा खाने तेलको

निर्यातको ठुलो हिस्सा खाने तेलको रहेको छ । पाँच महिनामा ५४ अर्ब ४५ करोड ४८ लाख १६ हजार रुपैयाँको खाने तेल तथा घ्यू निर्यात भएको छ । १२ अर्ब ४२ करोड ३९ लाख ६० हजार रुपैयाँको धागो निर्यात भएको छ । ८ अर्ब १६ करोड १० लाख ८९ हजार रुपैयाँको चिया कफी तथा मसलाजन्य वस्तु निर्यात भएको छ । ७ अर्ब ६८ करोड २० लाख ३४ हजार रुपैयाँको कपडा, ४ अर्ब ५८ करोड ८० लाख ३६ हजार रुपैयाँको गलैँचा  निर्यात भएको छ । 

३ अर्ब ८ करोड ६७ लाख रुपैयाँको बोटबिरुवा, २ अर्ब ९५ करोड १५ लाख ७५ हजार रुपैयाँको पशुजन्य आहार, १ अर्ब ४८ करोड १२ लाख ११ हजार रुपैयाँको फलामतथा फलामजन्य सामग्री निर्यात भएको छ । १ अर्ब २९ करोड १८ लाख ४४ हजार रुपैयाँको जुत्ता-चप्पल निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । 

१११ मुलुकसँग व्यापार घाटा

नेपालले कुल १४८ मुलुकसँग व्यापार गरेकोमा ३४ वटासँग मात्रै नाफा भएको छ । ११४ मुलुकसँग नेपालको घाटा छ । यसमध्ये सबैभन्दा ठुलो व्यापार घाटा भारतसँग भएको छ । भारतबाट ४ खर्ब ३४ अर्ब ६ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा ९५ अर्ब ४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यसअनुसार भारतसँग ३ खर्ब ३९ अर्ब २ करोड बराबरको व्यापार घाटा छ ।

यसैगरी दोस्रोमा चीनसँगको व्यापार घाटा छ । चीनबाट १ खर्ब ६३ अर्ब ७३ करोड बराबरको वस्तु आयात हुँदा ४६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यस अनुसार चीनसँग १ खर्ब ६३ अर्ब २६ करोड बराबरको व्यापार घाटा देखिएको छ । साथै अर्जेन्टिनासँग तेस्रो ठुलो घाटा व्यहोरेको छ । अर्जेन्टिनाबाट ४४ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा ८ लाख बराबरको वस्तु नेपालले निर्यात गरेको छ । यसअनुसार अर्जेन्टिनासँग ४४ अर्ब ५६ करोड बराबरको व्यापार घाटा रहेको देखिन्छ । 

यस्तै क्रमश: यूएई, अमेरिका इन्डोनेसिया, थाइल्याण्ड, ब्राजिल लगायत ११४ मुलुकसँग व्यापार घाटा व्यहोरेको विभागको तथ्यांकले देखाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप