बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बागमती सरकार

मुख्य आम्दानीको स्रोत नै कमजोर हुँदा राजस्व लक्ष्य प्रभावित

मङ्गलबार, ०८ पुस २०८२, ०७ : २६
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ५ महिनामा राजस्व संकलनको लक्ष्य पूरा गर्न सकेन, जम्मा २३.८८ प्रतिशत मात्र संकलन भयो।
  • घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन करमा कमी आउँदा राजस्व प्रभावित भएको छ, जसका कारण अपेक्षाअनुसार रकम उठ्न सकेन।
  • आर्थिक तरलताको अभाव र जेनेनी प्रदर्शनका कारण राजस्व संकलनमा असर परेको छ, भने पुँजीगत खर्च ४.४७ प्रतिशतमा सीमित छ।

हेटौँडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को ५ महिनाको अवधिमा लक्ष्यअनुसार राजस्व संकलन गर्न चुकेको छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार साउनदेखि मंसिरसम्म प्रदेश सरकारले लक्ष्यको मात्र २३.८८ प्रतिशत मात्र राजस्व संकलन भयो । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ५ महिनामा १६ अर्ब ११ करोड ७ लाख ८२ हजार रुपैयाँ मात्र संकलन भएको मन्त्रालयले जनाएको छ । 

प्रदेशको मुख्य आम्दानी स्रोत मानिने घरजग्गा रजिस्ट्रेसन (मालपोत) तथा सवारीसाधन कर तर्फको प्रगति कमजोर हुँदा समग्र राजस्व नै प्रभावित भएको हो । सो दुई शीर्षक तथा बाँडफाँटसमेतबाट आर्थिक वर्ष २०८२/०८३ मा २० अर्ब ८९ करोड ११ लाख ८९ हजार रुपैयाँ संकलन हुने अनुमान प्रदेश सरकारले गरेको थियो । तर ५ महिनामा ८ अर्ब ८४ करोड ४७ लाख ७७ हजार रुपैयाँ मात्र संकलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता श्रीकृष्ण आचार्यले जानकारी दिए । 

उनका अनुसार घरजग्गा रजिस्ट्रेसन शीर्षकबाट चालु आर्थिक वर्षमा ७ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहे पनि ५ महिनामा लक्ष्यको २१.६७ प्रतिशत (१ अर्ब ६६ करोड ८५ लाख ५९ हजार रुपैयाँ) मात्र उठेको छ । 

सवारीसाधन जाँचपास, रुट परमिट, सवारी चालक अनुमतिपत्र वितरण तथा नवीकरणसम्बन्धी कर शीर्षकबाट ८ अर्ब २५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य थियो, तर पाँच महिनामा ३५.८६ प्रतिशत (२ अर्ब ९५ करोड ८६ लाख २३ हजार रुपैयाँ) राजस्व संकलन भएको छ । 

बाँडफाँटमार्फत प्राप्त हुने मूल्य अभिवृद्धि कर भ्याटतर्फ ८ अर्ब ७९ करोड ८६ लाख ६७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म ३ अर्ब ६ करोड ८६ लाख ७१ हजार रुपैयाँ (३४.८५ प्रतिशत) संकलन भएको मन्त्रालयले जनाएको छ । 

प्रदेश सरकारको आन्तरिक स्रोतबाट चालु आर्थिक वर्षमा ४ अर्ब ७७ करोड ७४ लाख २५ हजार रुपैयाँ संकलन हुने अनुमान गरिएकोमा पाँच महिनामा लक्ष्यको ३१.४४ प्रतिशत (१ अर्ब ५० करोड २१ लाख ९७ हजार रुपैयाँ) मात्र संकलन भएको छ । 

अन्तःशुल्क करतर्फ ४ अर्ब ३ करोड ७९ लाख ९ हजार रुपैयाँ अनुमान गरिएकोमा १ अर्ब ७ करोड २२ लाख ५९ हजार रुपैयाँ (२६.५६ प्रतिशत) मात्र प्राप्त भएको छ । 

संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत १४ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा ५ महिनामा ३८.३८ प्रतिशत (५ अर्ब ६५ करोड ७५ लाख ३० हजार रुपैयाँ) मात्र प्राप्त भएको प्रवक्ता आचार्यले बताए । 

प्रदेश सरकारको आन्तरिक स्रोतबाट चालु आर्थिक वर्षमा ४ अर्ब ७७ करोड ७४ लाख २५ हजार रुपैयाँ संकलन हुने अनुमान गरिएकोमा पाँच महिनामा लक्ष्यको ३१.४४ प्रतिशत (१ अर्ब ५० करोड २१ लाख ९७ हजार रुपैयाँ) मात्र संकलन भएको छ । 

आर्थिक तरलताको अभाव, घरजग्गा तथा नयाँ सवारीसाधन खरिद–बिक्रीमा आएको कमीका कारण प्रदेश सरकारले राजस्व संकलन अपेक्षाअनुसार गर्न नसकेको उनको भनाइ छ । साथै गत भदौ २३ र २४ गते भएको जेनेनी प्रदर्शनका क्रममा राजस्व संकलन गर्ने विभिन्न कार्यालयमा पुगेको क्षतिका कारण पनि राजस्व संकलन कमजोर बनेको उनले बताए । 

पुँजीगत खर्च ४.४७ प्रतिशतमा सीमित 

राजस्व संकलनसँगै प्रदेश सरकारको बजेट खर्चको अवस्था पनि कमजोर देखिएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा प्रदेश सरकारले कुल बजेटको ९.८५ प्रतिशत मात्र खर्च गरेको छ । 

मन्त्रालयगत रूपमा आर्थिक मामिला तथा योजना मन्त्रालयले सबैभन्दा बढी २१.७८ प्रतिशत बजेट खर्च गरेको छ भने संस्कृति तथा पर्यटन मन्त्रालयले सबैभन्दा कम १.४८ प्रतिशत मात्र खर्च गरेको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट ल्याएकोमा ५ महिनामा ६ अर्ब ६४ करोड ६२ लाख ८ हजार रुपैयाँ मात्र खर्च भएको प्रवक्ता आचार्यले जानकारी दिए । जसमध्ये पुँजीगततर्फ १ अर्ब ८५ करोड २६ लाख रुपैयाँ (४.४७ प्रतिशत) र चालुतर्फ ४ अर्ब ७९ करोड २५ लाख रुपैयाँ (१८.४१ प्रतिशत) खर्च भएको छ । 

मन्त्रालयगत रूपमा आर्थिक मामिला तथा योजना मन्त्रालयले सबैभन्दा बढी २१.७८ प्रतिशत बजेट खर्च गरेको छ भने संस्कृति तथा पर्यटन मन्त्रालयले सबैभन्दा कम १.४८ प्रतिशत मात्र खर्च गरेको छ । स्वास्थ्य मन्त्रालयले २०.५४ प्रतिशत, श्रम, रोजगार तथा यातायात मन्त्रालयले १९.५५ प्रतिशत, सामाजिक विकास मन्त्रालयले १०.७० प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले ७.१२ प्रतिशत र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले ४.४४ प्रतिशत बजेट खर्च गरेका छन् । 

त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १३.७१ प्रतिशत, प्रदेशसभा सचिवालयले २४.५० प्रतिशत, प्रदेश लोकसेवा आयोगले २९.९० प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले २३.६७ प्रतिशत र प्रदेश नीति तथा योजना आयोगले १९.०४ प्रतिशत बजेट खर्च गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप