आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

सस्तोमै ‘सुनको इँटा’ किन्न भारत पुगेका नेपाली लुटिए, दुई भारतीय पक्राउ

मङ्गलबार, ०८ पुस २०८२, १२ : ०९
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • कञ्चनपुरका एक दम्पतीलाई सुनको इँटा बेच्ने प्रलोभनमा पारी २० लाख ठगी गरिएको छ।
  • भारतीय नागरिकले ह्वाट्सएपमार्फत सम्पर्क गरी सुनको इँटा देखाएर रकम लुटेका थिए।
  • प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरी उनीहरूको साथबाट नगद र नक्कली सुन बरामद गरेको छ।

काठमाडौँ । छिटो र सजिलै धन कमाउने लालचले मानिसलाई कहिलेकाहीँ नराम्रोसँग फसाउँछ भन्ने पछिल्लो उदाहरण सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला निवासी एक दम्पती बनेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार वेदकोट नगरपालिका–१ निवासी यज्ञराजलाई ह्वाट्स एपमा एउटा नम्बरबाट कसैले ‘कल’ गर्‍यो । पुरानो घर भत्काएर जमिन खन्ने क्रममा एउटा सुनको इँटा फेला परेको, उक्त इँटाको आधा हिस्सा आफूले बेचिसकेको र बाँकी आधा हिस्सा बेच्न चाहेको भनेर यज्ञराजलाई कसैले फोनबाट जानकारी गरायो ।

उक्त इँटा किन्ने हो भने २० लाख नेपाली रुपैयाँ लिएर आउन भन्दै उक्त व्यक्तिले यज्ञराजलाई एउटा ठेगानासमेत पठायो ।

चार दिन अघि यज्ञराज आफ्नी पत्नीसहित उक्त ठेगानामा पुगे । उनले आफूसँग २० लाख रुपैयाँ नरहेको तर सुन लिन इच्छुक रहेको भन्दै दररेट केही कम गर्न आग्रह गरे । त्यसपछि दुई भारतीय नागरिकले उनलाई डराइ–धम्काइ उनीसँग भएको रकम लिएर फरार भए ।

यज्ञराजले आफू लुटिएपछि भारतीय प्रहरी कार्यालयमा उजुरी दिए । उनको उजुरीमाथि कारबाही प्रक्रिया अघि बढाउँदै भारतीय प्रहरीले दुवै आरोपितलाई नियन्त्रणमा लिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार जैनुद्दीन अली र रिजवान खाँ नाम गरेका दुई भारतीय नागरिक पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट एक लाख २५ हजार नेपाली रुपैयाँ, एउटा पल्सर बाइक, ३२२ ग्रामको नक्कली सुनको इँटासमेत बरामद भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ परेका दुवैविरुद्ध भारतीय प्रहरीले कानुनी कारबाही अघि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप