बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

थलापति विजयको फिल्मी यात्रा अन्त्य

३३ वर्षको करियरपछि राजनीतिमा होमिए सुपरस्टार
सोमबार, १४ पुस २०८२, ०६ : ४२
सोमबार, १४ पुस २०८२

सारांश

  • दक्षिण भारतीय फिल्मका सुपरस्टार थलापति विजयले अभिनयबाट विश्राम लिने घोषणा गरेका छन् र राजनीतिमा लाग्ने भएका छन्।
  • ५१ वर्षीय विजयले आफ्नो अन्तिम फिल्मको अडियो सार्वजनिक कार्यक्रममा फिल्म क्षेत्र छोड्ने जानकारी दिए।
  • उनले आफ्नो राजनीतिक दल गठन गरिसकेका छन् र सन् २०२६ को चुनावमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।

क्वाललम्पुर। दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयले आफ्नो अभिनय यात्राबाट विश्राम लिने घोषणा गरेका छन्। ३३ वर्ष लामो फिल्मी करियरलाई पूर्णविराम लगाउँदै उनले अबको आफ्नो जीवन राजनीतिमा समर्पित गर्ने निर्णय लिएका हुन्। 

मलेसियामा आयोजित आफ्नो अन्तिम फिल्म 'जन नायकन' को अडियो सार्वजनिक कार्यक्रममा ५१ वर्षीय अभिनेताले भावुक हुँदै फिल्म क्षेत्र छोड्ने आधिकारिक जानकारी दिए।

१० वर्षको कलिलो उमेरमा बाल कलाकारका रूपमा तमिल फिल्म ‘वेट्री’ बाट पर्दामा देखिएका विजयले १८ वर्षको उमेरमा ‘नालैया थीरपू’ मार्फत नायकका रूपमा डेब्यु गरेका थिए। उनले पछिल्लो समय आफ्नो राजनीतिक दल तमिलगा वेट्री कजगम गठन गरिसकेका छन् र सन् २०२६ मा हुने तमिलनाडु विधानसभा चुनावमा उनको पार्टीले प्रतिस्पर्धा गर्ने तयारी गरेको छ। प्रशंसकहरूलाई सम्बोधन गर्दै उनले अबका बाँकी वर्षहरू आफूलाई माया गर्ने जनताको सेवामा बिताउन चाहेकाले सिनेमाबाट संन्यास लिएको बताए।

आफ्नो तीन दशक लामो यात्रामा कैयौँ आलोचना खेप्नुपरे पनि प्रशंसकको मायाले नै आफू यो उचाइमा पुगेको उनले स्वीकार गरे। रोचक कुरा त के छ भने, सन् २०१५ को फिल्म ‘पुली’ पछि विजयका कुनै पनि फिल्म फ्लप भएका छैनन्। उनका ‘बिस्ट’, ‘वारिसु’ र ‘द ग्रेटेस्ट अफ अल टाइम’ (गोट) जस्ता पछिल्ला फिल्महरूले मिश्रित प्रतिक्रिया पाए तापनि बक्स अफिसमा भने करोडौँको व्यापार गरेर उनको स्टारडम प्रमाणित गरेका थिए।

विजयको यो घोषणासँगै उनका लाखौँ प्रशंसकहरू दुःखी भएका छन्, तर उनले फिल्मको पर्दाबाट ओझेल भए पनि वास्तविक जीवनको 'नायक' बनेर जनताको पक्षमा उभिने वाचा गरेका छन्। उनको अन्तिम फिल्म ‘जन नायकन’ प्रति अहिले दर्शकको निकै ठुलो चासो र अपेक्षा रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप