बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रहरी जवान, भान्छे र कुचीकारका रिक्त पदमा वैकल्पिक उम्मेदवार सिफारिस

बुधबार, ०९ पुस २०८२, २० : २०
बुधबार, ०९ पुस २०८२

काठमाडौँ । नेपाल प्रहरीले प्रहरी जवान (जनपद समूह) तथा भान्छे र कुचीकार पदका लागि वैकल्पिक सूचीमा रहेका योग्य उम्मेदवारहरूलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै उम्मेदवारहरूलाई आवश्यक कागजातसहित तोकिएको मिति र स्थानमा उपस्थित हुन आग्रह गरेको हो । 

नेपाल प्रहरी प्रधान कार्यालयबाट गत कात्तिक २१ गते प्रकाशित अन्तिम नतिजामा उत्तीर्ण भई सिफारिस भएका उम्मेदवारहरूमध्ये रिक्त रहेका प्रहरी जवान (जनपद समूह) पदमा खुला तथा समावेशी समूहका वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूलाई योग्यताक्रमअनुसार नियुक्तिका लागि सिफारिस गरिएको छ । 

त्यसैगरी नेपाल प्रहरी प्रधान कार्यालयबाट मिति वैशाख ३१ गते प्रकाशित अन्तिम नतिजामा उत्तीर्ण भई सिफारिस भएका उम्मेदवारहरूमध्ये विभिन्न कारणले रिक्त भएका भान्छे र कुचीकार (कार्यालय सहयोग) पदमा पनि खुला तथा समावेशी समूहका वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूलाई योग्यताक्रमअनुसार नियुक्तिका लागि सिफारिस गरिएको छ । 

दुवै पदमा नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरूले आफ्नो प्रवेशपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, आफूले प्राप्त गरेका शैक्षिक योग्यताका सक्कल प्रमाणपत्रहरू र तिनका १/१ प्रतिलिपिहरू, साथै ५ प्रति पासपोर्ट साइजको फोटो अनिवार्य साथमा लिएर उपस्थित हुनुपर्नेछ ।

यी सबै उम्मेदवारहरूलाई पुस १३ गते आइतबार बिहान ११ बजेदेखि सम्बन्धित परीक्षा केन्द्रहरूमा उपस्थित हुन सूचित गरिएको छ ।

प्रहरी जवान पदका उम्मेदवारहरूका लागि प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, राजविराज, दुधौली, बुटवल, नेपालगञ्ज, दिपायल र काठमाडौँ उपत्यका प्रहरी शिक्षालय परीक्षा केन्द्र तोकिएको छ भने भान्छे र कुचीकार पदका उम्मेदवारहरूका लागि प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, बुटवल, नेपालगञ्ज र काठमाडौँ उपत्यका प्रहरी शिक्षालय तोकिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप