बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रतिनिधिसभा निर्वाचन-२०८२

गण्डकीमा तीन वर्षमा थपिए २ लाख ७ हजार मतदाता, कास्कीमा धेरै

सोमबार, १४ पुस २०८२, १९ : ४६
सोमबार, १४ पुस २०८२

पोखरा । गण्डकी प्रदेशमा मतदाताको संख्या उल्लेख्य बढेको छ । २०७९ सालको निर्वाचनको तुलनामा यसपटक प्रदेशभर कुल २ लाख ७ हजार ८ सय १९ जना नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । 

आयोगले तयार पारेको २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकहरूको विवरण अनुसार गण्डकी प्रदेशमा कुल मतदाता संख्या १८ लाख ७० हजार ६५ पुगेको छ । २०७९ को निर्वाचनमा यो संख्या १६ लाख ६२ हजार २४६ थियो ।

गण्डकीमा पुरुषभन्दा महिला मतदाता बढी छन् । आगामी निर्वाचनका लागि महिला ९ लाख ५५ हजार ५ सय १६, पुरुष ९ लाख १४ हजार ५ सय ३५ र अन्य १४ जना मतदाता छन् । २०७९ को चुनावमा महिला ८ लाख ६९ हजार ५ सय ३८, पुरुष ७ लाख ९२ हजार ६ सय ९७ र अन्य ११ जना थिए । अघिल्लो चुनावको तुलनामा महिला मतदाता ८५ हजार ९ सय ७८ ले बढेका छन् भने पुरुष मतदाता १ लाख २१ हजार ८ सय ३८ ले बढेका छन् । कुल मतदातामध्ये पुरुषभन्दा ४० हजार बढी महिला छन् ।

कुन जिल्लामा कति मतदाता ?

प्रदेश राजधानी रहेको कास्की जिल्लामा मतदाताको संख्या सबैभन्दा धेरै बढेको छ । २०७९ मा २ लाख ६४ हजार ४ सय ५६ मतदाता रहेको कास्कीमा अहिले बढेर ३ लाख ८ हजार ५ सय ७२ पुगेको छ । ४४ हजार १ सय १६ मतदाता कास्कीमा मात्रै थप भएका आयोगको तथ्यांक छ । 

कास्कीपछि नवलपुरमा मतदाता उल्लेख्य थपिएका छन् । अघिल्लो निर्वाचनमा २ लाख ३३ हजार ९५ मतदाता रहेकोमा अहिले बढेर २ लाख ६८ हजार ५ सय २६ पुगेका छन् । यहाँ ३५ हजार ४ सय ३१ जना मतदाता थपिएका हुन् ।

तनहुँमा अघिल्लो निर्वाचनभन्दा १० हजार मतदाता बढेका छन् । २०७९ मा २ लाख ४४ हजार ३ सय ४० मतदाता रहेको तनहुँमा अहिले २ लाख ५४ हजार ३ सय ९७ पुगेका छन् । गोरखामा ८ हजार ४ सय २१ जना नयाँ मतदाता थप भएका छन् । २०७९ मा २ लाख २० हजार ६ सय ३७ मतदाता रहेकोमा अहिले २ लाख २९ हजार ५८ पुगेका छन् । अरु जिल्लामा भने मतदाताको संख्या सामान्य बढेको छ । स्याङ्जामा ४ हजार ७ सय २७ जना मात्र थपिएका छन् । अघिल्लो चुनावमा २ लाख ४४ हजार ८९ मतदाता थिए भने २०८२ मा यो संख्या २ लाख ४८ हजार ८ सय १६ पुगेको छ । बागलुङमा १ लाख ९२ हजार २ सय २७ बाट केही थपिएर १ लाख ९३ हजार ३८१ पुगेका छन् ।

लमजुङमा १ लाख ३३ हजार ५ सय ५९ मतदाता थिए भने अहिले १ लाख ३७ हजार १ सय २४ पुगेका छन् । पर्वतमा १ लाख २२ हजार ६ सय ४९ बाट थपिए १ लाख २५ हजार ४ सय ६६ र म्याग्दीमा ८६ हजार १ सय २० बाट सामान्य मात्रै बढेर ८६ हजार ३ सय ९७ पुगेको छ । २ सय ७७ जना मतदाता बढेको आयोगको तथ्यांक छ । हिमाली जिल्ला मनाङमा ५ हजार ९ सय ७६ मतदाता रहेकोमा अहिले १ हजारभन्दा बढीले बढेर ७ हजार पुगेका छन् । 

२०७९ मा १० हजार ९ सय ५७ मतदाता रहेको मुस्ताङमा अहिले ११ हजार ३ सय २८ पुगेका छन् । गण्डकी प्रदेशका सहरीकरण बढी भएका जिल्लाहरूमा मतदाताको संख्या तीव्र गतिमा बढेको छ भने पहाडी र हिमाली जिल्लामा खासै बढेका छैनन् ।

गण्डकी प्रदेशभर निर्वाचनका लागि कुल १ हजार २ सय ९७ मतदानस्थल र २ हजार ३ सय ९६ मतदान केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा धेरै मतदान केन्द्र कास्कीमा ३ सय ६३ छन् भने सबैभन्दा कम मनाङमा २८ वटा मात्रै केन्द्र छन् । तथ्यांक अनुसार गोरखामा ३ सय ३१, लमजुङमा १ सय ९२, तनहुँमा ३ सय ९, स्याङ्जामा ३ सय २२ र नवलपुरमा ३ सय ११ मतदान केन्द्र छन् । मुस्ताङमा ३९ वटा, म्याग्दीमा १ सय २० वटा, बागलुङमा २ सय ३० र पर्वतमा १ सय ५१ मतदान केन्द्र रहेका प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप