बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

धमाधम उम्मेदवार छान्दै एमाले, शीर्ष नेता कहाँबाट लड्दैछन् चुनाव ?

आइतबार, २० पुस २०८२, १६ : ००
आइतबार, २० पुस २०८२

सारांश

  • नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ।
  • केपी शर्मा ओली झापा-५, विष्णु पौडेल रुपन्देही-२, र गोकर्ण विष्ट गुल्मी-२ बाट सिफारिस भएका छन्।
  • पार्टीका विभिन्न नेताहरू विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा छन्, जसमा योगेश भट्टराई, महेश बस्नेत लगायत छन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले प्रत्यक्षतर्फ धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ । पुस १३ गते बसेको सचिवालय बैठकले उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीलाई दिएको निर्देशन अनुसार क्षेत्रीय कमिटीमार्फत उम्मेदवार सिफारिस भइरहेको एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

उनका अनुसार क्षेत्रीय कमिटीले सिफारिस गरेका उम्मेदवारहरु जिल्ला कमिटी र प्रदेश कमिटीले रायसहित केन्द्रमा पठाउनुपर्नेछ । सिफारिस नामहरु क्षेत्र र जिल्ला हुँदै पुस २४ गतेभित्र केन्द्रमा पठाउनुपर्नेछ ।

आइतबारसम्म एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरु विष्णु पौडेल,पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत लगायत नेताहरु उम्मेदवारका रुपमा सिफारिस भइसकेका छन् । 

अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार सिफारिस भएका हुन् । शनिबार सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो । एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार झापा-५ का लागि सर्वसम्मत रुपमा अध्यक्ष ओलीको नाम सिफारिस गरिएको हो ।

त्यस्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट एकल सिफारिस भएको छ । पूर्वअर्थमन्त्री समेत रहेका पौडेलको नाम एकल रूपमा सिफारिस भएको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले रातोपाटीलाई बताए । रुपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र रहेका छन् । पौडेलले रुपन्देही–२ बाट २०६४ सालदेखि निरन्तर जित्दै आएका छन् ।

अर्का उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी-२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् भने गुल्मी-१ मा नेता प्रदीप ज्ञवाली सिफारिस भएका छन् । गुल्मी-२ बाट नेतृ रामकुमारी झाँक्री पनि उम्मेदवारका लागि सिफारिस भएकी छन् । एक निर्वाचन क्षेत्र रहेको लमजुङबाट उपाध्यक्ष पृथ्वीसुब्बा  गुरुङसहित ६ जना उम्मेदवार सिफारिस भएका छन् । लमजुङबाट नेताहरू जमिन्द्रमान घले, धनञ्जय दवाडी, कृष्ण अधिकारी, भगवती थापा र लक्ष्मीदेवी अधिकारीको नाम सिफारिस गरेको एमाले लमजुङले जनाएको छ । एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापा बादल र गुरु बराल समानुपातिकको बन्दसूचीमा परिसकेका छन् । अर्का उपाध्यक्ष रघुजी पन्त ललितपुरबाट निर्वाचन लड्ने मनस्थितिमा छन् । यसअघि २०७९ को निर्वाचनमा पन्त समानुपातिक सांसद बनेका थिए ।   

उता दाङ क्षेत्र नम्बर २ बाट एमालेले महासचिव शंकर पोखरेलको एकल नाम सिफारिस गरेको छ । आइतबार बसेको एमाले क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए । यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र हो ।

त्यस्तै उपमहासचिव योगेश भट्टराई ताप्लेजुङबाट सिफारिस भएका छन् ।

एमाले ताप्लेजुङको शनिबार बसेको बैठकले उपमहासचिव भट्टराई, पार्टीका केन्द्रीय सदस्य थेबे, अर्का केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वो, निवर्तमान केन्द्रीय सदस्य टंक आङबुहाङ र एमाले जिल्ला कमिटी उपसचिव भीमादेवी ओझा गरी पाँच जनालाई फागुन २१ को निर्वाचनका लागि पार्टीबाट उम्मेदवार सिफारिस गरेको एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू (दीपेन)ले जानकारी दिए । उपमहासचिवद्वय रघुवीर महासेठ धनुषा र लेखराज भट्ट कैलालीबाट उम्मेदवार बन्ने तयारीमा छन् ।

त्यस्तै सचिवहरु महेश बस्नेत भक्तपुर, छविलाल विश्वकर्मा रुपन्देही, यमलाल कँडेल सुर्खेत, भानुभक्त ढकाल सुनसरी, राजन भट्टराई काठमाडौं–४, शेरधन राई भोजपुर, खगराज अधिकारी कास्कीबाट चुनाव लड्ने तयारीमा छन् । उपमहासचिव पद्मा अर्याल समानुपातिक सूचीमा सिफारिस भइसकेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप