बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन्: उपराष्ट्रपति यादव

शुक्रबार, ११ पुस २०८२, ०४ : ४८
शुक्रबार, ११ पुस २०८२

सारांश

  • उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिकलाई बोझ नभई बोधको स्रोत मान्नुपर्ने बताए ।
  • उनले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि पूर्वाधार, सुरक्षा र स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
  • उपराष्ट्रपतिले युवा पुस्तालाई ज्येष्ठ नागरिकको अनुभव र मार्गदर्शनबाट सिक्न आग्रह गरे ।

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् ।

उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिकको गरिमालाई अक्षुण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, सामाजिक सुरक्षा, सामुदायिक सहारा र मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी रहेको उल्लेख गरेका छन् । “परिवारमा उहाँहरूको उपस्थितिलाई मूल स्तम्भका रूपमा सम्मान गर्नु हाम्रो संस्कृतिको आधार हो”, उपराष्ट्रपतिले भनेका छन् ।

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपतिले युवापुस्ताले ज्येष्ठ नागरिकलाई वृद्ध मात्र नभई अनुभव, ज्ञान र मार्गदर्शनका स्रोतका रूपमा लिनुपर्ने स्पष्ट पारेका छन् ।

ज्येष्ठ नागरिकको विचारलाई सम्मानपूर्वक ग्रहण गर्नु, सामाजिक गतिविधिमा सहभागिता सुनिश्चित गर्नु, डिजिटल साक्षरतादेखि स्वास्थ्य सेवासम्मको पहुँचमा साथ दिनु आजको आवश्यकता भएको उपराष्ट्रपतिको कथन छ । उनले यसैबाट पुस्ताबिचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

“हाम्रो पूर्वीय दर्शनले ज्येष्ठ नागरिकलाई ‘जीवनको दियो’ मानेको छ । आधुनिकताको नाममा उनीहरूको उपेक्षा गर्नु पारिवारिक र सामाजिक मूल्यको पतन हो । संस्कृति र आधुनिकताको समन्वय गर्दै उनीहरूको गरिमा पुनः स्थापित गर्नु हाम्रो साझा दायित्व बन्न सक्नुपर्दछ”, उपराष्ट्रपति यादवले सन्देशमा भनेका छन् ।

उपराष्ट्रपतिले भने, “वृद्धावस्था जीवनको अन्त्य होइन, अनुभव र मार्गदर्शनको उत्कर्ष हो । ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, सुरक्षित र सुखद बनाउन सबैमा हार्दिक अनुरोध गर्दै उहाँहरूको सुस्वास्थ्य र सुखमय जीवनको लागि हार्दिक मङ्गलमय कामना गर्दछु ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप