रवि-कुलमान-बालेन : एउटै धारमा वैकल्पिक राजनीतिका तीन भँगाला
काठमाडौं । पुस १३ गतेको झिसमिसे बिहान र पुस १४ गतेको साँझ, नेपाली वैकल्पिक राजनीतिको ‘नयाँ इतिहास’ लेखिएका दिन बने । इतिहास भन्ने शब्द किन होला भन्ने प्रश्न पनि सँगै उठ्ला । यो यस अर्थमा कि नेपालको वैकल्पिक राजनीतिको नदीमा ज्वारभाटा ल्याएका, मूल भँगालो बनाएका र राम्रैसँग सयर गर्ने तयारीमा लागेका तीन शक्ति अब एउटै धारबाट बहन तयार भएका छन् ।
वैकल्पिक राजनीतिको ज्वारभाटा ल्याएका बालेन्द्र शाह (बालेन), मूल भँगालो बनाउन सफल भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र व्यवस्थापकीय कौशलबाट खारिएर वैकल्पिक राजनीतिको नदीमा राम्रै तयारीका साथ सयर गर्न लागेको कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल पार्टी अब एकै ठाउँ मिसिएका छन् । अर्थात् यी तीनै जना रास्वपाका नेता भएका छन् । घण्टी चिह्नमार्फत आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन लड्नेछन् ।
भनिन्छ नि संसारमा असम्भव भन्ने केही हुँदैन । असम्भव लागेको कुरा पनि सम्भव बनाउन सकिन्छ । रवि, कुलमान र बालेन एक ठाउँमा आउन बितेका एक सातामा धेरैपटक, रात-रातभर समेत घनिभूत छलफल भए । पावर सेयरिङदेखि सांगठनिक कुरासम्म छलफल भए, तर निष्कर्ष निस्कन सकेको थिएन । दुईपक्षीय, त्रिपक्षीय छलफल कति हो कति भए । लगातार १२ घण्टासम्म बैठक भए । तर हिन्दीमा एउटा भनाइ छ नि- ‘देर आये दुरूस्त आये ।’

पुस १३ गते बिहान सवा ४ बजे ‘आइस ब्रेक’ गर्दै रास्वपा र बालेनबिच ७ बुँदे सहमति भयो । रास्वपाको केन्द्रीय सभापति रवि र आगामी निर्वाचनमा बालेन प्रधानमन्त्रीको उम्मेदवार । साथै, महत्त्वपूर्ण अर्को कुरा जेनजी आन्दोलनको स्वामित्व लिने । रवि र बालेनबिचको सहमतिमा कुलमान छुटे, त्यसअघिसम्म घनीभूत वार्तामै रहेको भएपनि उनका केही ‘रिजर्भेसन थिए’ रास्वपासँग । सहमति नबनेपछि उनी संवाद कायमै राख्ने भनेर छुट्टिएका थिए । यता रवि-बालेन सहमतिपछि खासगरी सर्वसाधारणमा एक खालको उत्साह भरियो तर ‘कुलमान खोइ’ भनेर सोधिरहेका थिए । अहिलेको परिवर्तनका संवाहक जेनजी अभियन्ताहरू पनि जसरी पनि कुलमान पनि रवि-बालेनसँगै हुनुपर्छ भनिरहेका थिए । अनि जेनजी अगुवा सुदन गुरूङसहितको पहलमा सोमबार अर्को ‘आइस ब्रेक’ भयो- कुलमान पनि रास्वपामै एकीकृत हुने सम्झौता भयो । अनि कुलमान बने रास्वपाका तीन उपसभापतिमध्ये पहिलो वरीयताका । समग्र पार्टीमा दोस्रो वरीयताका नेता । उनले ब्रान्ड र पार्टीको नाममा समेत रहेको ‘उज्यालो नेपाल’ अभियानलाई रास्वपाले पनि स्वामित्व लिनेगरी सहमति बन्यो ।
यसरी बालेनसँग सहमति गरेको करिब ४० घण्टापछि कुलमानलाई पनि रास्वपामै ‘भित्र्याउन’ सफल भए रवि लामिछाने । रोचक संयोग त के छ भने रास्वपा-बालेन सम्झौता र रास्वपा-उज्यालो नेपाल (कुलमान) सम्झौताका बुँदा समान सात छन् ।

अब यो राजनीति खासमा कसले जित्यो भन्ने प्रश्न आउला । निर्विवाद रवि लामिछानेले जिते भन्ने लाग्ला । हो, आफ्नै पार्टीको नाम, चुनाव चिह्न र झण्डा केहीमा पनि परिमार्जन नगरी वैकल्पिक राजनीतिका दुई ‘खेलाडी’ बालेन र कुलमानलाई पार्टीमा भित्र्याउन उनी सफल भए । तर उनले ‘कम्प्रमाइज’ पनि गरेका छन्- प्रधानमन्त्रीको उम्मेदवार बालेनलाई दिएका छन्, अनि आफूपछिको नेतृत्वमा कुलमान । प्रधानमन्त्री बन्न चाहने महत्वाकांक्षा रविले नपालेका होइनन्, तर कानुनी समस्या नसुल्झिसकेकाले त्यो पदमा पुग्न अहिले नै पाउनेछैनन् । त्यसका लागि बालेन शाहजस्तो जेनजीले पनि रूचाएका र आम मानिसले पनि पत्याएका व्यक्तिलाई ल्याएर प्रधानमन्त्रीको उम्मेदवार बनाउनु रास्वपाकै लागि पनि फाइदाजनक कुरा अवश्य हो । अनि रास्वपा-बालेनसँग कुरा नमिल्दा एक्लै चुनावी तयारीमा लाग्न लागेका कुलमान र उनी संरक्षकत्वको पार्टीलाई सम्झौतामा ल्याउँदा रास्वपालाई डबल फाइदा मिलेको छ । किनकि काबिल व्यवस्थापक कुलमान छुट्टै चुनाव लड्दा रास्वपालाई पनि भोट काटिने डर प्रबल रहन्थ्यो ।
खैर, रास्वपालाई मात्रै होइन, बालेन र कुलमानलाई पनि रास्वपासँग एकताले राहत मिलेको छ । नयाँ दललाई आइहालेको चुनावको छेकोमा गाउँ-गाउँमा पुर्याउन ठुलै सकस पर्नेथियो । अनि वैकल्पिक भनिएका शक्तिहरू छरिएर चुनाव लड्दा आफू-आफूमा भोट काटिएर पुरानै दलहरूलाई त्यसको फाइदा पुग्ने सम्भावना उच्च हुन्थ्यो । यद्यपि सम्झौता भन्नु नै केही गुमाउनु र केही लिनु हो । तीनै पक्षलाई फाइदासँगै केही न केही घाटा पनि भयो होला । तर जेनजी आन्दोलनपछिको नेपाली समाजको मनोविज्ञान बुझ्ने प्रयास चाहिँ यी तीनै पक्षले गरे, यसलाई धन्यवाद भन्नैपर्छ । यसमा हर्क साम्पाङ र गोपी हमाललाई पनि आबद्ध गराउन सकेको भए अझ उत्तम हुनेथियो ।
सत्तामा सधैं पुराना तीन जना नेताको घुमीघुमी आउने अनुहारले वाक्क भएका जनतालाई जेनजी विद्रोहले आशा जगाइदियो । अब यो आशालाई विश्वासमा बदलेर परिवर्तनलाई संस्थागत गर्दै रवि-कुलमान-बालेनले देशलाई कसरी देशलाई विकास र सुशासनको बाटोमा पुर्याउँछन्, त्यो हेर्न बाँकी नै छ । त्यसका लागि सबैभन्दा पहिले त आगामी निर्वाचनमा उनीहरूको पार्टीले बहुमत ल्याउनुपर्ने हुन्छ । त्यो भनेको १३८ सिट हो । २०७९ सालको चुनावमा वैकल्पिक दलहरूले जम्मा ३१ सिट ल्याएका थिए । अब यो सिटलाई उच्चतम् ढंगले बढाउन राम्रै पापड बेल्नुपर्ने हुन्छ । तीन जनाको शक्तिले यसमा धेरै थोक गर्न सक्ने आँकलन गर्न सकिन्छ ।
रवि-कुलमान-बालेनको टिमले अब चुनाव केन्द्रित बनोस् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै परिष्कृत र समुन्नत बनाउँदै कमीकमजोरी सच्याउँदै अघि बढोस् । प्राप्त उपलब्धिलाई जोगाउँदै यो वाद र त्यो वाद भन्दा अब विकासवादमा केन्द्रित हुने बेला जो भएको छ ।
अहिले यसो चर्चा सुनिन्छ- ‘तीनवटा सिंह एउटै जंगलमा भए, अब जुधेरै सकिने पो हुन् कि ?’ सिंह अहिले नै कुन अर्थमा भन्ने त्यो अर्कै बहसको विषय होला । तैपनि सांकेतिक रूपमा यति चाहिँ भनौं जंगलको सिंह होइन, लोकतान्त्रिक ‘सिंह’ बन, जुधेर होइन जुझेर देश विकासको यात्रामा लाग ।

तीन जनाको मिलनले अब नेपालको वैकल्पिक राजनीतिको यात्रामा खास अर्थ राख्नेछ । तीनैजनासँग खास-खास विशेषता छन् । रविसँग वाकपटुता र ‘मास’लाई आकर्षित गर्ने क्षमता छ । उनको मुद्दा-मामिलाको कुरा अर्कै पाटो हो है, त्यो अदालती प्रकियाको कुरा हो । कुलमानसँग व्यवस्थापकीय क्षमता राम्रो छ । १८ घण्टे लोडसेडिङ हटाएर उनले त्यसको पुष्टि पनि गरिसकेका छन् । बालेन मासमा घुलमिल त्यति हुँदैनन्, तर जे लेख्छन्, बोल्छन् त्यसको प्रभाव व्यापक हुन्छ । इन्जिनियरिङ पृष्ठभूमिका बालेन योजना निर्माणमा दख्खल राख्छन् । यसरी तीन जनाको सम्मिश्रणले वैकल्पिक भनिएको राजनीतिले मज्जाले यात्रा तय गर्न सक्छ भन्न सकिन्छ ।
यदि…. यदि रवि-कुलमा-बालेनले पनि पुरानै पार्टी नेताहरूको गतिविधि दोहोर्याए भने चाहिँ देश फेरि केही पनि हुने रहेनछ भन्ने भाष्यमा साँच्चै नै फस्नेछ । नेपाली आम नागरिकले २००७ सालमा प्रजातन्त्र ल्याउन नेतृत्व गरेको कांग्रेसमा आशा देखे, २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापना गर्न नेतृत्व गरेका कांग्रेस र एमालेमा आशा राखे । त्यो पनि तुहिएपछि २०६२/०६३ मा १० वर्ष सशस्त्र विद्रोह गरेको आएको माओवादीलाई वैकल्पिक शक्तिको रूपमा अंगीकार गरे । तर उसको पनि अघिल्ला दुई पार्टीकै जस्तो प्रवृत्ति देखिएपछि अर्को वैकल्पिक शक्तिको पर्खाइमा रहे । त्यो शक्ति २०७९ सालको स्थानीय तहको निर्वाचनमा बालेन, हर्क र गोपी बनेर आयो, अनि सोही वर्षको प्रतिनिधिसभा निर्वाचनमा रास्वपा बनेर ।
वैकल्पिक भनेर आएका पार्टी र शक्तिले सुरुवाती काम कस्तो गरे, त्यो छुट्टै समीक्षाको विषय होला । तर जेनजी आन्दोलनमा पुराना दलप्रति पोखिएको ‘वैराग्य’लाई ‘जस्टिफाइ’ गर्न वैकल्पिक नयाँ दलहरूले भरपुर प्रयास गर्ने बेला आएको छ । अनि वाचा पनि गर्नुपर्छ- ‘हामी पुरानाजस्तो भागवण्डाको राजनीतिमा लाग्दैनौं, मात्र डेलभरी र विकासमा लाग्छौं, जनता र देशलाई विकास र सुशासन दिन्छौं’ भनेर । किनकि नागरिकले हरेक परिवर्तनपछि सुनौलो समयको आशा राखे, तर त्यो विश्वासमा परिणत हुन अझै सकेको छैन । यसपटकका वैकल्पिकहरूले चाहिँ साँच्चै त्यो आशालाई विश्वासमा परिणत गरून् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण