बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बागमती किनारका किसानलाई तरुल खन्न भ्याइनभ्याई

शनिबार, १९ पुस २०८२, ०१ : ५६
शनिबार, १९ पुस २०८२

सारांश

  • माघे संक्रान्तिको समयमा किसानहरुलाई तरुल खन्न भ्याइनभ्याई छ ।
  • बागमती किनारमा तरुल खेती हुँदै आएको छ, जहाँ राम्रो आम्दानी हुने सम्भावना छ ।
  • स्थानीय किसान रामसुन्दर महतोका अनुसार गत वर्ष तरुलबाट राम्रो आम्दानी भएको थियो।

सर्लाही । माघे सङ्क्रान्ति नजिकै गर्दा सर्लाहीको बागमतीमा किसानलाई तरुल खन्न भ्याइ नभ्याई हुन थालेको छ । 

पुसको ठिहिरोमा किसान बागमती नदी किनारमा तरुल खन्न व्यस्त देखिने गरेका छन् । जिल्लाको बागमती नगरपालिका–४, ५ र ६ स्थित बागमती बगरमा तरुल खेती हुँदै आएको छ । सिँचाइको राम्रो व्यवस्था नभएको बगर तरुल खेतीको लागि भने निकै उपयुक्त जमिन हो । यहाँ लगभग ५०० हेक्टर क्षेत्रमा वर्षेनी तरुल उत्पादन हुने गरेको नगर कृषि शाखाका प्राविधिक हिमाल शाहीले बताए ।

यहाँ उत्पादन भएका तरुल काठमाडौँस्थित कालीमाटी तरकारी बजार हुँदै देशका अन्य ठुला सहरसम्म पुग्ने गरेको छ । तरुलले राम्रो बजार पाएको समयमा प्रशस्त आम्दानी लिन सकिने स्थानीय किसानसमेत रहनु भएका सङ्कलन कर्ता रामसुन्दर महतोले बताए । उनका अनुसार गत वर्ष राम्रो मूल्य पाउँदा तरुलबाट प्रशस्त आम्दानी भएको थियो । 

गत वर्ष पुसको अन्तिम साता १०० देखि १२० रुपैयाँ किलोसम्ममा तरुल बिक्री भएको उनले बताए । यस वर्ष पनि राम्रो आम्दानी हुने उनको अपेक्षा छ । कृषि उपजको मूल्यस्थिर नहुने भएकाले बजार जुवाको खाल बन्ने गरेको उनी सुनाउँछन् । महतोले अहिले यामको सुरुआत भएकोले प्रतिकिलो ५० देखि ७० रुपैयाँसम्ममा तरुल बिक्री गरिरहेको बताए। 

यस वर्ष अन्य पाँच/छ जना साथी मिलेर १५० बिघाको तरुल ठेक्का लिएको उनले सुनाए । यहाँ विशेष गरी पताले र सेतो तरुल उत्पादन गर्ने गरिएको छ । वैशाखमा मकैसँगै लगाएको तरुल मङ्सिरदेखि फागुनसम्म खन्ने गरिन्छ । माघे सङ्क्रान्तिमा अत्यावश्यक फलारको रूपमा प्रयोग हुने तरुलको अन्य समयमा तरकारीको रूपमा ठुलो माग छ । 

बागमती नगरपालिका–५, राजघाटका तरुल किसान हेमबहादुर पुलामीका अनुसार एक कट्टा तरुल खेतीको लागि १० देखि १३ हजारसम्म खर्च लाग्छ । मौसम मिलेर राम्रो उत्पादन हुँदा सामान्यतया कट्ठामा १२ देखि १८ क्विन्टलसम्म तरुल फल्छ । यसरी फलेको तरुलले ७० देखि ८० रुपैयाँ किलो मूल्य पाउँदा पनि लाख बढी आम्दानी हुने उनको अनुमान छ । 

एक पटक रोप्ने समयमा र एक पटक गोडमेलको लागि मात्र मजदुर लाग्ने भएकोले यस खेतीबाट राम्रो आम्दानी हुने तरुल किसान पुलामीको भनाइ छ । लागत कम हुने उत्पादन धेरै हुने र मूल्य राम्रो पाइने भएकोले आफूले वर्षेनी तरुल खेती गर्ने गरेको उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप