कांग्रेसको समानुपातिक बन्दसूची : कुन प्रदेशमा कुन क्लस्टरमा कति सांसद ?
सारांश
- नेपाली कांग्रेसले प्रदेशगत रूपमा समानुपातिक बन्दसूचीमा राख्ने नेताहरूको संख्या टुंगो लगाएको छ।
- कांग्रेसले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट नेताहरूलाई समावेश गर्दै बन्दसूची तयार पारेको छ।
- पार्टीले निर्वाचन आयोगले तोकेका ६ क्लस्टरमा कुन क्लस्टरबाट कति जना राख्ने भन्ने टुंगो लगाएको छ, जसमा आदिवासी जनजाति, खस/आर्य, थारु, दलित, मधेसी र मुस्लिम रहेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसले प्रदेशगत रूपमा कुन क्लस्टरबाट कति नेतालाई समानुपातिकको बन्दसूचीमा राख्ने भन्ने विषय टुंग्याएको छ । आइतबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई प्रदेशगत रूपमा कुन क्लस्टरमा कति–कति व्यक्ति राख्ने भन्ने विषयमा टुंग्याउन जिम्मेवारी दिइएको थियो । नेताहरूले त्यो विषय लामो छलफलपछि टुंग्याएका हुन् ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार कांग्रेसले प्रदेशगत रूपमा कोशी प्रदेशबाट १९, मधेस प्रदेशबाट २१ जना, बागमती प्रदेशबाट २२ जना, गण्डकी प्रदेशबाट ११ जना, लुम्बिनी प्रदेशबाट १८ जना, कर्णाली प्रदेशबाट ११ जना र सुदूरपश्चिम प्रदेशबाट १० जना नेता गरी ११० जनाको नाम समानुपातिकको बन्दसूचीमा राख्ने निर्णय भएको छ ।
कांग्रेसले प्रदेशगत रूपमै निर्वाचन आयोगले छुट्टयाएका ६ क्लस्टरमा कुन क्लस्टरबाट कति जनालाई राख्ने भन्ने पनि टुंग्याएको छ । आयोगले आदिवासी/जनजाति, खस/आर्य, थारु, दलित, मधेसी र मुस्लिम गरी ६ क्लस्टर छुट्टयाएको छ ।
कोशी प्रदेशबाट आदिवासी/जनजातिमा ९, खस/आर्यमा ४, थारुमा १, मधेसीमा १, दलितमा २ र मुस्लिम क्लस्टरमामा २ जना गरी १९ जना बन्दसूचीमा राखिने प्रचार विभाग प्रमुख विश्वकर्माले रातोपाटीलाई जानकारी दिए ।
मधेस प्रदेशबाट आदिवासी/जनजातिमा १, खस/आर्यमा १, थारुमा १, दलितमा ४, मधेसीमा १२ र मुस्लिम क्लस्टरमा २ जरी जम्मा २१ जनाको नाम बन्दसूचीमा राखिनेछ ।
बागमती प्रदेशबाट आदिवासी/जनजातिमा १२, खस/आर्यमा ८, दलितमा १ र मधेसी क्लस्टरमा १ गरी २२ जनाको नाम बन्दसूचीमा राखिनेछ । यो प्रदेशबाट थारु र मुस्लिमको नाम बन्दसूचीमा नराखिने विश्वकर्माले जानकारी दिए ।
गण्डकी प्रदेशबाट आदिवासी/जनजाति ५, खस/आर्य ४ र दलित क्लस्टरबाट २ गरी ११ जनाको नाम बन्दसूचीमा राखिने नेताहरूले सहमति गरेका छन् । यो प्रदेशबाट थारु, मधेसी र मुस्लिम क्लस्टरबाट कसैलाई पनि बन्दसूचीमा नराख्ने सहमति नेताहरूबीच भएको छ ।
लुम्बिनी प्रदेशबाट आदिवासी/जनजाति ३, खस/आर्य ५, दलित ३, मधेसी ३, थारु ३ र मुस्लिम क्लस्टरबाट १ जना गरी जम्मा १८ जनाको जनाको नाम कांग्रेसले बन्दसूचीमा राख्दैछ ।
कर्णाली प्रदेशमा आदिवासी/जनजाति २, खस/आर्य ६ र दलित क्लस्टरबाट २ गरी जम्म १० जनाको नाम बन्दसूचीमा राख्ने तयारी भइरहेको छ । यो प्रदेशबाट थारु, मधेसी र मुस्लिम क्लस्टरबाट बन्दसूचीमा कसैको पनि नाम नराख्ने सहमति बनेको छ ।
सुदूरपश्चिम प्रदेशबाट खस/आर्य ६, थारु २ र दलित क्लस्टरबाट २ गरी १० जनाको नाम बन्दसूचीमा राखिने भएको छ । यो प्रदेशबाट आदिवासी/जनजाति, मधेसी र मुस्लिम कोटाबाट कसैको पनि नाम नराख्ने सहमति बनेको छ ।
सबै प्रदेशबाट मिलाउँदा आदिवासी/जनजाति क्लस्टरबाट ३२, खस/आर्य क्लस्टरबाट ३४, दलित क्लस्टरबाट १६, थारु क्लस्टरबाट ७, मुस्लिम क्लस्टरबाट ५, मधेसी क्लस्टरबाट १६ जना गरी ११० जना पु¥याइएको छ ।
तयार पारिएको खाकामा नाम भर्नका लागि सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बसिरहेको छ । बैठकले खाका अनुसार नाम राख्दै निर्णय गरेर दिउँसो १ बजे निर्वाचन आयोगमा पुगेर बन्दसूची बुझाउने तयारी रहेको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए । ‘हामीले प्रदेशगत रूपमा कुन क्लस्टरका कति मान्छे राख्ने भन्ने खाका तय गरेका छौँ । त्यही खाकामा मानिसका नाम राखेर कार्यसम्पादन समिति बैठकबाट निर्णय गरी दिउँसो एक बजे निर्वाचन आयोगमा जाने तयारी छ,’ विश्वकर्माले रातोपाटीसँग भने ।
कांग्रेसले यो भन्दा अघिल्ला निर्वाचनमा संसदीय समिति बनाएर उम्मेदवारको बन्दसूची बनाउने गरेको भए पनि यो पटक कार्यसम्पादन समितिले नै निर्णय गरेर बुझाउने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण