परिवर्तित सतीप्रथा
सारांश
- सिन्धुलीकी एक महिलाको मृत्युको घटना र महिलामाथि हुने हिंसाको चित्रण गरिएको छ।
- लेखकले महिलाहरूले भोग्नुपरेका पीडा र समाजमा उनीहरूको अवस्थाबारे प्रकाश पारेका छन्।
- लेखमा महिला हिंसा, उत्पीडन र समाजको दृष्टिकोणको आलोचना गरिएको छ।
ओहो !
बिहानै यो आँखाले कस्तो
खबर पढ्नु पर्यो,
आफ्नै हत्केलाको मोबाइल
थरर काँप्यो,
मुटुको धड्कन बढ्यो
आँखा ओसिलो भयो
एक्कासि सपनामा गएर अड्कियो,
यथार्थमा यो धेरै नै तितो थियो
शरीर झस्कियो,
किनकि म पनि नारी हुँ ।
समाजले जलिसकेकी सिन्धुलीकी
नारीको मृत शरीरको चर्चा गर्यो,
तर मेरो हृदयले कयौँ जल्न
बाँकी रहेका एवं जलाउन
नसकेर बाँचेर आएका नारीको
मर्म देख्दैछ त्यहीँ भित्रबाट ।
सतीप्रथा दुष्प्रथा भनी चन्द्र शमशेरले
पो बन्द गरे, सार्वजनिक रूपमा
तर भित्र भुसको आगोसरि आज पनि
सारा नेपालीको अगेनो र चुलो नेर
फुस्फुसाइ रहेछन्,
त्यो देख्न हर मानव साँझको पुतली,
बनेर त्यो चुलो नीर पुग्न सक्नु पर्छ,
जहाँ भात पकाउने नाममा
स्त्रीको हृदयको विदारक आवाज
छेउमा बसेर भित्तामा अडिएको
माउसुलीले देखिरहेछ ।
बाहिर भित्र गर्दा जुनकिरीले हेरिरहेछ,
त्यो दर्दनाक खेलको सत्ताधारी धेरै जसो
घरमा कि त श्रीमान्, नभए उनका
आत्मीय पात्रले ताण्डव देखाई रहेछन्,
पराई छोरीका नाममा ।
कुरा बुझ्न मान्छेले मात्र नसकेको हो
त्यो भित्ताको माकुराहरू
बाहिर धुम्म परेर बसेको लाटो कोसेरो
फुस्स फुस्फुसाउने चुलो
जसले पीडित नारीलाई साथ दिन्छ
बेला–बेला धुवाँ बनेर जसले
उनको आँखाको बर्सातलाई
पिरो बनाएर अर्को बहानाले
छोपिदिन्छ
मन हरदम रोएको दुष्टका सामु
टारिदिन्छ, प्यारो धुवाँले ।
ती संसार भएर पनि एक्लो भएकी
नारीको बोझ सन्तानसहितको
जमातलाई जिउँदो हुँदा स्विकार्न
सक्दैन,
हजारौँ गुहार माग्दा पनि
अन्धो जन्मघरका आकाशहरू
जसलाई बिहे नामको तुवाँलोले
पूर्ण रूपमा छोपेको छ,
मानौँ गर्भदेखिको काम नलाग्ने बस्तु
आँखा भन्दा धेरै पर मिल्काइएको छ ।
त्यो सानोमा कुचो समाउने हातलाई
एक पित्को सिन्दूरमा बेचिएको छ
मानौँ किलाको वस्तु आज राम्रो ग्राहकको
हातमा पठाइएको छ
अब बाच्छोसहित घाँस खुवाएर
कसरी पाल्नु पराई आँगनबाट टिपेर ल्याएर
त्यो भन्दा हर साँझ बिहान दुध दिने भैँसी
अन्तैबाट ल्याएर पालेको फाइदा हुन्छ ।
त्यो पराई चुलोमा गुम्सिएको
धुवाँ हर बखत पीडित नारीको
दुष्टले हानेका वाण छोप्ने सहारा बनेको छ ।
पानी भर्ने पँधेरो झन् एकाबिहानै
रातभरि पति नामको शून्य चेतनाको
आफ्नो साम्राज्यका हर आतङ्क छोप्ने
र आफ्नै आधा अङ्गलाई मानसिक
रूपले कंगाल बनाई,
जिउँदो लासमा वंश चलाउने
सपना साध्ने साधन बनाएर
त्यो विक्षिप्त
भएकी अवलाको आँसु, पसिना र रगत लुकाउने
राम्रो साथी बनेको छ ।
आज बिहानी धारोमा धमिलो रगत बगेन
मुख धुँदा रातभरिको गालाको डामसँगै
पखालिने आँसु पुछिएन
साँझमा माउसुली भित्तामा छटपटायो
माकुराले जालो बुन्न छाड्यो
राती कलिला मुनाको गालामा तपतप
तातो आँसु पोखिएनन्
अग्रज क्रूर स्त्रीको तातो रगत उम्लियो
प्रेसर बढ्ने तर पोख्ने ठाउँ नहुँदा
चुलोमै ढल्न पुगिन्
साग चुलो छेउमा लत्रियो
केलाउने मान्छे नभएर
पतिको रातको क्रूरता
आफ्नी ममतामयीलाई
खुसी राख्न जाई लाग्ने शब्द
र लाठीका हतियार सबै मौन भए ।
केवल बाहिर शून्यतामा
शीतहरू टप्किरहे
ती टुहुरा नाबालकको हिक्क हिक्कले
मात्र आज ब्रह्माण्ड ज्यादै निस्साइयो
किनकि
आज आगो लगाइएको बुहारीको
अन्त्यष्टि थियो ।
भोली आगो नलगाइएर मात्र बाँचेका
कोमल नारीहरूको बृहत् सभा थियो
र एउटा मात्र माग थियो
प्रिय पुरुषहरू
तिमीहरू कम्तीमा एकदिन
कुसंस्कार र मानवताहीन घरको
सबै मानिसको यातना सही हेर
हामी तिमीहरूलाई जुनी–जुनी
सेवा गर्न तयार हुनेछौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण