गगन–विश्वप्रकाशको निर्देशनपछि विशेष महाधिवेशन गर्न भन्दै बुक गरियो भृकुटीमण्डपको हल
सारांश
- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबारे छलफल गरे।
- उनीहरूले भृकुटीमण्डपमा विशेष महाधिवेशनका लागि हल बुक गर्न निर्देशन दिए, पुस २७ र २८ गतेका लागि हल बुक गरियो।
- महामन्त्री थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने बताएका छन्, र देउवासँग छलफल गर्दैछन्।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाराजगञ्जस्थित एक होटलमा बिहीबार बिहान विशेष महाधिवेशनबारे छलफल गरेका छन् । सो छलफलमा उनीहरूबिच नेतृत्वलाई दबाब दिनका लागि भए पनि विशेष महाधिवेशन गर्न हल बुक गर्ने सहमति भयो । सोहीअनुसार विशेष महाधिवेशन पक्षधर नेतालाई टेलिफोन गरेर उनीहरुले भृकुटीमण्डपमा हल बुक गर्न निर्देशन दिएका हुन् ।
महामन्त्री थापा निकट एक नेताले महामन्त्री थापा र शर्माको सहमतिमा भृकुटीमण्डपमा हल बुकिङ गरिएको जानकारी दिए । ‘महामन्त्रीद्वयले बिहान छलफल गरेर विशेष महाधिवेशन गर्नेगरी हल बुकिङ गर्न निर्देशन दिनुभयो । त्यसपछि हामीले पुस २७ र २८ गते हल बुकिङ गर्यौँ,’ ती नेताले रातोपाटीसँग भने ।
विशेष महाधिवेशन गर्नुपर्छ भन्दै हस्ताक्षर संकलन र बुझाउने कामको नेतृत्वदायी भूमिकामा रहेका युवा नेता मनोजमणि आचार्यले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपमा हल बुक गरिएको जानकारी दिए । ‘हामीले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपमा हल बुक गरेका छौँ । पार्टीले नियमित महाधिवेशन गरेन । अब दुई दिन विशेष महाधिवेशन हुन्छ,’ आचार्यले रातोपाटीसँग भने ।
महामन्त्री थापाले शुक्रबार एकता र मेलमिलाप दिवसको अवसर पारेर सामाजिक सञ्जालमा शुभकामना सन्देश जारी गर्दै पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढेको बताएका थिए ।
‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ। सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु,’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।
अहिलेको समयमा कांग्रेसमा एकताको निकास भनेकै विशेष महाधिवेशन भएको उनको भनाइ थियो । ‘नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ। यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ। अनि एकता के बाट आउँछ ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन – भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ। त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो। पौष मसान्त भित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ,’ थापाले लेखेका थिए ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको गत मंसिर १५ गते बसेको बैठकले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पास गरेको थियो । कार्यतालिकामा पुस १६ गते एकता र मेलमिलाप दिवसको अवसर पारेर देशभर वडा अधिवेशन गर्ने मिति निर्धारण गरिएको थियो । तर महामन्त्री थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नै क्रियाशील सदस्यतासम्बन्धी काम नसक्दा वडा अधिवेशन हुन सकेन । त्यसपछि महामन्त्रीद्वय विशेष महाधिवेशनको पक्षमा लागेका हुन् ।
युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा विशेष महाधिवेशन माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई २ हजार ४८८ महाधिवशेन प्रतिनिधिको हस्ताक्षर बुझाइएको थियो । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारण खोली हस्ताक्षर बुझाएको ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने बाध्यता छ । ५० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएको ३ महिना पुग्न लाग्दा पनि पार्टीले वास्ता नगरेको भन्दै उनीहरूले हल बुक गरेका हुन् ।
सभापति शेरबहादुर देउवा निकट स्रोतका अनुसार महाधिवेशनको कार्यतालिका मिचिएकोबारे छलफल गर्न देउवाले महामन्त्रीद्वयलाई बिहीबार साँझ आफ्नो निवासमा बोलाएका छन् । त्यसअघि दबाब दिनका लागि हल बुक गरिएको हुनसक्ने देउवा निकट स्रोत बताउँछ ।
अर्कोतर्फ महामन्त्रीद्वयले साँझको भेटमा देउवासँग आफूहरू विशेष महाधिवेशनको मार्गमा अगाडि बढेको जानकारी गराउँदै उपस्थित हुन र सभापतित्व ग्रहण गरिदिन देउवालाई लिखित पत्र नै हस्तान्तरण गर्ने तयारी गरेका छन् । महामन्त्री थापाको सचिवालयले पत्रको तयारी थापाले गरिरहेको जानकारी दिएको छ । यद्दपि थापासँग यसबारेथप जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण