सन् २०३२ मा घरको आकार बराबरको क्षुद्रग्रह चन्द्रमामा ठोक्किने खतरा
सारांश
- सन् २०३२ मा घरको आकारको क्षुद्रग्रह चन्द्रमामा ठोक्किने ४ प्रतिशत सम्भावना रहेको छ।
- क्षुद्रग्रह ठोक्किएर निस्कने साना टुक्राहरू पृथ्वीको तल्लो कक्षसम्म छरिने १ प्रतिशत सम्भावना छ।
- वैज्ञानिकहरूले क्षुद्रग्रहको अध्ययन गर्न विशेष मिसन पठाउने र यसलाई बाटो मोड्न खोज्नेछन्।
काठमाडौँ । सन् २०३२ मा एउटा घरको आकार बराबरको क्षुद्रग्रह चन्द्रमामा ठोक्किने सम्भावना करिब ४ प्रतिशत रहेको छ। यति मात्र होइन, ‘२०२४ वाईआर ४’ नाम दिइएको उक्त क्षुद्रग्रह चन्द्रमामा ठोक्किएर त्यसबाट निस्कने साना टुक्राहरू पृथ्वीको तल्लो कक्षसम्म छरिने सम्भावना पनि करिब १ प्रतिशत छ।
यसले अन्तरिक्षमा रहेका भूउपग्रह र अन्तरिक्ष यात्रीहरूलाई ठूलो क्षति पुऱ्याउन सक्छ। डिसेम्बर १७ मा आयोजित ‘अमेरिकन जियोफिजिकल युनियन’ को वार्षिक बैठकमा नासाका एयरोस्पेस इन्जिनियर ब्रेन्ट बार्बीले भने, ‘यसले पृथ्वीको कक्षमा रहेका हाम्रा सम्पत्तिहरूका लागि ठूलो जोखिम निम्त्याउन सक्छ।’
यदि वाईआर ४ चन्द्रमामा ठोक्किएमा यसले करिब ६० लाख मेट्रिक टन टीएनटी विस्फोट भए बराबरको ऊर्जा उत्पन्न गर्नेछ, जुन हिरोसिमामा खसालिएको बमभन्दा ४०० गुणा बढी शक्तिशाली हुनेछ।
खतराको सम्भावना
सन् २०२४ डिसेम्बरमा पत्ता लागेको यो क्षुद्रग्रह सुरुमा पृथ्वीमै ठोक्किने डर थियो। फेब्रुअरी १८ सम्म यसको सम्भावना ३.१ प्रतिशत पुगेको थियो, तर पछिल्ला अध्ययनहरूले पृथ्वीसँगको ठक्कर टरेको पुष्टि गरेको छ। यद्यपि, चन्द्रमासँग ठोक्किने सम्भावना भने केही बढेको छ।
यदि यो चन्द्रमामा ठोक्कियो भने, त्यसको ८६ प्रतिशत सम्भावना पृथ्वीतिर फर्केको भागमै हुनेछ। यसबाट उत्पन्न हुने प्रकाशको चमक पृथ्वीबाटै देख्न सकिने खगोलविद् प्याट्रिक किङले बताएका छन्।
डिसेम्बर २२, २०३२ मा हुन सक्ने यो सम्भावित ठक्कर हेर्नका लागि हवाई सबैभन्दा राम्रो स्थान हुनेछ भने पश्चिमी अमेरिकाबाट पनि यो दृश्य राम्ररी देखिनेछ।
बच्ने उपाय र चुनौतीहरू
वैज्ञानिकहरूलाई हालसम्म वाईआर ४ को वास्तविक आकार र तौल ठ्याक्कै थाहा छैन, त्यसैले यसलाई सुरक्षित रूपमा बाटो मोड्न गाह्रो छ। यद्यपि, यो करिब ६० मिटर चौडा भएको अनुमान गरिएको छ।
इन्जिनियर बार्बीका अनुसार, यसलाई कुनै तीव्र गतिको वस्तु वा आणविक विस्फोट गराएर टुक्रा-टुक्रा पार्नु व्यावहारिक हुन सक्छ। यसो गर्दा चन्द्रमामा ठोक्किनु भन्दा कम्तीमा तीन महिना अगाडि नै गर्नुपर्ने हुन्छ, ताकि त्यसका टुक्राहरू पृथ्वीभन्दा टाढा फैलियोस्।
वैज्ञानिकहरूले आगामी केही वर्षभित्रै यसको अध्ययन गर्न विशेष मिसन पठाउनुपर्ने बताएका छन्। सन् २०२६ को फेब्रुअरीमा नासाको जेम्स वेब स्पेस टेलिस्कोपले यसको अवलोकन गर्नेछ। त्यसपछि मात्र चन्द्रमामा ठोक्किने सम्भावना घट्नेछ वा ३० प्रतिशतसम्म पुग्नेछ भन्ने कुरा प्रष्ट हुनेछ।
यदि टेलिस्कोपले यसको अवलोकन गर्न सकेन भने, वैज्ञानिकहरूले अनिश्चितताकै बिचमा यस क्षुद्रग्रहका बारेमा गम्भीर निर्णयहरू लिनुपर्ने चुनौती आइलाग्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण