बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शिल्पाको ‘डीपफेक’ तस्बिर र सबै आपत्तिजनक लिंक हटाउन अदालतको आदेश

आइतबार, १३ पुस २०८२, १६ : ४१
आइतबार, १३ पुस २०८२

सारांश

  • बम्बे हाइकोर्टले शिल्पा शेट्टीको एआईबाट बनेका आपत्तिजनक तस्बिर हटाउन आदेश दिएको छ।
  • शिल्पा शेट्टीले आफ्नो छवि बिगारेको भन्दै एआई प्रयोगकर्ताहरूविरुद्ध मुद्दा दायर गरेकी थिइन्।
  • अदालतले अभिनेत्रीको गोपनीयताको उल्लंघन भएको ठहर गर्दै सामाजिक सञ्जाललाई सामग्री हटाउन निर्देशन दियो।

मुम्बई । बम्बे हाइकोर्टले बलिउड अभिनेत्री शिल्पा शेट्टीको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट निर्मित र ‘मर्फ्ड’ गरिएका तस्बिरहरूलाई अत्यन्तै विचलित पार्ने र स्तब्ध बनाउने खालको बताएको छ। 

शुक्रबार अभिनेत्री शेट्टीले आफ्नो ‘पर्सनालिटी राइट्स’ को सुरक्षाका लागि दायर गरेको याचिकामाथि सुनुवाइ गर्दै अदालतले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्म र वेबसाइटहरूलाई त्यस्ता सामग्री तुरुन्त हटाउन आदेश दिएको हो। 

शेट्टीले आफ्नो अनुमति बिना एआई प्रयोग गरी बनाइएका अश्लील तथा आपत्तिजनक तस्बिर र भिडियोहरूले आफ्नो छविमा गम्भीर आँच पुर्‍याएको भन्दै कानुनी ढोका ढकढक्याएकी थिइन्। न्यायाधीश अद्वैत सेठनाको इजलासले कसैको पनि जानकारी वा अनुमति बिना, विशेषगरी महिलालाई यस्तो आपत्तिजनक रूपमा प्रस्तुत गर्नु निजको गोपनीयताको गम्भीर उल्लंघन भएको ठहर गरेको छ। 

अदालतले पहिलो नजरमै यी सामग्रीहरूले अभिनेत्रीको प्रतिष्ठामा क्षति पुर्‍याउने देखिएकाले सम्बन्धित सबै यूआरएलहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएको छ। शिल्पाले आफ्नो याचिकामा एआई टुल्सको माध्यमबाट आफ्नो आवाज र हाउभाउको नक्कल गरी बिना अनुमति विभिन्न पुस्तक, उत्पादन र आपत्तिजनक सामग्रीहरू बनाइएको आरोप लगाएकी थिइन्।

प्रविधिको दुरुपयोग गरी कलाकारहरूको नाम, आवाज र तस्बिर प्रयोग गरेर भ्रामक सामग्री बनाउने क्रम बढेपछि हाइकोर्टले यसलाई गम्भीरतापूर्वक लिएको हो। अदालतको यो आदेशसँगै अब सामाजिक सञ्जाल प्लेटफर्महरूले शिल्पा शेट्टीसँग सम्बन्धित ती सबै अवैध लिङ्कहरू हटाउनुपर्नेछ। 

अभिनेत्रीले आफ्नो अनुमति बिना कसैले पनि आफ्नो नाम वा पहिचान व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न नपाउने गरी स्थायी प्रतिबन्धको माग समेत गरेकी छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप