मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

शेफाली वर्माको विस्फोटक ब्याटिङ, शृङ्खलामा भारतको २–० को अग्रता

बुधबार, ०९ पुस २०८२, ०९ : ०४
बुधबार, ०९ पुस २०८२

सारांश

  • भारतीय महिला क्रिकेट टोलीले दोस्रो टी-२० खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्यो र शृङ्खलामा २-० को अग्रता लियो।
  • विशाखापट्टनममा भएको खेलमा भारतले पहिले ब्याटिङ रोजेर श्रीलंकालाई १२८ रनमा रोकेको थियो।
  • शेफाली वर्माको अर्धशतकको मद्दतले भारतले ११.५ ओभरमा लक्ष्य पूरा गर्यो।

विशाखापट्टनम । भारतीय महिला क्रिकेट टोलीले दोस्रो टी–२० खेलमा श्रीलङ्कालाई ७ विकेटले पराजित गर्दै पाँच खेलको शृङ्खलामा २–० को बलियो अग्रता बनाएको छ। 

विशाखापट्टनममा मंगलबार भएको खेलमा भारतले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो। जवाफी ब्याटिङमा उत्रिएको भारतले शेफाली वर्माको विस्फोटक अर्धशतकको मद्दतले मात्र ११.५ ओभरमा लक्ष्य पूरा गर्‍यो।

१२९ रनको मध्यम लक्ष्य पछ्याएको भारतका लागि ओपनर शेफाली वर्माले मात्र २७ बलमा अर्धशतक पूरा गर्दै टोलीको जित सहज बनाइन्। शेफाली ६९ रनमा अविजित रहँदा जेमिमा रोड्रिग्जले २६ र स्मृति मन्धानाले १४ रन जोडे। कप्तान हरमनप्रीत कौर १० रनमा अविजित रहिन्।

श्रीलङ्काका लागि मालकी मदारा, काव्या कविन्दी र कविषा दिलहारीले समान १–१ विकेट लिए पनि भारतीय ब्याटरहरूलाई रोक्न सकेनन्।
यसअघि श्रीलङ्काले खराब सुरुवात गरेको थियो। ओपनर विष्मी गुणारत्ने मात्र १ रनमा आउट भइन्। कप्तान चामरी अटापट्टुले ३१ र हर्षिता समरविक्रमाले ३३ रन बनाएर टोलीलाई उकास्ने प्रयास गरे पनि अन्य ब्याटर चल्न सकेनन्।

भारतीय स्पिनर श्री चरणी र वैष्णवी शर्माले २–२ विकेट लिएर श्रीलङ्काको इनिङ्स धराशयी पारे। स्नेह राणा र क्रान्ति गौडले १–१ विकेट हात पारे भने श्रीलङ्काका तीन ब्याटर रन आउट हुन पुगे।

पहिलो खेल ८ विकेटले जितेको भारतले यो जितसँगै शृङ्खलामा आफ्नो दबदबा कायम राखेको छ। अब यी दुई टोलीबीचको तेस्रो टी–२० खेल डिसेम्बर २६ मा तिरुवनन्तपुरममा हुनेछ। शृङ्खलाका बाँकी दुई खेल पनि सोही स्थानमा हुने तय भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप