बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीतिक दल

ओलीको ‘प्रवक्ता’ बादल, त्यही भएर पाइरहन्छन् अवसर

बुधबार, १६ पुस २०८२, १७ : ००
बुधबार, १६ पुस २०८२

सारांश

  • एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले कांग्रेस र एमाले मिलेर चुनाव लड्नुपर्ने प्रस्ताव राखेका छन्।
  • बादलको अभिव्यक्तिपछि कांग्रेस र एमाले चुनावी तालमेलको चर्चा सुरु भएको छ, तर पार्टीभित्र औपचारिक छलफल भएको छैन।
  • एमाले नेताहरुले समानुपातिक उम्मेदवार चयनमा असन्तुष्टि जनाएका छन्, कतिपयले यसलाई प्रणालीको बेइज्जत भनेका छन्।

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदैछ । राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाइसकेका छन् । चुनावलाई लक्षित गर्दै अहिले नयाँ-पुराना सबैखाले दलमा एकता र सहकार्यको लहर नै चलेको छ । केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) समूह एकीकृत भएसँगै नेपाली राजनीतिमा अर्को तरङ्ग उत्पन्न भएको छ । 

यस्तोमा स्थापित पुराना दलहरूले समेत सहकार्य र चुनावी तालमेलको संकेत दिन थालेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनमा कांग्रेस र एमाले मिलेर चुनाव लड्नुपर्ने आशयको प्रस्ताव सार्वजनिक गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओली स्वयं उपस्थित कार्यक्रममा ओलीभन्दा अघि वक्ताका रुपमा बोलेका बादलले प्रतिक्रान्तिका विरुद्ध लोकतन्त्रलाई पुनर्स्थापित गर्न पनि एमाले–कांग्रेस मिलेर चुनाव लड्नुको विकल्प नभएको जिकिर गरे । त्यसका लागि दुवै दलले कार्यनीति र रणनीति बनाउन जरुरी रहेको समेत उनले बताए । 

नेता बादलको यो अभिव्यक्तिसँगै कांग्रेस र एमाले मिलेर चुनाव लड्न लागेका हुन् कि भन्ने चर्चा र चासो चुलिएको छ । त्यति मात्रै होइन, पार्टीका प्रभावशाली नेतालाई नै समानुपातिकमा अवसर दिएको भन्दै एमालेभित्र असन्तुष्टि प्रकट हुन थालेको छ ।

‘नेकपा विभाजन हुँदा एमाले रोजेका बादलमाथि अध्यक्ष ओलीको अगाध स्नेह देखिन्छ’, एमालेका एक पूर्वपदाधिकारी भन्छन्, ‘त्यही भएर बादललाई ओलीले पटक-पटक अवसरको उपहार दिने गरेका छन् ।’

उपाध्यक्ष बादल एमालेबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा आदिवासी जनजातितर्फको उम्मेदवारमा पहिलो नम्बरमा छन् । पूर्वमाओवादी नेता बादलसहित नेता लेखराज भट्ट र टोपबहादुर रायमाझी २०७८ सालमा नेकपाका विभाजन हुँदा माओवादी केन्द्रतिर नफर्केर एमाले (ओलीसँगै) रोजेका थिए ।

बादलको पछिल्लो अभिव्यक्ति र उनलाई समानुपातिक सूचीमा राखिएकोबारे पूर्वसञ्चारमन्त्री समेत रहेका एमाले नेता गोकुल बाँस्कोटाले त सामाजिक सञ्जालमार्फत नै असन्तुष्टि पोखिसकेका छन् ।

‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक-पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठीक हो’, बास्कोटाले फेसबुक पेजमा कसैको नाम उल्लेख नगरी लेखेका छन्, ‘अझ तिनै रुख र सूर्य मिलेर चुनावमा जानुपर्छ भन्छन् । रुख–सूर्य मिलेपछि चुनाव लडे भो त । अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले ।’

बास्कोटाले एमालेले समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेश नामहरुप्रति लक्षित गर्दै थप कटाक्ष गर्दै भनेका छन्, ‘समावेशीताकै बेइज्जत नगर के– त्यो पनि पुरुषले ।’ यद्यपि एमालेले समानुपातिकतर्फ बुझाएको ११० जना उम्मेदवारको नाम अझै गोप्य नै राखेको छ ।

मदन–आश्रित स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले एमाले–कांग्रेसले तत्काल सहकार्य गरेर अघि बढे मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सकिने धारणा राखेका थिए ।

‘हाम्रो सहकार्य र हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधीनता र अस्तित्वलाई टिकाउन सक्छौँ’, बादलले भनेका थिए । उनले भदौ २३ पछि लोकतन्त्र विस्थापित भएको भन्दै कांग्रेस र एमालेको संयुक्त आन्दोलनबाट लोकतन्त्र पुनर्स्थापना गर्न सकिने बताएका थिए । ‘त्यसकारण यो रणनीति र बाटोबाट हामी अगाडि बढ्यौँ भने लोकतन्त्रलाई फेरि पुनर्स्थापना गर्न सकिन्छ’, उनले भने । 

लोकतन्त्रलाई पुनर्स्थापित गर्ने रणनीति र यसका कार्यनीतिहरू सुविचारित ढंगले निश्चित गर्न जरुरी रहेको भन्दै नेता बादलले संसद् पुनर्स्थापना गरेर वा निर्वाचनमा गएर प्रतिगमनकारीहरूलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउन सकिने विश्वास व्यक्त गरेका थिए ।

‘फागुन २१ मा निर्वाचन हुन गइरहेको छ, त्यो नहुन पनि सक्छ । यदि उनीहरुले आफू अनुकूल नभए त्यो नगर्न पनि सक्छन्,’ उनले भने, ‘त्यो उनीहरूले गर्छन् भन्ने मानेर हामी दुईवटा शक्तिहरूले यो लडाइँमा लोकतन्त्रवादीहरूलाई जिताउन र प्रतिगमनकारीहरुलाई परास्त गर्न मोर्चाबन्दी गर्न जरूरी छ ।’

त्यसो त एमाले र कांग्रेस आगामी चुनावमा मिलेर चुनावमा जानेबारे पार्टीभित्र अहिलेसम्म कुनै औपचारिक छलफल र निर्णय नभएको नेताहरु बताउँछन् । एमाले सचिव पद्मा अर्याल चुनावमा एमाले र कांग्रेस मिलेर जाने भन्नेबारे कुनै संस्थागत छलफल र निर्णय नभएको बताउँछिन् ।

‘त्यस्तो निर्णय गर्नेगरी कुराकानी पनि भएको छैन र निर्णय भइसकेको सन्दर्भ पनि होइन’, अर्यालले रातोपाटीसँग भनिन्, ‘अहिले पार्टीको मुख्य एजेण्डा संसद् पुनर्स्थापना नै हो ।‘ उनले चुनावको वातावरण बनिनसकेको र वातावरण सरकारले बनाओस् भनेर सरकारको ध्यानाकर्षण गराइएको अवस्थामा चुनावमा कसरी जाने भन्ने छलफल नभएको बताइन् ।

‘हामी संगठन व्यवस्थित गर्ने र हाम्रो संसद् पुनर्स्थापनाको मुद्दा स्थापित गर्ने लाइनमै अघि बढेका छौ’, उनले भनिन्, ‘उपाध्यक्षको धारणा निजी हो, संस्थागत होइन ।’

बादल माओवादी केन्द्रमा हुँदा होस् वा एमालेमा रहँदा असाध्यै कम बोल्ने नेतामा पर्छन् । तर मंगलबार ओलीकै अगाडि आगामी चुनावमा कांग्रेससँग मिलेर चुनाव लड्नुपर्छ भन्ने प्रस्ताव अघि सारेर एमालेको आन्तरिक राजनीतिमा तरङ्ग सिर्जना गरेका छन् । जबकि एमाले र कांग्रेस विगतमा प्रमुख प्रतिस्पर्धी दलका रुपमा निर्वाचनमा होमिँदै आएका छन् ।

‘रामबहादुर थापा बादलले कांग्रेससँग मिलेर चुनाव लड्नुपर्छ भनेर उहाँले बोलेको होइन, त्यो त ओलीको बोली हो’, एमालेका एक शीर्ष नेता भन्छन्, ‘ओली आफैंले बादललाई बोल्न लगाएका हुन् । किनभने ओलीले कुनै कुरा बाहिर ल्याउनुपर्‍यो भने आफू निकटका नेतामार्फत भन्न लगाउने गरेका छन् ।’

ती नेताले गत वर्ष माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा वामदेव गौतम जान लागेको प्रचार भएपछि ओलीले नेता प्रदीप ज्ञवालीलाई उता जानबाट रोक्न गौतमको घरमै भेट्न पठाएको स्मरण गरे ।

‘वामदेव गौतम एकीकृत समाजवादीमा जाने चर्चा भइरहेको थियो । तर गौतम माधव नेपालसँग नजाउन् भन्ने ओलीको चाहाना थियो’, ती नेताले भने, ‘तत्कालै प्रदीप ज्ञवालीलाई एमालेमा आउन प्रस्तावसहित गौतमसँग भेट्न पठाए ।’

ज्ञवाली र गौतमको भेटपछि गौतम एमालेमै फर्कनेसम्मको तयारीमा लागेका थिए । तर पछि एमालेसँग कुरा नमिलेपछि गौतम धेरै महिनापछि नेकपा एकीकृत समाजवादीमा लागे । त्यसबेलाको घटनाक्रम सुनाउँदै अर्का एमाले नेताले भने, ‘पछि गौतमबारे सचिवालय बैठकमा छलफल भयो । बैठकमा ज्ञवालीले गौतमलाई एमालेमा उचित स्थान दिएर फर्काउनुपर्ने धारणा राखे । केही नेता मौन बसे ।’

ज्ञवाली बोलेपछि ओलीले बादललाई बोल्न समय दिए । तर बादलले त्यसबेला लामो सैद्दान्तिक व्याख्या गर्दै गौतमलाई एमालेमा स्थान दिँदा पार्टीमा ध्रुवीकरण बढ्ने र एकमना एकता नै खलबलिने भएकाले उनलाई ल्याउन नहुने धारणा राखेका थिए ।

‘बादलले यस्तो व्याख्या गरेपछि त्यही बैठकले वामदेवसँग अहिले सहकार्य मात्र गर्न सकिने, पार्टीमा भित्र्याउन नसकिने निर्णय गरेको थियो’, ती नेताले रातोपाटीसँग भने, ‘ओली आफूलाई लागेको कुनैपनि विषय बाहिर ल्याउनुपर्दा आफ्ना विश्वासपात्र मार्फत बोल्न लगाउँछन् । अहिले एमाले–कांग्रेस चुनावी सहकार्य पनि सोही योजनाअनुसार बादलले सार्वजनिक गरेका हुन् ।’

त्यसो त बादल तत्कालीन एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट राष्ट्रियसभा सदस्य मनोनित भएका थिए । एमाले र माओवादी एकताबाट बनेको नेकपा विभाजनसँगै थापा साविक एमालेमै रहे र मन्त्री समेत खाइरहे । त्यसबेला माओवादी केन्द्रले उनलाई पार्टीमा फर्कन दिएको निर्देशन पालना नगरेपछि कारवाही गर्दा उनको सांसद पद समेत गएको थियो । त्यसपछि उनको ठाउँमा तत्कालीन कांग्रेस-माओवादी गठबन्धनबाट संघीयताविद् खिमलाल देवकोटालाई राष्ट्रियसभा पठाएको थियो । त्यसयता निरन्तर ओलीलाई साथ दिँदै आएका बादल एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा ओलीकै जोडबलमा पार्टी उपाध्यक्ष बन्न सफल भए । दोस्रो कार्यकालका लागि एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा पनि बादल ओली प्यानलबाटै उपाध्यक्ष बन्न सफल भए । यसअघि माओवादी केन्द्रमा रहँदा समेत सबैभन्दा बढी अवसर पाउने नेताका रुपमा आलोचित बन्ने गरेका बादलकी पत्नी नैनकला थापा पनि समानुपातिक सांसद बनेकी थिइन् ।

बादल मात्रै होइन, यसरी पटक-पटक अवसर पाउने नेताहरु एमालेमा अरु पनि रहेका छन् । यो पटक समानुपातिक सांसदको महिला सूचीमा परेकी कोमल वली हुन् या शान्ता चौधरी दुवै यसअघि अवसर पाइसकेका हुन् । २०७४ को निर्वाचनपछि राष्ट्रियसभा सदस्य बनेकी ओली र प्रतिनिधिसभा सदस्यको समानुपातिकबाट सांसद बनेकी चौधरी २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ पराजित बनेका थिए । २०७९ को निर्वाचनमा ओली दाङ निर्वाचन क्षेत्र नम्बर १ मा चौधरी र ३ बाट वली पराजित बनेका थिए । तर यसपटक वली र चौधरी दुवै जना समानुपातिक सूचीमा परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप