बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राष्ट्रियसभा निर्वाचन

कोशीमा कसको मतभार कति ?

कांग्रेस-एमालेले गठबन्धन गरे अरू दलको अवस्था कमजोर हुने
मङ्गलबार, ०८ पुस २०८२, १३ : ४३
मङ्गलबार, ०८ पुस २०८२

विराटनगर । राष्ट्रियसभाको निर्वाचनको तयारीमा दलहरु लागिसकेका छन् । माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले पुस २३ गते उम्मेदवार मनोनयनको मिति तोकेको छ । 

५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य नयाँ आउने व्यवस्था छ । जसअनुसार यस पटक निर्वाचनबाट १८ जना राष्ट्रियसभामा जानेछन् । एक जना भने राष्ट्रपतिबाट मनोनयन गर्ने कानुनी व्यवस्था छ । १८ पदका लागि हुने निर्वाचनमा कोशीमा दलिततर्फ एक जना, महिलातर्फ एक र अन्य समूहतर्फ एक जनाको निर्वाचन हुनेछ ।

दलित कोटाबाट कोशीबाट निर्वाचित माओवादीका गोपी अछामी, अन्य समूहबाट एमालेका देवेन्द्र दाहाल र महिला कोटाबाट निर्वाचित इन्दु गौतमको कार्यकाल सकिने छ । अछामी मोरङबाट, दाहाल झापा र गौतम सुनसरीका थिए ।

निर्वाचनको मिति नजिकिँदै गर्दा कांग्रेसले प्रदेशका सबैजसो जिल्लाहरूबाट आएका नामावलीलाई एकीकृत गरी केन्द्रमा पठाएको हो । जसमा राष्ट्रियसभातर्फ कोशी प्रदेशको तीन पदमा १३१ जनाको नाम केन्द्रमा पठाएको कांग्रेस कोशी प्रदेशका मुख्य सचिव नारायण कोइरालाले जानकारी दिए । एमाले र नेपाली कम्युनिस्ट पार्टीले भने नाम सिफारिस गरिसकेका छैनन् । 

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस र एमालेका नेताहरुबिच गठबन्धनका लागि भेटवार्ता चलिरहेको छ । नेपाली कम्युनिस्ट पार्टीका नेताहरुले पनि चुनावी गठबन्धनका लागि कांग्रेससँग छलफल चलिरहेको बताएका छन् । यद्यपि २०७८ साल माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, तत्कालीन माओवादी र एकीकृत समाजवादी लगायतले गठबन्धन गरेका थिए भने एमाले र राप्रपाले अर्को गठबन्धन गरेका थिए । यद्यपि उक्त निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनले मत बढी हुँदाहुँदै पनि निर्वाचनमा पराजय व्यहोर्नु परेको थियो ।

निर्वाचन आयोगका अनुसार माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ । निर्वाचन कार्यतालिका अनुसार आगामी पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ । पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारी फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । यस्तै पुस २८ गते निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । 

कोशी प्रदेशमा कसको कति मतभार ?

कोशीमा राष्ट्रियसभाका लागि ३६७ मतदाता छन् । तीमध्ये ९३ जना प्रदेशसभा सदस्य हुन् । प्रदेशसभा सदस्यको मतभार ५३ हो । स्थानीय तहका २७४ प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ । प्रदेश र स्थानीय गरेर एमालेको ४ हजार २१०, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २९७, राप्रपाको ३९४, एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ । 

यद्यपि राष्ट्रियसभाको यसअघिका दुईवटा निर्वाचनमा दलहरूबीच गठबन्धन भएपनि कोशी प्रदेशमा पूर्ण सफल हुन भने सकेको छैन । २०७८ माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा मत क्रस हुँदा तत्कालीन सत्ता गठबन्धन (कांग्रेस–माओवादी–एकीकृत समाजवादी–जसपा)का साझा उम्मेदवार जसपाका हेमराज राईलाई पराजित गर्दै एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका थिए । तर त्यसबेला सत्ता गठबन्धनको मत र एमाले गठबन्धनको मतको अन्तर निकै कम थियो । त्यसबेला स्थानीय तहतर्फबाट गठबन्धनका २९ जनाले फ्लोर क्रस गरेर एमालेका शेर्पालाई मत दिएका थिए ।
 
यस्तै २०८० माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनमा रोचक हारजित भएको थियो । सत्तारुढ गठबन्धन (कांग्रेस–माओवादी–एकीकृत समाजवादी)को मतभार बढी हुँदाहुँदै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी थिइन् । गठबन्धनका अर्का उम्मेदवार कांग्रेसका कृष्णप्रसाद सिटौलाले पनि आफ्नो गठबन्धनको सबै मत पाएका थिएनन् । 

सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा विपक्षी गठबन्धन (एमाले–राप्रपा)का उद्धव पौडेलले ४७ सांसदको मत पाए । यस्तै उम्मेदवारी निष्क्रिय बनाएपनि एमालेका पर्शुराम अधिकारीले एक जना सांसदको मत पाए । यसैगरी स्थानीय तहतर्फ सिटौलाले १५३ जनाको मत पाउँदा उद्धवले १०९ जनाको मात्रै मत पाएका थिए ।
 
उता, महिलातर्फको निर्वाचनमा भने सत्ता गठबन्धनकी उम्मेदवार माओवादीकी चम्पा कार्कीलाई एमालेकी रुक्मिणी कोइरालाले पराजित गरेकी थिइन् । गठबन्धन गर्दा यसअघिका राष्ट्रियसभा निर्वाचनको परिणामले पहिलो र दोस्रो ठुला पार्टी कांग्रेस र एमालेले आफ्ना उम्मेदवार सुरक्षित गर्न सफल भएका थिए भने तेस्रो दल माओवादी भने असुरक्षित बनेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप