बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारहरूको बन्दसूची

मङ्गलबार, १५ पुस २०८२, १० : २७
मङ्गलबार, १५ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ, जसमा ढिलाइ भएको थियो।
  • सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिएपछि बन्दसूची बुझाउन ढिलाइ भएको थियो।
  • कांग्रेसले ०६४ यताका समानुपातिकबाट सांसद बनेका कसैलाई पनि सूचीमा राखेको छैन, र जेन-जीको प्रतिनिधित्व ५ प्रतिशतभन्दा बढी छ।

काठमाडौँ । नेपाली कांग्रेसले ढिलोगरी समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ । सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई अयोगले मान्यता नदिएपछि कांग्रेसको बन्दसूची बुझाउन ढिलाइ भएको हो ।  

मंगलबार बिहान आयोगमा बन्दसूची बुझाइएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । ‘केही प्राविधिक विषय मिलाउन पर्दा ढिलाइ भयो । मंगलबार बिहान निर्वाचन आयोगमा बन्दसूची बुझायौँ,’ प्रवक्ता महतले रातोपाटीसँग भने । 

निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो। आयोगले दिएको समयभित्र शुल्क तिरेर भौचर काटेको कांग्रेसले मंगलबार बिहानमात्रै बन्दसूची बुझाएको हो । 

सोमबार दिउँसो पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा समानुपातिक सूची बुझाउन निर्वाचन कार्यालयमा पुगेका थिए। तर, पछि सूचीमा समेटिएका नाम हेरफेर र प्राविधिक विषय मिलाउँदा ढिलाइ भएको प्रवक्ता डा महतले जानकारी दिए ।  

समानुपातिक सूचीमा राखिएको कांग्रेस सभापति देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिँदा राति बन्दसूची तयार भए पनि बिहानमात्रै बुझाइएको हो । 

आयोगले देउवाको डिजिटल हस्ताक्षरलाई मान्यता नदिएपछि मंगलबार बिहान कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल बन्दसूचीमा हस्ताक्षर गराउन महाराजगन्जस्थित देउवा निवास पुगेका थिए । देउवाले हस्ताक्षर गरेपछि लगेर बुझाइएको हो ।  

कांग्रसले ०६४ यताका समानुपातिकबाट सांसद बनेका कसैलाई पनि सूचीमा राखेको छैन। कांग्रेसको सूचीमा ५ प्रतिशतभन्दा बढी जेन–जीको प्रतिनिधित्व रहेको बताएको छ। कांग्रेसले संस्थापनपक्षलाई ६० र इतरपक्षलाई ४० प्रतिशतको भागबन्डा मिलाएर उम्मेदवार छनोट गरेको हो। 

कांग्रेसबाट समानुपातिक सूचीमा सहमहामन्त्री भीष्मराज आङदेम्बे समेटिएका छन् । समानुपातिकतर्फको १ सय १० सिटलाई कांग्रेसले प्रादेशिक जनसंख्याको अनुपातमा कोटा छुट्याएर वितरण गरेको छ । कोसीबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिमबाट १० जना कांग्रेसले राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप