बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखराको राजस्व अनलाइन प्रणालीमा समस्या, चैतसम्म कर छुट दिन माग

आइतबार, २० पुस २०८२, १७ : ४७
आइतबार, २० पुस २०८२

पोखरा । पोखरा महानगरपालिकामा कर सङ्कलनका लागि प्रयोग भइरहेको अनलाइन प्रणालीमा बारम्बार समस्या आएपछि नागरिकले सास्ती भोगेका छन् । 

कर तिर्न आएका नागरिकले दुःख पाएको भन्दै पोखरा महानगरपालिका १३ ले प्रमुख प्रशासकीय अधिकृतको ध्यानाकर्षण गराएको छ । 

वडाध्यक्ष किरण बरालले प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई ज्ञापनपत्र बुझाउँदै सूत्र अवरुद्ध हुँदा सेवाग्राहीले समयमा कर तिर्न नपाएका भन्दै चैत मसान्तसम्म कर छुट दिनुपर्ने माग राखे ।

‘विशेष गरी आफ्नो व्यस्त जीवनशैलीका बाबजुद पनि राष्ट्रलाई स्वतःस्फूर्त रूपमा कर तिर्न आएका सेवाग्राहीहरू समेत कर तिर्न नपाई फर्किनु पर्ने र त्यही कामका लागि पटक–पटक कार्यालयमा धाइरहनु पर्ने अवस्था सिर्जना हुनु अत्यन्तै दुःखद र चिन्ताजनक विषय हो,’ उनले भने । 

प्रविधिले सेवा प्रवाहलाई छिटो र छरितो बनाउनुपर्नेमा उल्टै चुनौती थपेको भन्दै उनले राजश्व प्रणालीलाई सरल, सहज र भरपर्दो बनाउन माग गरेका छन् ।

प्रणालीमा आएको खराबीका कारण करदाताले समयमै कर तिर्न नपाएको भन्दै वडा कार्यालयले राजश्व छुटको समयसीमा बढाउन माग गरेको छ । 

पोखरा महानगरले अहिले पुस मसान्तसम्म कर तिर्नेलाई छुटको व्यवस्था गरेको छ । यो सीमा बढाएर चैत मसान्तसम्म पुर्‍याउन उनको माग छ ।

‘सर्भर नचल्दा धेरै सेवाग्राही बञ्चित हुने अवस्था आएको छ । यसै कारण सेवाग्राही मैत्री र प्रभावकारी सेवा प्रवाहको अपेक्षा सहित राजश्व छुटको समयावधि चैत मसान्तसम्म थप गर्न अनुरोध गर्दछौँ,’ ज्ञापनपत्रमा उल्लेख छ । पोखराका सबै वडाले अहिले सर्भर नचल्ने समस्या भोगिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप