शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
विश्व

ट्रम्पको व्यक्तिगत भू–राजनीति : एउटालाई माफी, अर्कोलाई हतकडी

मङ्गलबार, २२ पुस २०८२, १९ : ००
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • अमेरिकाले ल्याटिन अमेरिकी नेताहरूलाई मुद्दा चलाएको छ, जसमा होन्डुरसका पूर्वराष्ट्रपति युआन ओर्लान्डो हर्नान्डेज र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो छन्।
  • ट्रम्पले हर्नान्डेजलाई माफी दिएपछि मादुरोलाई पक्राउ गरिएकोमा फरक व्यवहारको आरोप लागेको छ, जसलाई राजनीतिक स्वार्थको रूपमा हेरिएको छ।
  • मादुरोमाथि लागुऔषध तस्करी र आतंकवादको आरोप लगाइएको छ, जसलाई अमेरिकी विदेशमन्त्रीले कानुन कार्यान्वयनको रूपमा व्याख्या गरेका छन्।

वासिङ्टन डीसी । ल्याटिन अमेरिकाका दुई शीर्ष नेतालाई अमेरिकामा मुद्दा चलाइयो । दुवैमाथि सरकारलाई भ्रष्ट बनाएको अनि सयौं टन कोकिन अमेरिका भित्र्याउन राज्य शक्तिको प्रयोग गरेकोलगायत आरोप लगाइएको थियो । 

यीमध्ये एक होन्डुरसका पूर्वराष्ट्रपति युआन ओर्लान्डो हर्नान्डेज हुन् । गएको महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक उनलाई सुनाइएको ४५ वर्षको जेल सजाय माफी दिए । अर्का नेता भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो हुन् । राजधानी काराकसमा आक्रमण गरेर अमेरिकाले शनिबार मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई समातेर अमेरिका लगेको छ । यसलाई अमेरिकी विदेश मन्त्री मार्को रुबियोले कानुन कार्यान्वयन गर्न गरिएको कारबाही भनेका छन् । अमेरिकामा मादुरोले लागुऔषध तस्करी र आतंकवादको ‘ताजा आरोप’ खेप्नेछन् ।  

gettyimages-1236276711

उही सरकारी वकिलको कार्यालयले एउटै खालको अपराधमा दुई नेतालाई गरेको यो फरक–फरक व्यवहारले ट्रम्प र उनका सहयोगीहरूले संघीय न्याय प्रणालीलाई कसरी व्यक्तिगत भू–राजनीतिक दाउपेचमा प्रयोग गरिरहेका छन् भन्ने देखाउँछ । 

डिसेम्बरमा हर्नान्डेजलाई माफी दिएपछि मादुरोलाई समातेर अमेरिका ल्याउने निर्णयमाथि प्रकाश पार्न पत्रकारहरूले शनिबार ट्रम्पसँग अनुरोध गरेका थिए । हर्नान्डेज राजनीतिक उत्पीडनको सिकार भएको अनि उनले निकै कठोर र अन्यायपूर्ण व्यवहार भोगिरहेको ट्रम्पको भनाइ थियो । पछि ट्रम्पले हर्नान्डेजलाई आफैसँग तुलना गरे । ‘जुन व्यक्तिलाई मैले माफी दिए, ऊसँग त्यस्तै व्यवहार भएको थियो, जस्तो बाइडेन प्रशासनले ट्रम्प नाम गरेको व्यक्तिलाई गरेको थियो । उनी देशका पूर्वप्रमुख थिए अनि उनलाई अन्यायपूर्ण तरिकाले सताइएको थियो ।’  

यो विरोधाभाषपूर्ण अभिव्यक्तिपछि ट्रम्पका राजनीतिक विरोधीहरूले उनको विरोध गरे । ‘एउटाको मामिलामा लागुऔषध तस्करीको अभियोग लगाउन माग गर्ने अनि अर्कोलाई माफी दिन्छु भनेर विश्वसनीय ढंगले तर्क गर्न तपाईंले सक्नु हुन्न,’ भर्जिनियाका डेमोक्रेटिक सांसद मार्क वार्नरले शनिबार एउटा विज्ञप्तिमा भनेका छन् । न्युयोर्कको दक्षिण जिल्लाको सरकारी वकिलको कार्यालय वर्षौँदेखि अमेरिकाको सबैभन्दा नामी सरकारी वकिलको कार्यालय भनेर चिनिँदै आएको छ । वासिङ्टनको प्रभावबाट यो स्वतन्त्र रहेको मानिन्छ । डेमोक्रेट र रिपब्लिकन दुवै दलका हाई प्रोफाइल नेतामाथि यहीँ मुद्दा चलाइएको थियो । सन् २०२२ मा यस कार्यालयले होन्डुरसका पूर्वराष्ट्रपतिमाथि विश्वमै अहिलेसम्मकै सबैभन्दा ठुलो र सबैभन्दा हिंस्रक लागुऔषध तस्कररीको षडयन्त्र रचेको आरोपमा मुद्दा चलाएको थियो ।  

दुई वर्षपछि अभियोजकहरूले न्यायाधीशलाई हर्नान्डेज जेलमा मरिसके कि छैनन् भनेर सुनिश्चित गर्न भनेका थिए । उनीमाथि शक्तिको दुरुपयोग गरेको, हिंस्रक तस्करहरूसँग साँठगाठ गरेको, कोकिनले अमेरिकामा पुर्‍याएको अथाह विनाशका लागि जिम्मेवार रहेको आरोप लगाइएको थियो । तर जे–जस्तो आरोप लगाइएको भए पनि ट्रम्पले उनलाई माफी दिए । आफ्नो विदेश नीतिको प्रवद्र्धन गर्न, प्रतिशोध साध्न, आफ्नो स्वार्थ पूरा गर्न र राजनीतिक स्वार्थलाई बढावा दिनेजस्ता आफ्ना जुनसुकै उद्देश्यका लागि ‘संघीय फौजदारी अभियोगको प्रयोग गर्न सक्छु’ भन्ने ट्रम्पले सोचिरहेका न्युयोर्कको फोर्डह्याम ल स्कुलमा नैतिक कानुन पढाइरहेकी पूर्वसंघीय अभियोजक ब्रुस ग्रिन भन्छिन् ।  

आइतबार एबीसी न्युजको एउटा कार्यक्रममा रुबियोलाई हर्नान्डेज र मादुरोसँग गरिएको फरक व्यवहारबारे प्रश्न सोधिएको थियो । जवाफमा उनले हर्नान्डेजलाई माफी दिने काममा आफू संलग्न नभएको बताएका थिए । ‘सो मामिलामा आफूले अन्याय भएको महसुस गरेको राष्ट्रपतिले हिजो मात्रै बताए,’ रुबियोले भनेका थिए । उद्घोषक जर्ज स्टेफानोपोउलसले हर्नान्डेजमाथिको अभियोग र माफीलाई लिएर बारम्बार प्रश्न उठाएपछि एक क्षणमा रुबियोले दिक्क मान्दै आफू यसमा संलग्न नरहेको कुरा दोहोर्‍याएका थिए । माफीलाई उनले समर्थन गरेका थिए कि थिएनन् भनेर सोधिएको प्रश्नमा रुबियोले यस मामिलामा आफूलाई खासै जानकारी नभएको भन्दै प्रतिक्रिया जनाउन मानेनन् ।  

भेनेजुएली डायस्पोराले मादुरोलाई पनि सद्दाम हुसेनजस्तै व्यक्तित्वका रूपमा हेरेको हुन सक्ने अनि उनको गिरफ्तारीले भेनेजुएलामा उनको शासनको अन्त्य हुने सोचेर रोमाञ्चित हुन सक्ने टुलेन विश्वविद्यालयका प्राध्यापक डेभिड स्मिल्ड भन्छन् ।  

हर्नान्डेज र मादुरो दुवैको मामिलालाई अमेरिकाको लागुऔषध नियन्त्रण कार्यान्वयन प्रशासन (डीईए)ले २०१० मा सुरु गरेको थियो । दुईमाथि छानबिनमा डीईएको उही इकाइ संलग्न थियो । यस मामिलालाई न्युयोर्क दक्षिणी जिल्लाको उही सरकारी वकिलको कार्यालयले हेरेको थियो । दुवै अभियोगलाई विभिन्न चरणमा एमिल बोभे तृतीयले हेरेका थिए । पछि उनी ट्रम्प प्रशासनमा आतंकवाद र अन्तर्राष्ट्रिय लागुऔषध इकाइ प्रमुख बने । यो पद छाडेपछि बोभे ट्रम्पको फौजदारी बचाउ वकिल र ट्रम्पको प्रशासनमा न्याय मन्त्रालयको शीर्ष अधिकारीसम्म भए । यतिबेला उनी अमेरिकाको कोर्ट अफ अपिलमा थर्ड सर्किटका न्यायाधीश छन् । हर्नान्डेज र मादुरोको मुद्दामा तथ्यगत समानताको टड्कारो छ । उनीहरूमाथिको अभियोग त मेल खान्छन् नै अभियोजकहरूले दुवैलाई उही गोलाद्र्धमा आफ्नो निगरानीमा तस्करी गरेको आरोप पनि लगाएका छन् ।  

कोलम्बिया र भेनेजुएलाबाट होन्डुरसका कैयौं ठाउँ भएर अन्ततः अमेरिकामा कसरी कोकिन भित्र्याइन्छ भनेर दुवै मुद्दाले स्ष्पट चित्र देखाइएको छ । हर्नान्डेजलाई सन् २०२२ मा अमेरिकामा कोकिन आयात गर्ने षडयन्त्र गरेको अभियोग लगाइएको थियो । यस क्रममा मसिन गनसमेत प्रयोग गरेको अभियोगमा भनिएको छ । शनिबार सार्वजनिक गरिएको अभियोगपत्रमा मादुरोमाथि अमेरिकामा कोकिन ल्याउने षडयन्त्र गरेको र यस कामका लागि साथमा हातहतियार राखेको आरोप छ । लागुऔषध तस्करीमाथि हातहतियार राखेको आरोपले अभियोग झनै गम्भीर बनेको छ, यसमा सजाय वा दन्ड पनि गम्भीर हुनेछ । 

सन् २०२० मा अमेरिकाले ६ जनामाथि लागुऔषध आतंकवादको षडयन्त्रमा संलग्न भएको आरोप लगाएको थियो । यीमध्ये एक मादुरो थिए । अभियोजकहरूले उनीमाथि कार्टेल डि लस सोलेस नाम गरेको लागुऔषध तस्कर संगठन चलाएको आरोप लगाएका थिए । 

अमेरिकामा ठुलो परिमाणमा लागुऔषध भित्र्याउन मादुरोले होन्डुरस र अन्य देशको विदेश मामिलासँग काम गरेको अभियोगमा भनिएको छ । हालै सार्वजनिक गरिएको अभियोगमा आरोप पहिलेभन्दा निकै स्पष्ट छ, यसमा होन्डुरस, ग्वाटेमाला र मेक्सिकोमा रहेको ढुवानी बिन्दुको समेत नाम किटान गरिएको छ । यसका लागि मादुरोले भ्रष्टाचारको संस्कृतिमा भर परेको र तस्करहरूले आफ्नो बचाउ अनि मद्दतका लागि राजनीतिज्ञहरूलाई घुस दिएको बताइएको छ । हर्नान्डेजलाई पनि यस्तै एक राजनीतिज्ञ भनिएको थियो ।  

सन् २०२४ मा वकिलहरूले उनीमाथि लागुऔषध तस्कर गर्ने संघसंस्थाबाट करोडौं डलर घुस लिएको भने अभियोग चलाएका थिए । हर्नान्डेजलाई अमेरिका सुपर्दगी गरिएपछि होन्डुरसको राजधानी तेगुसिगाल्पामा उत्सव मनाइएको थियो । उनीमाथि अभियोग चलाइएपछि म्यानह्याटको अदालतबाहिर होन्डुरसका आप्रवासीहरूले खुसियाली मनाएका थिए । गएको महिना हर्नान्डेजलाई माफी दिएपछि ट्रम्पले आफ्नो निर्णयको बचाउ गरेका थिए, यसलाई उनले होन्डुरसका जनताको इच्छा भनेका थिए । हर्नान्डेजलाई फसाइएको हो भनेर उनका जनताले सोच्ने गरेको र यो निकै भयानक कुरा भएको ट्रम्पको जिकिर थियो । 

ट्रम्पले माफी दिएपछि होन्डुरसका अधिकारीले हर्नान्डेजको नाममा पक्राउ पुर्जी जारी गरेका छन् । त्यसैले उनी तत्कालै स्वदेश नफर्किने हर्नान्डेजकी पत्नीले भनेकी छन् । मादुरोको मामिलालाई देशमा बसिरहेका तीन करोड भेनेजुएलीको तुलनामा देशबाहिर बस्ने ८० लाख भेनेजुएलीले फरक तरिकाले हेर्ने न्यू ओर्लियन्सस्थित टुलेन विश्वविद्यालयका प्राध्यापक डेभिड स्मिल्ड बताउँछन् । भेनेजुएली डायस्पोराले मादुरोलाई पनि सद्दाम हुसेनजस्तै व्यक्तित्वका रूपमा हेरेको हुन सक्ने अनि उनको गिरफ्तारीले भेनेजुएलामा उनको शासनको अन्त्य हुने सोचेर रोमाञ्चित हुन सक्ने उनी भन्छन् ।  

यसअघि पनि अमेरिका सरकारले मादुरोको आफन्तमाथि लागुऔषध तस्करीको अभियोग चलाएको थियो । तर पछि भेनेजुुएलाको जेलमा रहेका अमेरिकी बदलामा उनीहरूलाई रिहा गरियो । ‘अमेरिकाको न्याय प्रणाली र हालैका वर्षमा यसमा देखिएको अस्थिरताहरूलाई हेर्दा अहिले पनि यस्तै भयो भने कुनै ठुलो कुरा नहुनेमा स्मिल्डले जोड दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप