मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मूर्ति उपहार दिने दुर्गा प्रसाईंलाई प्रधानमन्त्रीले दिइन् बुद्धको चित्र उपहार

मङ्गलबार, १५ पुस २०८२, ११ : ४१
मङ्गलबार, १५ पुस २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता भयो, जसमा प्रधानमन्त्रीले बुद्धको चित्र उपहार दिइन्।
  • भेटमा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र दिगो लोकतन्त्रका लागि निर्वाचन आवश्यक रहेको बताइन्।
  • प्रधानमन्त्रीले प्रसाईंलाई शान्तिपूर्ण माध्यमबाट आफ्ना माग राख्न र जनताबाट अनुमोदन गराउन आग्रह गरिन्।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंबीच  भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले प्रसाईंलाई शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार दिएकी छन् ।

यसअघि मंसिर २२ गते सिंहदरबारमा भएको भेटमा प्रसाईंले प्रधानमन्त्रीलाई उपहारस्वरूप भगवती दुर्गाको मूर्ति प्रदान गरेका थिए । सोही भेटको सन्दर्भ जोड्दै आजको भेटमा प्रधानमन्त्री कार्कीले बुद्धको चित्र उपहार दिएकी हुन् ।

आजको भेटमा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राख्दै दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेको बताइन् । उनले असन्तुष्टि र मागहरू शान्तिपूर्ण माध्यमबाट राख्न र जनतामै गएर आफ्ना मुद्दा अनुमोदन गराउन प्रसाईंलाई आग्रह गरिन् ।

मुलुक अब अस्थिरता र अशान्ति थेग्न नसक्ने अवस्थामा पुगेको उल्लेख गर्दै प्रधानमन्त्रीले सबै पक्षबाट जिम्मेवार भूमिका अपेक्षित रहेको बताइन् । नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने माग अघि सार्दै आएका प्रसाईंलाई निर्वाचनमार्फत जनमत लिनु नै लोकतान्त्रिक निकासको उपाय भएको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप