राष्ट्रिय गौरवका दुई दर्जन आयोजना : कुनको प्रगति कति ?
सारांश
- राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति विवरणमा भिन्नता देखिएको छ, जसमा केही आयोजना सम्पन्न भइसकेका छन् भने केहीमा न्यून प्रगति छ।
- माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्पन्न भई सञ्चालनमा आएको छ भने भैरहवा विमानस्थलले शतप्रतिशत प्रगति हासिल गरेको छ।
- कतिपय आयोजनाहरूमा ढिलासुस्ती र मुआब्जा विवादका कारण प्रगति कम देखिएको छ, जसमा निजगढ विमानस्थल र रेलमार्गको प्रगति निकै कम छ।
काठमाडौँ । नेपालको आर्थिक समृद्धिको आधार मानिएका राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति विवरणमा निकै भिन्नता देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ सम्मको प्रगति प्रतिवेदन अनुसार केही राष्ट्रिय गौरवको आयोजनामा सूचीबद्ध आयोजनामा यो प्रकारको भिन्नता देखिएको हो ।
प्रतिवेदन अनुसार केही आयोजना सम्पन्न भई सञ्चालनमा आइसकेका छन् भने केही दशकौँदेखि शून्य वा न्यून प्रगतिमा अड्किएका छन् ।
२६ वटा ठुला आयोजनाहरूको विश्लेषण गर्दा ऊर्जा र हवाई पूर्वाधारमा उल्लेख्य सफलता मिलेको देखिए पनि रेलमार्ग, ठुला सिँचाइ र कतिपय सडक आयोजनाहरूमा अझै धेरै काम बाँकी रहेको देखिन्छ ।
सकिएका वा अन्तिम चरणमा रहेका गौरवका आयोजना
प्रगति विवरणको शीर्ष स्थानमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना रहेको छ। ४५६ मेगावाट क्षमताको यो आयोजना पूर्ण रूपमा सम्पन्न भई राष्ट्रिय गौरवका आयोजनाको सूचीमा सम्पन्न भएको पहिलो ठुलो आयोजना बनेको छ ।
यस्तै, हवाई पूर्वाधारतर्फ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले शतप्रतिशत भौतिक र वित्तीय प्रगति हासिल गरेको छ ।
उच्च प्रगतिको सूचीमा मेलम्ची खानेपानी आयोजना र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना (प्रथम चरण) को भौतिक प्रगति ९९.५ प्रतिशत रहेको विवरणमा उल्लेख छ । यस आयोजनामा हालसम्म ३० अर्ब ८९ करोड रुपैयाँ खर्च भइसकेको छ ।
त्यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ९८.८ प्रतिशत भौतिक प्रगति रहेको देखिएको छ । प्रतिवेदनमा यस्तो देखिए पनि विमानस्थल सञ्चालनमा भने आइसकेको छ ।
सांस्कृतिक र सडक पूर्वाधारका केही आयोजनाहरू ८० प्रतिशतभन्दा माथिको प्रगतिमा छन् । लुम्बिनी विकास कोषको भौतिक प्रगति ८९ प्रतिशत पुगेको छ भने पशुपति क्षेत्र विकास कोषले ८५ प्रतिशत प्रगति रहेको राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
त्यस्तै, सडक पूर्वाधारतर्फ उत्तर–दक्षिण कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरोला सडक खण्डको प्रगति ८५ प्रतिशत पुगेको छ। यस्तै, बबई सिँचाइ आयोजनाले ८२.३ प्रतिशत प्रगति गर्दै कृषि क्षेत्रमा सुधारको सङ्केत गरेको छ । राष्ट्रिय अर्थतन्त्रमा ठुलो महत्त्व राख्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको प्रगति ८१.७ प्रतिशत रहेको छ ।
आधाभन्दा धेरै बनेका आयोजना
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म कालीगण्डकी करिडोरकै गैडाकोट–राम्दी–मालढुङ्गा खण्ड ७९.९ प्रतिशत प्रगति रहेको छ । उता सुदूरपश्चिमको महत्त्वपूर्ण सिँचाइ आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनाले ७४.८ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।
तराईको मेरुदण्ड मानिने हुलाकी लोकमार्गको प्रगति ७२.८ प्रतिशत पुगेको छ। यी आयोजनाहरूले तराई र पहाडको ग्रामीण अर्थतन्त्रलाई बजारसँग जोड्न महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।
बहुउद्देश्यीय आयोजनाका रूपमा रहेको भेरी बबई डाइभर्सन आयोजनाले ६७.५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । सुरुङ निर्माणको काम सकिए पनि अन्य पूर्वाधार निर्माणमा केही ढिलाइ देखिएको छ। यस आयोजनामा हालसम्म १८ अर्ब १९ करोड रुपैयाँ खर्च भइसकेको छ।
कर्णाली करिडोरका केही खण्डहरूको प्रगति पनि ५० प्रतिशत भन्दा माथि रहेको छ । लालीबगर–दुल्लु कुना खण्डले ८३.९ प्रतिशत प्रगति हासिल गरिसकेको भए पनि समग्र कर्णाली करिडोरको औसत प्रगति अझै न्यून देखिन्छ।
जो अझै आधाभन्दा तलै छन्
बाँकी आयोजनाको प्रगति ५० प्रतिशत भन्दा कम छ । उत्तर–दक्षिण कोशी करिडोरको खाँदबारी–किमाथांका सडकको समग्र प्रगति ४५ प्रतिशत मात्र रहेको छ । यस्तै, राष्ट्रिय गौरवको अर्को ठुलो सिँचाइ आयोजना सिक्टा सिँचाइको प्रगति ४४.२ प्रतिशतमा सीमित छ।
नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को प्रगति ४२.१ प्रतिशत पुगेको छ। यस आयोजनामा हालसम्म ८० अर्ब ५४ करोड रुपैयाँ खर्च भइसकेको छ।
त्यस्तै, खेलकुद पूर्वाधारतर्फ मूलपानी क्रिकेट एकेडेमीले ४२ प्रतिशत प्रगति हासिल गरेको छ। सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना ३६.८ प्रतिशत र कर्णाली करिडोर (हिल्सा–सिमकोट खण्ड) ३६ प्रतिशत प्रगतिमा रहेका छन्।
कम प्रगति भएका आयोजनाहरूमा महाकाली सिँचाइ आयोजना २६.६ प्रतिशत प्रगतिमा खुम्चिएको छ। विद्युत् प्रसारण आयोजनाको भौतिक प्रगति ११.३ प्रतिशत मात्र रहेको छ ।
उता ठुलो लगानी र अपेक्षा गरिएको बुढीगण्डकी जलविद्युत आयोजनाको वित्तीय प्रगति १६.६ प्रतिशत देखिए पनि निर्माण कार्यले अझै गति लिन सकेको छैन । यी आयोजनाहरूमा मुआब्जा विवाद र वन क्षेत्रको क्लियरेन्स मुख्य बाधकका रूपमा देखिएका छन् भने बाँध निर्माणका लागि लगानी जुटाउने मुख्य काम नै बाँकी छ ।
सुरुको चरणमा रहेका आयोजना
प्रगति विवरणको सबैभन्दा पुछारमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला रहेका छन् । निजगढ विमानस्थलको भौतिक प्रगति शून्य रहेको छ भने वित्तीय प्रगति १० प्रतिशत मात्र छ ।
त्यस्तै, गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको प्रगति पनि शून्य नै देखिएको छ। राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रमको प्रगति ६.४ प्रतिशत मात्र छ। रेलमार्ग तर्फको पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काँकडभिट्टा–गड्डाचौकी खण्डको प्रगति केवल ३.४ प्रतिशतमा सीमित हुनुले नेपालमा रेल सपना अझै टाढा रहेको देखाउँछ।
हालसम्म पुष्पलाल लोकमार्गमा ७१ अर्ब, हुलाकी लोकमार्गमा ७० अर्ब र फास्ट ट्र्याकमा ८० अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण