बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

धनुषाका चारवटै निर्वाचन क्षेत्रबाट प्रमुख दलले उम्मेदवारमा क–कसको नाम सिफारिस गरे ?

मङ्गलबार, २२ पुस २०८२, १४ : २५
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • धनुषाका चारवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न दलहरूले उम्मेदवार सिफारिस गरेका छन्।
  • नेपाली कांग्रेस, नेकपा एमाले, र नेकपा लगायतका दलहरूले आ-आफ्ना उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेका छन्।
  • जसपा नेपाल र लोसपाले पनि एकीकरण हुनुअघि नै उम्मेदवार सिफारिस गरेका छन्, र तालमेलबारे केन्द्रले निर्णय लिनेछ।

जनकपुरधाम । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलले धनुषाका चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेका छन् ।

धनुषाका चारवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरिसकेको नेपाली कांग्रेस र नेकपा एमालेले जनाएका छन् । नेपाली कम्युनिस्ट पार्टीले पनि चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरिसकेको छ ।

नेपाली कांग्रेसका जिल्ला उपसभापति गणेश कुमार झाका अनुसार धनुषाको क्षेत्र नं १ मा तीन जनाको नाम सिफारिस गरिएको छ, जसमा दिलिप ढुंगाना, भोला पजियार र मेघनाथ यादव छन् ।

त्यसैगरी क्षेत्र नं २ मा रामकृष्ण यादव, दिनेश प्रसैला र मुक्ता यादव गरी तीन जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ३ मा विमलेन्द्र निधीको नाम एकल सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नं ४ मा महेन्द्र यादव, योगेन्द्र पजियार र चन्द्रमोहन यादव गरी तीन जनाको नाम सिफारिस गरिएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवका पुत्रसमेत रहेका डा. चन्द्रमोहन यादवको नाम समानुपातिकमा पनि समावेश छ ।

यता नेकपा एमाले धनुषाले पनि चारै क्षेत्रका सम्भावित उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रलाई पठाइसकेको जिल्ला अध्यक्ष भोला यादवले जानकारी दिए ।

उनका अनुसार क्षेत्र नं १ मा जुली कुमारी महतो, सरिता यादव, रामचन्द्र मण्डल र राजकिशोर यादव गरी चार जनाको नाम सिफारिस गरी पठाइएको छ । क्षेत्र नं २ मा उमाशंकर अरगरियाको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं ३ मा जुली कुमारी महतोको नाममात्र सिफारिस भएको छ । क्षेत्र नं ४ मा रघुवीर महासेठको एकल नाम सिफारिस गरिएको छ ।

२०७९ को निर्वाचनमा क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा विजयी भएकी जुली कुमारी महतोको नाम अहिले क्षेत्र नं १ र क्षेत्र नं ३ गरी दुई वटा क्षेत्रबाट नाम सिफारिस गरिएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले क्षेत्र नं १ र २ बाहेक अरु क्षेत्रमा दुईभन्दा बढी उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । सो पार्टीका नेता दिपक यादवका अनुसार क्षेत्र नं १ र २ मा क्रमशः मातृका प्रसाद यादव र रामचन्द्र झाको नाम एकल सिफारिस भएको छ ।

क्षेत्र नं ३ मा रामचन्द्र झा, नगिना देवी भगत, नाउद नदाफ र आदर्श मण्डलको नाम सिफारिस गरिएको छ भने क्षेत्र नं ४ मा शत्रुधन महतो, ज्ञान कुमार महतो, सुरेश यादव, संजय कुमार महतो र गीता सुवेदी गरी पाँच जनाको नाम सिफारिस गरेर पठाइएको यादवले जानकारी दिए । एमालेले रामचन्द्र झाको नाम क्षेत्र नं २ र क्षेत्र नं ३ मा गरी दुई निर्वाचन क्षेत्रबाट सिफारिस गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को एकीकरण भइसक्दा पनि दुवै पार्टीले एकीकरण गर्नुपूर्व नै चारै निर्वाचन क्षेत्रबाट नाम सिफारिस गरेर केन्द्रमा पठाइसकेका छन् ।

जसपा नेपाल धनुषाका जिल्ला अध्यक्ष पशुपति यादवका अनुसार क्षेत्र नं १ मा दिपक यादवको एकल सिफारिस भएको छ । यस्तै, क्षेत्र नं २ मा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, पशुपति यादव, अरुसी मण्डल गरी तीन जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ३ मा बेचन मुखिया र प्रेमचन्द्र झाको नाम सिफारिस हुँदा क्षेत्र नं ४ मा ज्ञानेन्द्र यादवको एकल नाम सिफारिस गरिएको छ ।

लोसपाले चारवटै क्षेत्रका लागि एकल नाम सिफारिस गरेर पठाएको छ । लोसपाका जिल्ला अध्यक्ष जिवेन्द्र झाका अनुसार क्षेत्र नं १ बाट धनेश्वर मिश्र, क्षेत्र नं २ बाट लालबाबु यादव, क्षेत्र नं ३ बाट परमेश्वर साह र क्षेत्र नं ४ बाट उमाकान्त झाको नाम सिफारिस गरिएको छ ।

जसपाका अध्यक्ष पशुपति यादव र लोसपाका अध्यक्ष जिवेन्द्र झा दुवैले पार्टीको एकीकरण भइसकेका अवस्थामा दुवै दलबाट गएको नामलाई एकल बनाउने जिम्मा केन्द्रलाई दिएको र उम्मेदवारहरूको अन्तिम नामावली केन्द्रको निर्णय अनुसार नै हुने बताए । यद्यपि निर्वाचनमुखी कार्यक्रम सुरु भइसकेको उनीहरूको भनाइ छ ।

तालमेलबारे के भन्छन् प्रमुख दल ?

कांग्रेस धनुषाका उपसभापति झाका अनुसार एमाले र नेपाली कम्युनिस्ट पार्टीसँग तालमेल हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । ‘राजनीतिमा असम्भव भन्ने केही हुँदैन,’ उनले भने, ‘परिस्थिति हेरेर तालमेलको निर्णय हुन पनि सक्छ, एक्लै चुनाव लड्न पनि सकिन्छ,’ उनले भने । यद्यपि, यसबारे केन्द्रले नै निर्णय लिने उनको भनाइ छ ।

एमाले जिल्ला अध्यक्ष यादव पनि तालमेलबारे केन्द्रले नै निर्णय गर्ने बताउँछन् । अहिलेसम्म यसबारे आफूहरूलाई कुनै जानकारी नभएको उनले बताए । ‘हामीले निर्वाचनका लागि आन्तरिक तयारी सुरु गरिसकेका छौँ,’ उनले भने, ‘अरु कुरा केन्द्रको निर्णय अनुसार नै हुन्छ ।’

नेकपाका प्रदेश सदस्य यादवले तालमेलबारे खासै कुरा नभएको बताए । आफूहरूले आफ्नै योजना अनुसार रणनीति बनाएर निर्वाचन तयारीको काम थालेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप