समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन
सारांश
- निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिकतर्फको बन्दसूची पेस गर्ने अन्तिम मिति तोकेको छ।
- विभिन्न राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउन आ-आफ्नो तयारी गरिरहेका छन्।
- नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा लगायतका दलहरूले सूची तयार पार्न छलफल र बैठकहरू गरिरहेका छन्।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन रहेको छ ।
आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आजसम्म दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची निर्वाचन आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
दलले पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने उनको भनाई छ । आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ ।
पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची प्रकाश गरिनेछ । माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता भट्टराईले जानकारी दिए ।
सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आज र भोलि बन्द सूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउनेछन् ।
आयोगका अनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेस गरेका छन् । तीन वटा राजनीतिक दलहरूले १३४ जनाको बन्दसूची आयोगमा पेस गरेको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।
प्रवक्ता भट्टराईले विभिन्न समूहहरूको प्रतिनिधित्व गराउने कानुनी व्यवस्थाअनुसार दलहरूले मिलाएर नामावली पठाउने पनि विश्वास व्यक्त गरे । आयोगले त्यसको लागि राजनीतिक दलहरूलाई अभिमुखीकरण पनि गरेको उनको बताए ।
- दलहरू व्यस्त
नेपाली कांग्रेसले कार्यसम्पादन समिति बैठक रोकेर समानुपातिक सांसदको सूची टुङ्ग्याउन प्रदेशगत छलफल गरिरहेको छ । आइतबार सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्य सम्पादन समितिमा रहेका नेताहरूसँग छलफल भइरहेको र अब सूची तयार गरेर आयोगलाई बुझाउने बताए । समानुपातिक सूचीबाट १ सय १० जना सांसदहरू चयन हुने भएकाले समानुपातिक सूची तयार पार्नु पनि महत्त्वपूर्ण काम भएको बताए ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले सोमबार आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने निर्णय गरेको एमालेका उपमहासचिव लेखराज भट्टले बैठकपछि पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार पार्टीले जिल्ला र प्रदेशबाट प्राप्त समानुपातिकतर्फ उम्मेदवार बन्दसूचीलाई नै अन्तिम रूप दिएर आयोगमा बुझाउने छ । उपमहासचिव भट्टले बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा पेस गरिएको समानुपातिकतर्फको बन्द सूचीका विषयमा छलफल भएको बताए ।
नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक उम्मेदवार टुङ्ग्याउने जिम्मा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई दिइएको छ । नेकपाले एकता प्रक्रियामा आएका सबै घटकलाई मिलाउने र निर्वाचन आयोगले दिएको मापदण्ड बमोजिम उम्मेदवार छनोट गर्ने जिम्मा प्रचण्ड र नेपाललाई दिएको नेता शक्ति बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार केही जिल्ला बाहेक सबै ठाउँबाट उम्मेदवार सिफारिस भएर केन्द्रमा आएको र त्यसलाई अन्तिम रूप दिएर भोलि निर्वाचन आयोगमा बन्दसूची बुझाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण