दोस्रो–तेस्रो पुस्ताको प्रयासले सम्भव भयो लोसपा–जसपा नेपालको एकता
सारांश
- जसपा नेपाल र लोसपा नेपालबीच एकता भएको छ, जसमा युवा पुस्ताको महत्त्वपूर्ण भूमिका रह्यो।
- महन्थ ठाकुरसहित लोसपा नेपालका नेताहरू जसपा नेपालमा सामेल भए, तर राजेन्द्र महतो भने अलग रहे।
- पार्टी एकताको वातावरण बनाउन दुवै पार्टीका दोस्रो र तेस्रो तहका नेताहरू सक्रिय बनेका थिए।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका तत्कालीन प्रचार प्रसार विभागका प्रमुख डम्बर खतिवडाले २०७८ जेठ १८ गते एक प्रेस विज्ञप्ति जारी गरी महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निस्कासन गरिएको जानकारी सार्वजनिक गरेका थिए ।
ती नेतामाथि लोकतान्त्रिक मूल्य, मान्यता, विधि, पद्धति र राजनीतिक संस्कृतिको बर्खिलाप हुने गरी गुटगत गतविधि गर्ने, गराउने कार्यमा संलग्न भएको आरोप लगाइएको थियो । सोही आरोपमा जसपा नेपालले पार्टीबाट उनीहरूलाई निष्कासन गरेको थियो ।
त्यसपछि महन्थ ठाकुरले आफ्नै नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल नाम गरेको राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गराए ।
अहिले महन्थ ठाकुरसहित लोसपा नेपालका नेताहरू जसपा नेपालमै सामेल भएका छन् । जसपा नेपाल र लोसपा नेपालबिच एकता हुने गरी पुस १३ गते सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ ।
यसपटक जसपा नेपाल र लोसपा नेपालबिचको एकताको वातावरण बनाउने काम युवा पुस्ताले गरेका छन् । एकताको माहोल २०८१ असारदेखि नै सुरु भएको थियो ।
कांग्रेस र एमालेले सात बुँदे सम्झौता गरेर जब गठबन्धन बनाए, मधेसवादी दलहरू संगठित हुन सुरु गरे । एमाले–कांग्रेस गठबन्धनले संविधान संशोधनलाई प्राथमिकतामा राखेको थियो । संविधान संशोधन गरेर थ्रेसहोल्ड बढाउने, समानुपातिक निर्वाचन प्रणाली हटाउने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने, दुई दलीय प्रणाली कायम गर्नेजस्ता चर्चा सुरु भएको थियो ।
त्यसपछि मधेस केन्द्रित दलहरूको कान ठाडो भयो र मोर्चाबन्दीका लागि पहल भयो । संयुक्त लोकतान्त्रिक मोर्चा गठन भएपछि मोर्चामा रहेका घटकहरू बिच एकता गर्ने गरी छलफल अगाडि बढाइयो ।
सोही क्रममा लोसपा नेपालका महासचिव मनिष मिश्रले पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटेर उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग एकताका लागि प्रस्ताव गरे । सुरुमा अध्यक्ष ठाकुरले कुनै प्रतिक्रिया जनाएनन् । केही पछि अध्यक्ष ठाकुरले नै ‘कुरा गरौँ न’ भनेपछि महासचिव मिश्रले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटेर अध्यक्ष ठाकुरको सन्देश सुनाए ।
लोसपा नेपालका महासचिव मिश्रले अध्यक्ष ठाकुरको सन्देश सुनाए लगत्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि उत्साहित भएको स्रोत बताउँछ । स्रोतका अनुसार अध्यक्ष यादवले तत्कालै लोसपा नेपालका अध्यक्ष ठाकुरको निवासमा गएर एकताका लागि छलफल गरेका थिए । एकताका लागि अध्यक्षद्वय ठाकुर र यादवको बिचमा मात्र नभएर राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोलाई राख्नुपर्छ भन्ने कुरा अगाडि बढ्यो ।

लोसपा नेपालका स्रोतहरू भन्छन्, ‘जसपा नेपालका अध्यक्ष यादव स्वयंले अध्यक्ष महतोसँग कुरा गरेका थिए । एउटा भेटघाटमा अध्यक्ष ठाकुरले पनि महतोसँग कुराकानी गरेका थिए । ठाकुर र यादव जसरी भित्रैबाट एकताका लागि तयार भएका थिए त्यसरी महतो तयार भएका थिएन ।’
पछि बिस्तारै यो एकता प्रक्रियाबाट अध्यक्ष महतो अलग भए । अन्त्यमा जसपा नेपाल र लोसपा नेपालबिच नै एकता हुने निष्कर्षमा नेताहरू पुगे ।
दुवै पार्टीमा रहेको कार्यदललाई पनि यसका लागि सक्रिय गराइयो । लोसपाबाट वार्ता समितिमा सो पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ला र उपाध्यक्ष लक्ष्मण लाल कर्ण थिए । जसपा नेपालबाट महासचिवद्वय लालबाबु राउत र रामकुमार शर्मा तथा कार्यकारिणी सदस्य प्रकाश अधिकारी थिए ।
कार्यदलको बिचमा पनि कुरा भए पनि प्रगति खासै हुन सकेको थिएन । त्यसपछि महासचिव मिश्र फेरि आफैँ सक्रिय भएर पटक–पटक लोसपा नेपालका अध्यक्ष ठाकुर र जसपा नेपालका अध्यक्ष यादवलाई भेटे । त्यसपछि लोसपा नेपालकै उपाध्यक्ष जितेन्द्र सोनल र डा.सुरेन्द्र झा पनि एकताका लागि दौडधुपमा लागे ।
दुवै पक्षका दोस्रो–तेस्रो तहका नेताहरू सक्रिय भएपछि मात्र एकता सम्भव भएको स्रोत बताउँछ ।
अध्यक्षद्वय ठाकुर र यादवबिच बोलचालसमेत नरहेको अवस्थामा यो एकता कसरी सम्भव भयो भन्ने जिज्ञसामा महासचिव मिश्रले भने, ‘दुई जनाको अध्यक्षको बिचमा के कुराकानी भयो, कसरी यो एकतालाई सम्भव बनाउनुभयो भन्ने मेरो जानकारीमा छैन, तर दुई जना अध्यक्षलाई मिलाउने काम हामीले गरेको हो ।’
यस अभियानमा दलका अन्य वरिष्ठ नेताहरू पनि सक्रिय भएको बताउँदै उनले दुवै दलका युवा नेताहरूको सक्रियताका कारण यो एकता सम्भव भएको बताए ।
प्रमुख दलहरू छुट्टाछुट्टै रहेको कारणले मधेसमा निराशा थियो । यो एकताले मधेसी जनता खुसी भएको मिश्रले बताए । उनले भने, ‘यो एकतामा अन्य दलहरूलाई पनि जोड्ने प्रयास भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण